कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …

२०७४ फागुन २९ मंगलवार
Newsdesk Shikharnews
  • डा. अंगराज तिमिल्सिना

यो दुखद घटनाले धेरैलाई स्तब्ध बनाएको छ । उज्यालो भविष्यको सपना बोकेका बंगलादेश पढ्ने धेरै विद्यार्थीको दुर्घटनामा निधन भएको दुखान्त खबर छ । दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्दान्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना !

हामी नेपालीको पुरानो रोग के भने दुर्घटना, घटना, आपत र विपतपछि एकाध दिन जुर्मुराउछौं । त्यस बारे छलफल गर्छौं र त्यसको केही दिन मै पहिला जस्तो थियो त्यही अवस्थामा देश र समाज फर्किन्छ । यसरी नै लम्बेकालदेखि जीवन र जगत चलिरहेको छ । महाभुकम्प पछि होस वा माओवादी युद्द पछिको पुनःनिर्माण, ठूलो बाढी जाँदा वा ठूलो पहिरो जाँदा पछिको पुनस्थापनाअवस्था यसरी नै गुज्रियो ।

युएस बंगला बिमानको दुर्घटनाबारे कुरा गर्दा अहिले युएस बंगला कम्पनीले नेपालको कन्ट्रोल रुम र कन्ट्रोल रुमले विमानलाई दोष दिइरहेका छन । जहाज दुर्घटनाबारे निम्न तथ्य महत्वपूर्ण छ । अहिलेसम्म भएका “प्लेन क्र्यास” बारेको अनुसन्धानले के देखाउछ भने अक्सर एउटा मात्र कारणले प्लेनको दुर्घटना हुँदैन । दुर्घटना भए आगलागी भएर यात्रुहरु खरानी बन्ने भयावह दृष्य देखिने भए पनि प्लेन यान्त्रिक रुपले धेरै सुधारिएको यन्त्र हो । करिब १२ लाख फ्लाईटमा एउटा प्लाईटमा दुर्घटना हुनसक्ने सम्भावना हुन्छ । भने करिब १ करोड १ लाख प्लेन यात्रीमा १ एक जना मर्ने सम्भावना । अर्कोतिर कार वा बस दुर्घटनामा हरेक ५ हजार मान्छेमा एकजना मर्नसक्ने सम्भावना हुन्छ ।

ब्ल्याक बक्सभित्र ककपिटमा पाइलटले बोलेको कुरा र एअर्पोर्टको कन्ट्रोल रूम बीचको कुराकानी आदिको अनुसन्धानले सत्य तथ्य बाहिर आउने नै छ, तर प्रारम्भिक तथ्य हेर्दा एउटा मात्र नभएर धेरै कुराले यो दुर्घटना भएको देखिन्छ ।

जस्तो कि पाइलटले गल्ती गरेर उत्तरतिरबाट ल्याण्ड गर्यो वा ल्याण्ड गर्दा “एङगल” मिलाउन सकेन भनिएको छ । तर, सार्वजनिक गरिएको कन्ट्रोल रुमको संवाद सुन्दा उत्तर र दक्षिण कता जाने भन्ने निर्देशन दिने  कन्ट्रोल रुम र सुन्ने पाइलट बीच “मिस अन्डर स्ट्यान्डिङ” वा “कम्युनिकेसन गेप” जस्तो देखिन्छ । कन्ट्रोल रुमलाई प्लेन उत्तर गयो वा दक्षिण गयो भन्ने कन्फ्युजन जस्तो छ भने प्लेन र कन्ट्रोल रुम बीच क्य्रास अगाडिका १२ मिनेट जति कुनै संपर्क संवाद छैन ।

म पाइलट वा एरोनौटिकल इन्जिनियर होइन तर हाम्रो उत्तरमा पहाड पर्ने भएकाले ठूला प्लेन ओराल्न सजिलो छैन तर त्रिभुवन विमानस्थलमा ट्राफिक जाम हुँदा उत्तरबाट पनि अवतरण गर्ने अनुमति दिइन्छ भनिन्छ । हाम्रो भौगोलिक अवस्था र मौसम खराबीले पार्ने समस्या (जस्तो कि प्लेनलाई कन्ट्रोल रुमले एअरर्पोर्ट देख्नु भो भन्नु पर्ने अवस्था) का अलावा हाम्रो मुख्य समस्या त्रिभुवन बिमानस्थलको स्तरोन्नती हुनु नसक्नु र करीब ३ करोड भन्दा बढी जनसंख्या भएको नेपालको एउटा मात्र अन्तराष्ट्रीय विमान्स्थल हुनु हो ।

सन २०१६ को एउटा अन्तराष्ट्रिय “र्यान्किङ” का अनुसार हाम्रो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विश्वका दश खराब बिमानस्थलमा पर्छ । एउटा मात्र अन्तरराष्ट्रिय एयरपोर्ट हुनुको पीडा त छँदैछ, घरेलु र अन्तराष्ट्रिय सबै उडानहरु एउटै धावन मार्गबाट उड्ने र ओर्लिने बाध्यताले त्रिभुवन विमानस्थलमा बारम्बार एयर ट्राफिक जामको समस्या छ । एक वर्षमा झण्डै ६० लाख जति यात्री यो विमानस्थलले सकी नसकी धानेको छ ।

बिश्वमा एउटा मात्र अन्तराष्ट्रिय विमानस्थल हुने अरु देशहरु र भूभागहरु पनि छन । तर, तिनीहरको स्तर हेर्दा हाम्रो भन्दा कति गुण राम्रो छ । अस्ति मात्रै फुच्छे बालीको हाम्रो भन्दा कति राम्रो एअरर्पोर्ट भनेर डा बाबुराम भट्टराईले आफ्नो फेसबूकमा लेखेका थिए ।

कम्तिमा पनि प्लेन उड्ने र बस्ने दुई छुट्टै धावन मार्ग हुँदा प्लेनको ट्राफिक जामले हुने दुर्घटना घटाउन सकिन्छ भने राडार आदि प्रविधिी स्तरोन्नतिले प्लेनलाई कन्ट्रोल रुमले गाइड गर्न सजिलो हुन्छ ।

हामीले चाँडो भन्दा चाँडो पोखरा, लुम्बिनी र निजगढमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नु जरुरी छ भने त्रिभुवन बिमानस्थललाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको धावन मार्ग, टर्मिनल, राडार लगायतको प्रविधि र उद्दारको तयारी लयायतको स्तरोत गर्न जरुरी छ ।

हाम्रो बिडम्बना के भने बिमानस्थलको स्तर र सुबिधा अभिबृद्धिका लागि भनेर हरेक हवाई यात्रीबाट उठाउने कर नागरिक उड्ययन प्राधिकरणमा मात्रै २० अरब जति पैसा खातामा बसिरहेको भनिन्छ । तर, हाम्रो विमानस्थलको खस्किदो अवस्थाका कारण समेत हवाई सेवा असुरक्षित बन्दै छ । सबैभन्दा खराब एयर्पोर्टमा गनिने हाम्रो एयरपोर्टमा दुर्घटना हुँदा यसले नेपालको हवार्इ सुरक्षाप्रति विश्वको आशंका अझ बढाउने र यसले हाम्रो पर्यटन र अरु क्षेत्रमा असर पार्ने छ । अस्तु !

डा. तिमिल्सिनाको फेसबुकबाट