डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यता

२०७४ फागुन ३० बुधवार
NewsDesk Shikharnews

धनगढी, ३० फागुन । धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा आगामी चैत्र १७ गतेदेखि हुने रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण “रुस्लान डीपीएल २” को शुभारम्भ हुँदैछ । उक्त प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को मान्यता पाएको छ ।

आइसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर ऋष्खिभ ज्ष्तअजअयअप द्वारा प्रेषित पत्रमा आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई “रुस्लान डीपीएल–२” लाई आइसीसीको मान्यता रहेको जानकारी गराइसकेको उल्लेख गरिएको छ ।

आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको छ । “रुस्लान डीपीएल–२ लाई आइसीसीले मान्यता दिँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउनुले नेपाली घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा थप महत्व र उचाई हासिल गरेको हामीले महसुस गरेका छौं”, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बी शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको अक्सन गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउनेछन् । यस्तै तेस्रो हुने टीमले ३ तथा चौथो हुने टोलीलाई २ लाख दिइने यसअघि नै घोषणा भइसकेको छ ।