भारतीय नागरिक नेपालको सांसदमा कसरी ?




२०७४ फागुन २४ बिहीवार
NewsDesk Shikharnews

काठमाडौं, २४ फागुन । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भारतीय नागरिक नेपालको सांसदमा निर्वाचित भएको तथ्य सार्वजनिक भएको छ । धनगढीमाई नगरपालिका– १ का ४९ वर्षीय दुर्गानन्द चौधरीले सर्वोच्च अदालतमा उनी भारतीय नागरिक भएको भन्दै रिट दायर गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो ।

भारतीय निर्वाचन आयोगको मतदाता नामावलीमा नेपालका सांसद सुरेशचन्द्र दासको मतदाता नामावली

रिट निवेदक दुर्गानन्द चौधरीले निर्वाचन आयोग, संसद सचिवालयका महासचिव र नेकपा माओवादी केन्द्रको तर्फबाट सिराहा– २ बाट निर्वाचित सुरेशचन्द्र दासविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा सांसद दास भारतको विहार राज्यको लालबाग प्रोफेसर कलोनी, घर नं. ३७ मिर्जापुर, शहर–गावँ नगर निगम, दरभंगामा स्थायी ठेगाना भएको भारतीय नागरिक भएको दावी गरिएको छ । उनी सिराहाको औरही गाउँपालिका– ५ मा अस्थायी बासिन्दा भएको दावी पनि रिट निवेदनमा गरिएको छ । उनको नेपालको निर्वाचन आयोगको मतदाता नं. १४५७६९८८ भएको दावी गरिएको छ । उनको बुवाआमाको नाम पनि दुबै देशको मतदाता नामावलीमा देवनाथ दास र शारदादेवी दास लेखिएको छ । त्यस्तै, भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट (www.eci.nic.in) मा देवनाथ दास तथा शारदादेवी दासको छोरा सुरेशचन्द्र दासको मतदाता परिचयपत्र नं. IAG०३७३१८३ रहेको देखिएको रिट निवेदनमा दावी गरिएको छ ।

नेपालको निर्वाचन आयोगको मतदाता नामावलीमा नेपालका सांसद सुरेशचन्द्र दासको मतदाता नामावली

संघीय संसदको सदस्य हुनका लागि नेपालको संविधान २०७२ को धारा ८७ को उपधारा (१) अनुसार नेपाली नागरिक हुनुपर्ने उल्लेख भएको र प्रतिनिधिसभा निर्वाचन ऐन २०७३ को दफा १२ को खण्ड (क) अनुसार निर्वाचनमा उम्मेदवार हुनको लागि नेपालको नागरिक हुनैपर्ने किटान गरेको उल्लेख गर्दै रिट निवेदनमा नेपालको सांसद हुन सर्वथा अयोग्य भएकाले त्यस्तो व्यक्तिलाई विजयी घोषित गरी निर्वाचन आयोगले २०७४ फागुन २ गते सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्नु र सांसद पदको शपथ लिन रोक्नुको सट्टा सहजीकरणको भूमिका निर्वाह गरिएको र विदेशी नागरिकलाई सांसद बनाइएको दावी गरिएको छ । रिट निवेदनमा निजको निर्वाचन परिणाम संविधानविपरीत भएको भन्दै उत्प्रेषणको आदेश जारी गरी बदर गर्दै उपनिर्वाचन गराउनू भन्ने परमादेश जारी गर्न सर्वोच्च अदालतसमक्ष माग गरिएको छ ।

यस्तो छ रिट निवेदनको पूर्णपाठ :

श्री सर्वोच्च अदालतमा चढाएको

निवेदन-पत्र

विषयः- नेपालको संविधान, २०७२ को धारा १३३ को उप-धारा (२) र (३) बमोजिम निर्देशनात्मक आदेश सहित उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ ।

सेवकदास चौधरी को छोरा सिराहा जिल्ला, साविक भवानीपुर गा.वि.स. वडा नं. ८ को हाल परिवर्तित धनगढीमाई नगरपालिका वडा नं. १ बस्ने वर्ष ४९ को दुर्गानन्द चौधरी (ना.प्र.नं. स.सि.८२१ जारी मिति २०४१/७/२६ सिरहा) फोन नं. ९८४९११६७३३————————————————————————१  

रिट निवेदक

 

विरुद्ध
काठमाडौं जिल्ला, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा कार्यालय भएको निर्वाचन आयोग———————————————————————————–१

महासचिव, संसद् सचिवालय, सिंहदरबार, काठमाडौं———————————–१

देवनाथ दास तथा शारदादेवी दासको छोरा विदेश भारत, विहार, लालबाग प्रोफेसर कलोनी, घर नं. ३७, मिर्जापुर, शहर-गावँ नगर निगम, दरभंगा, अञ्चल/थाना-दरभंगा, जिल्ला दरभंगा-८४६००४ स्थायी ठेगाना भई नेपालमा जिल्ला सिरहा, औरही गाउँपालिका, वडा नं. ५ मा अस्थायी रुपमा बस्ने नेपालको निर्वाचन आयोगको मतदाता नं. १४५७६९८८ भएको अं. वर्ष ५५ का सुरेशचन्द्र दास——१

 

 

 

 

 

विपक्षी

 

म निवेदक निवेदनबापत लाग्ने दस्तुर यसैसाथ राखी नेपालको संविधानको धारा ४६ र धारा उपधारा (२) र (३) बमोजिम निम्नानुसार निवेदन गर्दछुः-

सर्व प्रथम यो निवेदन पढ्दा सुविधा होओस् भन्ने हेतु नेपालको संविधान, २०७२ लाई “संविधान”, र निर्वाचन आयोग, नेपाललाई “आयोग”भनी सम्वोधन गरिएको कुरा सादर निवेदन गर्दछु ।

१.   निवेदक नेपालको नागरिक हुँ र सिरहाबासी हूँ । नेपालको नागरिक भएको नाताले मुलुकभरका सुशासन लोकतन्त्र, कानूनी राज, मानव अधिकार लगायतका सार्वजनिक चासो, महत्व र सरोकारका विषयमा र निवेदक समेतका जनतालाई शिक्षा स्वास्थ्य र रोजगारी र सामाजिक सुरक्षा लगायतका बहुआयामिक विषयमा शासनमा भाग लिने र संविधानको धारा १६ द्वारा प्रदत्त सम्मानपूर्वक बाँचन पाउने हक समेत मेरो संवैधानिक तथा कानूनी हक हो । संविधानको धारा २ ले नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको त्यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ भनी नेपाली जनताको सार्वभौम अधिकार सुनिश्चित गरिदिएकाले नेपाली जनतालाई प्रतिनिधित्व गरेर नेपाली जनतामा रहेको राज्यको विधायिनी अधिकार नेपाली जनताले संघीय व्यवस्थापिकामा प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य मार्फत् र   प्रदेशमा प्रदेश सभा सदस्य मार्फत् नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने संवैधानिक व्यवस्था भएकाले संघीय संसद्को विषयमा होओस् अथवा प्रदेश सभाको विषयमा होओस् त्यस्ता प्रत्येक विषयसँग प्रत्येक नेपाली नागरिकको प्रत्यक्ष र सार्थक सम्बन्ध रहेको हुन्छ । त्यसैले संविधान र कानूनले तोके बमोजिमको योग्यता पुगेको योग्य नेपाली नागरिक मात्र सांसद हुनुपर्छ, भन्न पाउनु प्रत्येक नेपाली नागरिकलाई प्राप्त भएको संवैधानिक तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि लगायतले प्रदान गरेको सार्वभौम निजी हक हो । म सिराहाबासी भएको कारणले सिरहाबाट संघीय संसद्मा सिरहाको प्रतिनिधित्व गर्ने सांसद्का योग्यता अयोग्यता संबन्धी विषयमा मेरो सार्थक सम्बन्ध छ । तसर्थ प्र्रस्तुत रिट निवेदन दायर गर्न मेरो हकदैया पुग्छ ।

२.   काठमाडौं, नेपालगञ्ज, विराटनगर, पोखरा र बुटवलबाट एक साथ प्रकाशित हुने भनिएको नागरिक दैनिक पत्रिकाको मिति शनिवार ५ फागुन २०७४ वर्ष २ अंक २९१ के पहिलो पृष्ठको मूल खवर नै सांसद सुरेशचन्द्र दास भारतीय मतदाता भनने शीर्षक अन्तर्गतको समाचारमा नेकपा माओवादी केन्द्रका तर्पबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदात सूचिमा रहेको खुेको छ भनेर छापिएको रहेछ । सोही समाचारको दोस्रो प्याराग्राफको अन्तिम वाक्यमा उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट “डव्लुडब्लुडब्लु डट् इसिआई डट एलआइसी डट आइएन (www.eci.nic.in) मा भेटिन्छ भनी लेखिएकाले सोही बमोजिम इण्टरनेटमा हेर्दा नागरिक दैनिकले छापेको समाचार अनुसार विपक्षी सुरेशचन्द्र दास भारतको बिहार राज्यको मतदाता रहुन भएको समाचार सत्य रहेछ भनी पुष्टी भयो ।

३.   भारतको विधान सभा वा संसदको लागि हुने निर्वाचनमा मतदाता हुनको लागि कस्तो व्यक्ति योग्य हुन्छ र कस्तो व्यक्ति अयोग्य हुन्छ भन्ने सम्बन्धमा Representation of the People Act, 1950 को भाग दुई को दफा १५र १६ मा भएको व्यवस्था जस्ताको तस्तै यस प्रकार पाइन्छः-

  1. Electoral roll for every constituency.

For every constituency there shall be an electoral roll which shall be prepared in accordance with the provisions of this Act under the superintendence, direction and control of the Election Commission.

  1. Disqualifications for registration in an electoral roll

(1)        A person shall be disqualified for registration in an electoral roll if he

(a)        is not a citizen of India;

भारतको नागरिक नभैकन भारतीय संसद वा विधान सभाको मतदाता हुन नपाउने भारतको कानूनी व्यवस्थाले स्पष्ट पार्यो । तर विपक्षी सुरेशचन्द्र दासको नाम विहार राज्यको दरभङ्गाको मतदाता नामावलीमा यस प्रकार भेटियोः- देवनाथ दास तथा शारदादेवी दासको छोरा विदेश भारतको विहार राज्यको जिल्ला दरभंगा१३, निर्वाचन क्षेत्र ८३दरभंगाका दरभंगा विधानसभा सदस्य निर्वाचनको लागि मतदाता परिचयपत्र नं.IAG०३७३१८३ र वहाँको ठेगाना भारत, विहार, लालबाग प्रोफेसर कलोनी, घर नं. ३७, मिर्जापुर, शहर/गावँ नगर निगम, दरभंगा, अञ्चल/थाना-दरभंगा, जिल्ला दरभंगा-८४६००४ भनी लेखिएको छ ।

४.   नेपालको प्रतिनिधि सभा भनेको संघीय संसद हो । संविधानको धारा ८७ को उपधारा (१) अनुसार खण्ड (क) अनुसार अरु कुराको अतिरिक्त संघीय संसदको सदस्य हुनको लागि खण्ड (क) अनुसार नेपालको नागरिक हुनु पर्छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १२ को खण्ड (क) अनुसार निर्वाचनमा उम्मेदवार हुनकोलागि नेपालको नागरिक हुनै पर्छ र मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति नै हुनु पर्छ । मतदाता ऐन, २०७४ को दफा ३ कोखण्ड (ख) ले सम्बन्धित निर्वाचन क्षेत्रभित्रको गाउँपालिका वा नगरपालिकाको वडामा स्थयी बसोबास भएको व्यक्ति मात्र मतदाता हुनेछ भनेको छ भने सोही ऐनको दफा ६ को खण्ड (क) ले नेपाली नागरिकको नाम मात्र मतदात नामावलीमा दर्ता गरिनेछ भनेको छ । सोही ऐनको दफा १० ले दोहोरो नाम दर्ता गर्न नहुने भनी कुनै पनि व्यक्तिको नाम एक भन्दा बढी गाउँपालिका वा नगरपालिका तथा कुनै गाउँपालिका वा नगरपालिकाको एक भन्दा बढी वडाको मतदाता नामावलीमा दर्ता गर्नु वा गराउनु हुँदैन भनेको छ । कसैको उजूर नपरे पनि निर्वाचन आयोगले नै नेपालभित्रै पनि एक भन्दा बढी स्थानमा मतदाता नामावलीमा नाम भएको नेपाली नागरिकको नाम एक ठाउँमा मात्र कायम गर्नु पर्ने व्यवस्था सोही ऐनको दफा १७ ले गरेको छ भने विपक्षी सुरेशचन्द्र दास भने भारत र नेपाल गरी दुर्ई देशको मतदाता रहेको भन्ने देखिएको अवस्थामा नेपालको साँसद् हुन सर्वथा अयोग्य भएकाले त्यस्तो व्यक्तिलाई विजयी विजयी उम्मेदवार घोषित गरी विपक्षी निर्वाचन आयोगले मिति २०७४/११/०२ मा सम्माननीय राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम प्रतिवेदन पेश गरेको भन्ने कुरा विपक्षी निर्वाचन आयोगको Website:- www.election.gov.np बाट थाहा हुन आयो, र सो आधारमा विपक्षी संसद सचिवालयले विपक्षी सुरेशचन्द्र दासलाई सांसद पदको शपथ लिन रोक्नु पर्नेमा सहजीकरणको भूमिका निर्वाह गरी शपथ खुवाई एक जना विदेशीलाई विपक्षीहरुले मेचीदेखि महाकाली र हिमालदेखि तराइ भित्रका तीन करोड भन्दा बढी सार्वभौम नेपाली नागरिकको प्रतिनिधिको रुपमा औपचारिक मान्यता प्रदान गर्न लागेको विपक्षीहरुको काम कारबाहीबाट म निवेदक लगायत संपूर्ण नेपाली जनतालाई संविधानको धारा २ ले प्रदान गरेको सांर्वभौमसत्ताको अधिकारको ठाडो अपहरण हुन लागेको र भारतको विहार राज्यको नागरिकले मेरो जिल्लाबाट संसदमा प्रतिनिधित्व गरेका छन् भनी जानी जानी बस्नु पर्दा कहिल्यै उपनिवेश नभएको देश नेपालको नागरिकको रुपमा सम्मानपूर्वक बाँच्न पाउने संविधानको धारा १६ ले प्रदान गरेको हकको अपहरण भएकाले संविधान प्रदत्त मेरो हक प्रचलनको लागि विपक्षी सुरेशचन्द्र दासलाई सांसद् पदको शपथ ग्रहण गराउनबाट तुरुन्तै रोक्न जरुरी भएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरीम आदेश जारी गरी पाउँ र निजको निर्वाचन परिणाम समेत संविधान विपरीत भएकाले निजको निर्वाचन परिणाम समेत उत्प्रेषणको आदेश जारी गरी बदर गरी उपनिर्वाचन गराउनु भन्ने विपक्षी निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरी पाउँ ।

५.   प्रस्तुत विवाद अत्यन्तै गम्भीर प्रकृतिको सार्वजनिक सरोकार, चासो र महत्वको विषय भएको हुँदा अग्राधिकारमा राखी सम्मानित इजलाशबाटै पेशी तोकी न्यायनिरूपण गरी पाऊँ ।

६.   संलग्न कागजातहरूः

(क)     मेरो नागरिकताको प्रतिलिपि ।

(ख)     मिति शनिवार ५ फागुन २०७४ वर्ष २ अंक २९१ के पहिलो पृष्ठको

(ग)     (www.eci.nic.in) बाट डाउनलोड गरिएको भारतको विहार राज्यको दरभंगाको मतदाता नामावलीको प्रतिलिपि ।

७.   यस रिट निवेदनमा रिट निवेदकहरूका तर्फका मुकरर हुनुहुने कानून व्यवसायीहरूको वहस बूँदालाई समेत यसै निवेदनको अभिन्न अंग मानी पाउँ ।

लेखिएको व्यहोरा ठीक साँचो छ, झुठा ठहरे कानून बमोजिम सहने बुझाउने छौँ ।

रिट निवेदक

दुर्गानन्द चौधरी

इति सम्वत् २०७४ साल फागुन १८ गते रोज ६ शुभम्———————————————-

 

श्री सर्वोच्च अदालतमा चढाएको

निवेदन पत्रको सारसंक्षेप

विषयः- संविधानको धारा १३३ (२)(३) बमोजिम उत्प्रेषण तथा परमादेशलगायत अन्य जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ ।

सिराहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं. १ बस्ने वर्ष ४९ को दुर्गानन्द चौधरी———–१ रिट निवेदक
विरुद्ध
काठमाडौं जिल्ला, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा कार्यालय भएको निर्वाचन आयोग समेत-३ विपक्षी

सम्मानित अदालतमा आज मैले चढाएको रिट निवेदनको सार संक्षेप देहाय बमोजिम प्रस्तुत गरेको छु ।

संविधानको धारा १६ द्वारा प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हक समेत मेरो संवैधानिक तथा कानूनी हक हो नेपालको संघीय संसदमा भारतीय नागरिक सांसद्मा चुनिएर आउनु भनेको कहिल्यै उपनिवेश नभएको राष्ट्र« नेपालका नागरिकलाई संविधानको धारा १६ ले प्रत्याभुत गरेको प्रत्येक नेपाली नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने हकको हकबाट नेपाली नागरिकलाई बञ्चित गरी अपमानित गर्नु हो । सो बाहेकै पनि संविधानको धारा २ ले नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको र त्यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ भनी नेपाली जनताको सार्वभौम अधिकार सुनिश्चित गरिदिएकाले नेपाली जनतालाई प्रतिनिधित्व गरेर नेपाली जनतामा रहेको राज्यको विधायिनी अधिकार नेपाली जनताले संघीय व्यवस्थापिकामा प्रतिनिधि सभा तथा राष्ट्रिय सभा मार्फत् र प्रदेशमा प्रदेश सभा सदस्य मार्फत् नेपाली जनताले आप्mनो सार्वभौम अधिकारको प्रयोग गर्ने संवैधानिक व्यवस्था छ । कुनै विदेशी नागरिकलाई नेपालको संसद् वा प्रदेशसभामा समेत नेपाली नागरिकमा रहेको सार्वभौम सत्ताको अधिकारको प्रयोग गर्ने कुरा कल्पना सम्म पनि गर्न सकिदैन । तर विपक्षी सुरेशचन्द्र दास भारतको नागरिक हुनु भएको कुरा प्रमाणित भएको भएकाले संघीय संसद्को विषयमा होओस् अथवा प्रदेश सभाको विषयमा होओस् त्यस्ता प्रत्येक विषयसँग प्रत्येक नेपाली नागरिकको प्रत्यक्ष र सार्थक सम्बन्ध रहेको हुन्छ । तसर्थ प्र्रस्तुत रिट निवेदन दायर गर्न मेरो हकदैया पुग्छ । मिति २०७४/११/५ मा प्रकाशित भएको नागरिक दैनिक पत्रिकाको पहिलो पृष्ठको मूल खवर नै सांसद सुरेशचन्द्र दास भारतीय मतदाता भन्ने शीर्षक अन्तर्गतको समाचारमा नेकपा माओवादी केन्द्रका तर्पबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचिमा रहेको खुलेको छ भनेर छापिएको रहेछ । सोही समाचारको दोस्रो प्याराग्राफको अन्तिम वाक्यमा उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट “डव्लुडब्लुडब्लु डट् इसिआई डट एलआइसी डट आइएन (www.eci.nic.in) मा भेटिन्छ भनी लेखिएकाले सोही बमोजिम इण्टरनेटमा हेर्दा नागरिक दैनिकले छापेको समाचार अनुसार विपक्षी सुरेशचन्द्र दास भारतको बिहार राज्यको मतदाता रहुन भएको समाचार सत्य रहेछ भनी पुष्टी भयो ।

भारतको Representation of the People Act, 1950 को भाग दुई को दफा  १६ मा (1) A person shall be disqualified for registration in an electoral roll if he  is not a citizen of India; भन्ने व्यवस्था रहेछ । भारतको नागरिक नभैकन भारतीय संसद वा विधान सभाको मतदाता हुन नपाउने भारतको कानूनी व्यवस्थाले स्पष्ट पा¥यो । तर विपक्षी सुरेशचन्द्र दासको नाम विहार राज्यको दरभङ्गाको मतदाता नामावलीमा यस प्रकार भेटियोः- देवनाथ दास तथा शारदादेवी दासको छोरा विदेश भारतको विहार राज्यको जिल्ला दरभंगा-१३, निर्वाचन क्षेत्र ८३-दरभंगाका दरभंगा विधानसभा सदस्य निर्वाचनको लागि मतदाता परिचयपत्र नं.IAG०३७३१८३ र वहाँको ठेगाना भारत, विहार, लालबाग प्रोफेसर कलोनीघर नं. ३७, मिर्जापुर, शहर/गावँ नगर निगम, दरभंगा, अञ्चल/थाना-दरभंगा, जिल्ला दरभंगा-८४६००४ भनी लेखिएको छ । नेपालको प्रतिनिधि सभा भनेको संघीय संसद हो । संविधानको धारा ८७ को उपधारा (१) अनुसार  खण्ड (क) अनुसार अरु कुराको अतिरिक्त  संघीय संसदको सदस्य हुनको लागि खण्ड (क) अनुसार नेपालको नागरिक हुनु पर्छ । तर विपक्षी सुरेशचन्द्र दास भने भारत र नेपाल गरी दुर्ई देशको मतदाता रहेको भन्ने देखिएको अवस्थामा नेपालको साँसद् हुन सर्वथा अयोग्य भएकाले त्यस्तो व्यक्तिलाई विजयी उम्मेदवार घोषित गरी विपक्षी निर्वाचन आयोगले मिति २०७४/११/०२ मा सम्माननीय राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरेको रहेछ । भारतीय नागरिक भन्ने देखिएको अवस्थामा विपक्षी संसद सचिवालयले विपक्षी सुरेशचन्द्र दासलाई सांसद पदको शपथ लिन रोक्नु पर्नेमा राष्ट्रिपनिलाई विपक्षी निर्वाचन आयोगले पेश गरेको प्रतिवेदनको आधामा विपक्षी संसद् सचिवालयले सहजीकरणको भूमिका निर्वाह गरी शपथ खुवाई एक जना विदेशीलाई सार्वभौम नेपाली नागरिकको प्रतिनिधिको रुपमा औपचारिक मान्यता प्रदान गर्न लागेको विपक्षीहरुको काम कारबाहीबाट म निवेदक लगायत संपूर्ण नेपाली जनतालाई संविधानको धारा २ ले प्रदान गरेको सांर्वभौमसत्ताको अधिकारको ठाडो अपहरण हुन लागेको र भारतको विहार राज्यको नागरिकले मेरो जिल्लाबाट संसदमा प्रतिनिधित्व गरेका छन् भनी जानी जानी बस्नु पर्दा कहिल्यै उपनिवेश नभएको देश नेपालको नागरिकको रुपमा सम्मानपूर्वक बाँच्न पाउने संविधानको धारा १६ ले प्रदान गरेको हकको अपहरण भएकाले संविधान प्रदत्त मेरो हक प्रचलनको लागि विपक्षी सुरेशचन्द्र दासलाई सांसद् पदको शपथ ग्रहण गराउनबाट तुरुन्तै रोक्न जरुरी भएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरीम आदेश जारी गरी पाउँ र निजको निर्वाचन परिणाम समेत संविधान विपरीत भएकाले निजको निर्वाचन परिणाम समेत उत्प्रेषणको आदेश जारी गरी बदर गरी उपनिर्वाचन गराउनु भन्ने विपक्षी निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरी पाउँ ।

यो मुद्दालाई अग्राधिकार दिलाई पाउँ । सवोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरीम आदेश जारी गरी पाउँ र निजको निर्वाचन परिणाम समेत संविधान विपरीत भएकाले निजको निर्वाचन परिणाम समेत उत्प्रेषणको आदेश जारी गरी बदर गरी उपनिर्वाचन गराउनु भन्ने विपक्षी निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरी पाउँ ।

सम्बन्धित कानूनः- नेपालको संविधानको धारा २, १६, ८७(१) को (क), प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) समेत ।

निर्णयकालागि प्रश्नः- निवेदकको माँग बमोजिम अत्तरी आदेश जारी हुनु पर्ने हो होइन ?

निवेदन माँग बमोजिम रिट जारी हुने हो होइन?

लेखिएको व्यहोरा ठीक साँचो छ, झुठा ठहरे कानून बमोजिम सहने बुझाउने छौँ ।

रिट निवेदक

दुर्गानन्द चौधरी

इति सम्बत् २०७४ साल फागुन १८ गते रोज ६ शुभम्——————————————————————–