सार्इकल डाेराउने बाबुराम कार चढेपछि…




२०७४ फागुन २७ आइतवार
Newsdesk Shikharnews

रत्ननगर, चितवन, २७ फागुन । चितवनको कालिका नगरपालिका वडा नं ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गर्नुभएको थियो । विसं २०५६ मा च्याउ खेती शुरु गर्नुभएका केसी अहिले छ कट्ठामा च्याउ लगाउनुहुन्छ । साइकलमा च्याउ डुलाउनुहुन्थ्यो, अहिले गाडीमा हिँड्नुहुन्छ । च्याउ बेचेरै जग्गा समेत जोड्नुभयो ।

कन्ने र गोब्रे च्याउ लगाउँदै आउनुभएका उहाँ दैनिक औसत १०० किलो च्याउ उत्पादन गर्नुहुन्छ । ‘यहीँ हो विदेश, यहीँ छ कमाइ,’ केसीले भन्नुभयो – ‘मेहनत गरे जुन पेशाबाट पनि कमाइ हुन्छ ।’ कहिलेकाहीँ दिनमा ४०० केजीसम्म उत्पादन हुन्छ ।

विसं २०५६ मा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले जंगलमा मानवीय चाप घटाउन गाउँका स्थानीयवासीलाई आयआर्जनका लागि च्याउखेती तालीम दिएको थियो । वन्यजन्तु संरक्षण गर्नु यसको मुख्य उद्देश्य थियो । शुरुमा केसीसहित १० जनाले तालीम लिएका थिए ।

त्यो बेला ग्रामीण कृषक समूह गठन गरेर च्याउ खेती शुरु भएको केसी सम्झनुहुन्छ । उक्त समूहमा अहिले मासिक ३०० बचत गर्नुहुन्छ उहाँ ।

सामान्य खेती किसानी गरेर जीविका चलाउन उहाँलाई पहिले निक्कै समस्या थियो । त्यो बेलाको खेती पनि वन्यजन्तुले खाइदिन्थ्यो । अहिले आफ्नो जीवन फेरिएको छ भन्नुहुन्छ केसी ।

च्याउबाट खर्च कटाएर मासिक रु १ लाख न्यूनतम कमाई हुने उहाँको भनाइ छ । उहाँले प्रतिकिलो रु १२० मा थोकमा च्याउ बेच्नुहुन्छ । बजारमा खुद्रा मूल्य प्रतिकिलो रु २०० देखि २५० सम्म पर्छ । विगतमा भारतमा मजदुरी गरेको अनुभव केसीसँग छ । त्यसपछि नेपाल आएर जग्गा नापीमा समेत काम गर्नुभयो उहाँले ।

‘जब च्याउ खेती शुरु भयो दुःखका दिन गए,’ केसीले भन्नुभयो – अहिलेको पेशाबाट निक्कै आनन्दित छु ।’ उहाँले खेती शुरु गरेदेखि पछि फर्कनु परेको छैन ।

झुप्रोबाट खेती शुरु गर्नुभएका उहाँको अहिले च्याउका ६ वटा ठूला घर छन् । विस्तार गर्दै उहाँले अहिले ६ कट्ठामा च्याउ खेती गरिरहनुभएको छ ।

उहाँलाई पत्नी सीता केसीले सघाउनुहुन्छ । ‘उहाँले बजार हेर्नुहुन्छ, यहाँको व्यवस्थापन म स्वयं गर्छु,’ सीताले भन्नुभयो । च्याउको मौसमका बेला १२÷१५ जनासम्म कामदार राख्ने गरिन्छ । अहिले व्यावसायिक च्याउ खेतीका सफल किसानको रुपमा केसी परिवार छन् । च्याउ बेचेर गाडी, मोटरसाइकल सहित रु ५० लाखमा ३ कट्ठा जग्गा समेत जोडिसक्नुभएको छ ।

विसं २०५६ मा जब राष्ट्रिय प्रकृति संरक्षण कोषबाट तालीम लिएपछि उहाँले तीन प्याकेट च्याउको बीऊ र रु १० हजार बराबरको सामग्री पाउनुभएको थियो । झुप्रोमा च्याउ खेती गर्दा पहिलो पटक ३५ किलोग्राम उत्पादन भयो । ‘त्यो बेलाको खुशीको सीमा नै भएन,’ केसीले भन्नुभयो । विस्तारै उहाँले खेती बढाउन थाल्नुभयो । शुरुमा उहाँसँग एउटा साइकल मात्र थियो । त्यही साइकलमा उहाँले उत्पादित च्याउ बोकेर गाउँ शहर डुलाउनुहुन्थ्यो ।

बुटबल र हेटौँडासम्म साइकलमा च्याउ लगेर बेचेको अनुभव उहाँसँग छ । नारायणगढसम्म साइकलमा जाने, साइकलसहित च्याउ गाडीमा राख्ने, बुटबल पुगेपछि झार्ने अनि साइकलमा डुलाउने । केही वर्ष यसरी बिताउनुभयो उहाँले । साइकलको सहारामा च्याउ बेचेर कमाएको पैसाले उहाँले खेती विस्तार गर्नुभयो ।

‘मैले साइकलमा १० वर्ष च्याउ बेचें,’ केसी भन्नुहुन्छ – त्यो साइकल अझै माया लागेर झुण्ड्याएर राखेको छु ।’ च्याउ घरभित्रै सिलिंगमा साइकल खिया लागेको अबस्थामा अझै झुण्डिएको छ । कमाइ बढेपछि उहाँले साइकल छाडेर मोटरसाइकल किन्नुभयो । त्यसमै राखेर च्याउ बेच्नुभयो ।

अहिले उहाँ कारमा च्याउ लैजानुहुन्छ । पहिले साइकलमा गाउँगाउँ डुलाउने उहाँलाई अब त्यसरी दुःख गर्नुपर्दैन । घरमै लिन आउँछन् । नभए थोक पसलमा लगेर छाड्नुहुन्छ । सरकारी सहयोग भने अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो केसीको छ ।

अहिले केसी च्याउको बीऊसमेत उत्पादन गर्नुहुन्छ । उहाँलाई १२÷ १४ हजार प्याकेट बीऊ लाग्छ । अरु बाँकी उत्पादित बीऊ बेच्नुहुन्छ । विभिन्न स्थानबाट बीऊ लिन उहाँकहाँ आउने गरेको शुरुको सहयोगी संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउनुहुन्छ । लागत अनुसारको मूल्य नपाउँदा भने उहाँ अलि दुःखी हुनुहुन्छ ।

शुरुमा च्याउ खेती गर्दा जति मूल्य थियो, अहिले पनि त्यही मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले दुःखेसो गर्नुभयो । तैपनि अहिले यो पेशामा उहाँ सन्तुष्ट हुनुहुन्छ ।

च्याउखेती सिकेर उहाँले सीप समेत बाँड्नुभयो । अहिले एकसय जनालाई च्याउ खेत गर्ने सीप सिकाइसकेको केसी बताउनुहुन्छ । जिल्लाकै च्याउ खेतीका नमूना किसानको रुपमा उहाँ परिचित हुनुहुन्छ ।