दुर्घटनास्थलमा देखिएको यो एक फोटो जसले सबैलाइ मर्माहित बनायाे




२०७४ फागुन २९ मंगलवार
Newsdesk Shikharnews

काठमाडौं, २९ फागुन । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा ४९ जनाको ज्यान गयो ।

३३ जना नेपाली यात्रु र चालकदलका सदस्यसहित ७१ जना लिएर बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।विमानमा ढाकामा एमबीबीएस अध्ययन गर्न गएका १९ नेपाली विद्यार्थी थिए । ती विद्यार्थीहरु आफ्नो एमबीबीएस अध्ययनको अन्तिम परीक्षा सकेर नेपाल फर्किंदै थिए ।

दुर्घटनास्थलका फोटोहरु समाचार पोर्टलदेखि फेसबुक, ट्विटर र इन्ष्टाग्राममा धेरै सार्वजनिक भयो । सार्वजनिक भएका तस्विरहरुमध्ये एक फोटोले भने संसारको ध्यान तानेको छ ।
फोटोमा मेडिकल शिक्षाको एक पुस्तक क्षत विक्षत अवस्थामा छ । यो पुस्तक थियो डाक्टर बन्ने सपना बोकेर बंगलादेश गएर नेपाल फर्किएका नेपालीहरुको ।

तर, दुर्घटनाले उनीहरुको सपना चकनाचुर बनाइदिएको छ । उनीहरुको सपनाजस्तै क्षतविक्षत भएको यो पुस्तकको फोटो सामाजिक सञ्जालमा शेयर गर्नेको ठूलो जमात छ ।