राष्ट्रपति चयनका लागि मतदान समाप्त, ४ बजेदेखि मतगणना

२०७४ फागुन २९ मंगलवार
NewsDesk Shikharnews

काठमाडौैं, २९ फागुन । मुलुकको सर्वोच्च पद राष्ट्रपति चयनका लागि मंगलबार मतदान सम्पन्न भएको छ । बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ । मतगणना दिउँसो ४ बजेदेखि सुरु हुने बताइएको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् । भण्डारीलाई वाम गठबन्धन तथा राईलाई विपक्षी नेपाली कांग्रेसको समर्थन छ । राष्ट्रपति निर्वाचन संघीय संसद् तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता थिए ।

निर्वाचन आयोगले संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ जनाको अन्तिम नामावली प्रकाशित गरेको थियो । नामावली प्रकाशनपछि शपथग्रहण गर्न पाएका राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ सदस्यले मतदान गर्न पाउने छैनन् । प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)को नाम अन्तिम नामावलीमा छैन । अदालतबाट दोषी प्रमाणित भई सजाय सुनाइएका मनाङे फरार छन् ।