समाजको उत्थानमा नारी शिक्षाको अपरिहार्यता

२०७४ फागुन २४ बिहीवार
NewsDesk Shikharnews

नारायणप्रसाद न्यौपाने

हरेक समाजको उत्थानमा त्यही समाजमा रहेका नारी जातिको उत्थान र पतनले नै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । कुनै पनि समाजमा जब नारी जातिको सम्मान हुन्छ त्यस अवस्थामा उक्त समाज र राष्ट्रको पनि सम्मान भएको हुन्छ भने जहाँ नारीको अपमान भएको हुन्छ उक्त अवस्थामा त्यो गाउँ, समाज र राष्ट्रको नै अपमान भएको ठहरिन्छ । त्यसैले हरेक समाजमा नारी जातिलाई शिक्षाको न्यानो घामबाट बञ्चित गरिनु हँुदैन । जुन समाज र राष्ट्र समृद्धशाली बन्दछ, अनुशासित र लगनशील बन्दछ त्यो समाजमा शिक्षित नारीको अहम् भूमिका रहेको हुन्छ । यदि नारीलाई अपहेलना गरियो र उनीहरुलाई शिक्षाको न्यानो घामबाट बन्चित गरियो भने त्यो समाज र राष्ट्र कहिल्यै सबल बन्न सक्तैन, सधै दुर्बल बन्दछ । अनि उक्त समाजमा रहेका नागरिक स्वयं लगाम विनाको घोडाजस्तै हुन पुग्दछन् । त्यसैले भनिन्छ – “एउटा घर परिवारमा पुरुष शिक्षित छ भने त्यो परिवारमा केवल एकजना व्यक्ति मात्र शिक्षित रहेको हुन्छ । तर यदि कुनै पनि घरपरिवारमा नारी शिक्षित छिन् भने त्यो सिङ्गो घर परिवार शिक्षित रहन पुग्दछ” । यस आधारमा पनि समाज र राष्ट्रको उन्नतिका निम्ति नारीलाई शिक्षित तुल्याउनु अपरिहार्य देखिन्छ ।

नारी भनेकी सिङ्गो राष्ट्रकी मुहान हुन् । समाजमा नारीलाई सम्मान गर्न जान्नुपर्छ । नारीले जीवनमा विभिन्न रुपहरुको धारणा गर्दै कहिले छोरी, दिदी, बहिनी, पत्नी, बुहारी र आमा समेत बनेर आफ्नो परिवार चलाएकी हुन्छिन् भने आफ्नो सृष्टिलाई बचाएकी हुन्छिन् । अनि, यो संसारलाई सजाएकी हुन्छिन् । नारी जातिमा असीम शक्ति रहेको हुन्छ । नारीविना समाजका हरेक व्यक्ति अधुरो हुन पुग्दछ, । तरपनि नारीहरू प्रति हेर्ने समाजको दृष्टिकोण भने संकुचित बनेको हुन्छ । समाजमा नारीले पराइघर जाने भनेर आफ्नो जन्मघरमा र अर्काको घरबाट आएकी भन्दै कर्मघरमा समेत उपेक्षित र अपहेलित हुनु परेको हुन्छ । शिक्षाको उज्जालो घामबाट बञ्चित हुनु परेको छ । सधै घरको चुलो चौका र डोको नाम्लामा मात्र सीमित हुनुपरेको हुन्छ । जुन परिवार, गाउँ, समाज र राष्ट्रमा नारीहरू अशिक्षित रहन्छन् त्यो परिवार असभ्य र अविकसित भएको हुन्छ्, अनि त्यो समाजको युग नै अँध्यारोमा परिणत भएको हुन्छ । जुन परिवार, राष्ट्र र युगमा नारी शिक्षित रहन्छन् त्यो परिवार सभ्य हुन्छ, राष्ट्र पनि विकसित र समृद्धशाली बन्दछ । त्यसैले पनि हरेक समाजका नारीलाई उचित शिक्षा दीक्षाको व्यवस्था गर्नु आवश्यक छ ।

“तिमी मलाई असल आमा देऊ म संसारलाई असल राष्ट्र दिन्छुु” – नेपोलियन बोनापार्टले भनेका थिए । यसबाट पनि के पुष्टि हुन्छ भने शिक्षित समाजमा असल व्यक्ति जन्मनका निमित्त पनि असल र शिक्षित आमाहरुको नै आवश्यकता पर्दछ । नारी भनेकी जननी हुन् । नारीको मूल मर्म नै आफ्नो मातृत्वमा अडिएको हुन्छ । नारीले दश महिनासम्म आफ्नो शिशुलाई गर्भमा राखेर जन्म दिएकी हुन्छिन्, अनि आफूले जे जति दुख कष्ट सहेर भएपनि आफ्नो सहस्रधारा दूध पिलाएर आफ्नो सन्तान हुर्काउनुलाई नै सर्वश्व ठान्छिन् । हरेक आमाले आफ्ना सन्तानलाई उमेर अनुसार हिड्न र बोल्न सिकाउँछिन । त्यसैगरी ताते गराउदै हिड्न, लेख्न र पढ्न पनि सिकाउछिन । त्यसैले आमा नै अशिक्षित छिन् भने त्यसको प्रत्यक्ष असर हरेक सन्तानहरू माथि पर्दछ र उनीहरूको वातावरणमा समेत असर पर्न सक्दछ । आमा शिक्षित छिन् भने अवश्य पनि समाजमा सुशिक्षित नागरिकहरू जन्मन्छन्, सुयोग्य व्यक्तिहरू पैदा हुन्छन् र त्यसबाट घर परिवारदेखि सिंगो राष्ट्र नै उन्नति र प्रगतितर्फ अग्रसर हुन पुग्दछन् । आमाबाट नै हरेक बाल बालिकाले राम्रा नराम्रा असल खराब कुराहरू सिक्ने गर्दछन् । बालकमा सबैभन्दा पहिला आमा शब्दबाट नै तोते बोलीको प्रष्फुटन भएको हुन्छ । त्यसैले त हरेक बालबालिकाको पहिलो पाठशाला घरपरिवार हो भने प्रथम गुरु पनि आमा नै हुन् । तसर्थ समाजमा असल आमा भइन् भने असल राष्ट्र बन्न सक्ने हुँदा पनि ती असल आमाहरू उत्पादनका लागि समाजमा नारीवर्गलाई लाई उचित शिक्षा दिनु आवश्यक छ ।

प्राचीन कालमा नारी शिक्षित थिए र त्यो युग स्वर्ण युगका रुपमा चिनिन्थ्यो । त्यसबेला नारी शिक्षाको प्रचार प्रसार भएकाले नारीहरू आजीवन शिक्षामा तल्लीन भएर आत्मा र परमात्माको खोजी गर्दथे । अनि कयौं नारीहरू वैवाहिक जीवनमा प्रवेश गर्नु अगावै आफूलाई शिक्षित तुल्याउँंथे र अरुलाई पनि शिक्षित हुन प्रेरित गर्थे । त्यसैले नै होला जुन मुलुकमा नारीहरू शिक्षित छन् ती मुलुकहरू सम्पन्न र समृद्धशाली भएका छन् । जहाँ नारीहरू, अशिक्षित भएका छन ती मुलुकहरू पछाडि परेका छन् । विशेषगरी हिन्दू समाजमा नारीहरूप्रति अनेक भ्रान्ति फिजाइयो, नारी स्वतन्त्रतालाई कुण्ठित गरियो । प्राचीनकालका विदूषीहरू गार्गी, मैत्रेयी, सीता र सावित्री जस्ता नारीहरू जन्मिएको पवित्र भूमिमा पनि आज तिनै नारीहरूले शिक्षा पाउनका लागि ठूलो संघर्ष गर्नु परेको छ । अनि संघर्ष गर्न नसकेर चुला र चौकामा अनि डोको र नाम्लोमा मात्र आफ्नो जीवनलाई बन्दी बनाउँंदै पाखा र पखेरामा विरहका विभिन्न भाकाहरुमा नानाथरिका वेदनाहरू (गीतबाट) पोख्दै हिड्नु परेको यथार्थता रहेको छ । जीवनलाई विसाउने चौतारीको खोजीमा भौतारीदै आफ्ना वेदनाहरू पोख्नु परेको छ । यसलाई कसले बुझ्ने र कसरी यसको समाधानको बाटो खोज्न सकिन्छ ?

नारी र पुरुष भनेका एक रथका दुई पैया हुन् । एउटाको अभावमा रथलाई हाँक्न सकिदैन भन्ने कुरा थाहा हुँदाहँुदै पनि समाजमा उनीहरूप्रति भेदभाव गरिन्छ, भने कसरी मुलुकमा उन्नति र प्रगति हुन सक्छ ? कसरी राष्ट्र समृद्धशाली बन्न सक्दछ ? त्यसैले आधा आकाश ढाक्ने नारी वर्ग हुन । उनीहरू अशिक्षित हुँदा सिंगो राष्ट्र नै अपाङ्ग बन्दछ भन्ने कुरा समाजका शिक्षित वर्गहरूले बुझ्नु पर्दछ । आज समाजमा शिक्षित महिलाका रुपमा रहेका नारीवर्गले नै आफ्नो हक र अधिकार खोज्दै हिड्छन् तर अन्याय र अत्याचारमा पिल्सिएका ती नारी वेदनालाई भने गम्भिर रुपमा लिएको पाइदैन, किन ? मुलुकको उत्थान उन्नतिका लागि विभिन्न नियम र कानूनको निर्माणका खातिर थुप्रै महिला संसदहरु पनि विजय भएर गएका थिए । जसरी उनीहरुले महिला आवाजलाई अगाडि सार्न सक्नु पर्दथ्यो, महिला वर्गको उत्थानका निमित्त पहल गर्न सक्नु पर्दथ्यो त्यसरी आवाजहरु उठ्न सकेको पाइदैन । कुनै पनि राजनीतिक दृष्टिले प्रभावित भएका महिलावर्गबाट समान दृष्टिले नियाल्न सकेको पाइदैन, किन ? राजनीतिले व्यक्तिलाई एक पक्षीय बनाउदो रहेछ । आज समाजमा जे जस्ता घटनाहरु भए गरेका छन् त्यसमा अधिकांश घटनामा महिलाहरु नै लागेको पाइन्छ । यसबाट पनि के पुष्टि हुन्छ भने हरेक समाजमा महिला वर्गको पहिलो शत्रु महिलाहरु नै भए गरेको देखिन्छ, किन ?

आज पाश्चात्य मुलुक अथवा विकसित मुलुकहरूमा जे जति उन्नति र प्रगति भएको छ त्यो सबै नारी र पुरुषबीचको हेराइ र सोचाइमा समान दृष्टिकोण भएकोले नै हो । नारी प्रतिको सम्मान गर्नाले हो । म्याडमक्युरी जस्ता वैज्ञानिक, फ्लोरेन्स नाइटिङ्गेल र मदरटेरेसा जस्ता समाज सुधारक अनि लक्ष्मीवाई जस्ता स्वतन्त्रता सेनानीहरू पनि नारीहरू नै थिए । विकसित मुलुकमा नारी र पुरुष हातेमालो गर्दै अघि बढिरहेका छन् । अनि उनीहरूले उन्नति र प्रगति गर्न सकिरहेका छन । त्यसैले कुनैपनि समाज र राष्ट्रको उत्थानका निम्ति नारीलाई सम्मान गर्न सिक्नुपर्छ, र समाजमा उनीहरुलाई शिक्षित तुल्याउँनमा विशेष जोड दिनुपर्छ । अनि मात्र हरेक गाउँ, समाज र राष्ट्रको उन्नति हुन सक्दछ ।

आज पनि विभिन्न समाजमा नारी वर्गलाई केवल बच्चा जन्माउने यन्त्र मात्र ठान्ने अनि कुवाको भ्यागुतो जस्तो बनाएर सधै चुलो चौकोमा मात्र सीमित राख्ने प्रवृत्ति अभैm पनि विद्यमान रहेको छ । एउटै घरपरिवारमा पनि दाजुभाइ झोला बोकेर विद्यालय जाने तर दिदी बहिनी भने अंध्यारो मुख लाउदै डोको र नाम्लोसित जंगलतर्फ जानु पर्ने पक्षपात पूर्णव्यवहार एउटै गर्भबाट जन्मिएका एउटै आमाबाबुका सन्तानका लागि पनि भए गरेको देखिन्छ, जुन सबैका लागि अशोभनीय कुरा हो । अर्काको घरमा जाने, अर्काको नासो हो भनेर आफ्नै सन्तान छोरी, बहिनी र दिदीका रूपमा रहेका नारीलाई शिक्षाबाट बञ्चित गरिनु नारीप्रतिको अपमान हो । समाजको एउटा वर्ग अशिक्षित भएकोले नै आज हाम्रो मुलुक पछाडि परेको छ, सुखी समृद्धशाली बन्न सकेको छैन अनि केवल दरिद्रीको सामना गर्नुपरेको छ । यस्तो अवस्थामा कसरी उनीहरुलाई शिक्षित तुल्याउन सकिन्छ । यस बारेमा समाजमा रहेका सबै वर्गलाई जागरण गराउनकै निमित्त पनि स्वयं नारीवर्गहरु नै अग्रसर हुन सक्नु पर्दछ र प्रत्येक गाउँ समाजमा ‘आजको आवश्यकता नारी शिक्षाको अपरिहार्यता’ भन्ने नारालाई विस्तार गराउन सक्नु पर्दछ ।

समग्रमा प्रत्येक गाउँ समाज र राष्ट्रभरी नै नारीलाई आत्मनिर्भर तुल्याउने खालको शिक्षा दीक्षा दिन सक्नुपर्छ र उनीहरूलाई समाजका विभिन्न कार्यहरूमा सरिक गराउदै लग्न सक्नु पर्दछ । शिक्षित नारीहरू नै समाजमा मेलमिलाप र शान्ति कायम गर्न सक्षम हुन्छन् । समाज र राष्ट्रलाई उन्नतिको शिखरमा पु¥याउन सबल हुन सक्छन््््््, भन्ने कुरालाई मनन गरी प्रत्येक आमा बावु तथा अभिभावकहरूले अब समाजमा नारी शिक्षालाई विशेष जोड दिन आवश्यक छ । मुलुकमा रहेका विभिन्न संघ संस्था आदिमा पनि नारीवर्गको प्रवेशलाई सहजता बनाउन सक्नु पर्दछ । राजनीतिक वृत्तमा संलग्न रहेका कतिपय महिला वर्गहरुले नै आफ्नो हक र हितका निमित्त राजनीतिक पूर्वाग्रही बनेर लाग्ने प्रबृत्तिको अन्त्य हुन सक्नु पर्दछ । एउटा महिलाले अर्को महिलाप्रति सर्वप्रथम जातिय आधारमा भएपनि आफ्नो नजिकको मित्र ठान्न सक्नु पर्दछ । महिला वर्गमा जति सहनशीलता र धैर्य धारण गर्न सक्ने क्षमता रहेको हुन्छ त्यति पुरुषवर्गमा भएको पाइदैन । त्यसैले समाजमा गर्नुपर्ने जति पनि विकास निर्माणका कार्यहरु छन् ती सबैमा महिला वर्गहरुको सहभागितामा बढी जोड दिनु पर्दछ । त्यसैले पनि समाजमा रहेका हरेक महिलावर्गलाई उचित शिक्षा दिनु आवश्यक छ र त भन्न सकिन्छ “आजको आवश्यकता नारी शिक्षाको अपरिहार्यता ।”