धेरैपटक “मारिएका” इस्पातले बनेका मान्छे– उपराष्ट्रपति पासाङ

२०७४ चैत ३ शनिवार
NewsDesk Shikharnews

प्रस्तुति : उदय जीएम

नेपालको उपराष्ट्रपति जस्तो उच्च ओहदामा दोस्रो कार्यकालका लागि नन्दकिशोर पुन “पासाङ” अर्थात नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएका छन् । २०७४ चैत ३ गते उपराष्ट्रपतिका लागि मनोनयन दर्ता रहेकोमा पासाङको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् । २०७२ कार्तिक १४ मा व्यवस्थापिका संसदमा भएको उपराष्ट्रतिको निर्वाचनमा उनी पहिलोपटक मुलुकको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

माओवादी जनयुद्वको शुरुवाती चरणदेखि निरन्तर फौजी मोर्चा सम्हाल्ने एक्लो शीर्ष नेता हुन्, नन्दबहादुर पुन “पासाङ” । माओवादी जनयुद्धको राजनीतिक कमान्डर निरन्तर प्रचण्ड बनिरहे भने निरन्तर फौजी कमान्डर बने, पासाङ ।

जनयुद्धकालमा अनेकौं किंवदन्तीका पात्र बनेका थिए पासाङ । सेनाको कुनै व्यारेक वा कुनै प्रहरी कार्यालयमा आक्रमणका लागि पासाङ कमाण्डर बनेर आउँदैछन् भन्ने खबर पाएपछि सुरक्षाफौजमा खैलाबैला मच्चिने गथ्र्यो भन्ने हल्ला पनि फैलिन्थ्यो । जुन युद्धको मोर्चा पासाङले सम्हाल्छ, त्यो लडाईं असफल हुँदैनथ्यो भन्नेहरु पनि छन् माओवादीमा । तत्कालीन सरकारद्वारा मूल्य तोकिएको टाउको लिएर युद्धमोर्चामा रमाउँदै गरेका पासाङले कहिलेकाहीं रेडियोमा आफै मरेको समाचार सुनेर आफै आश्चर्यचकित हुन्थे । कैयौंपटक मृत्युको मुखैमा पुगेर फर्किएका पासाङ लठ्ठी चलाउन उत्तिकै माहिर छन् । जनयुद्धको घोषणा हुनुभन्दा पहिले नै उनको टाउकोको मूल्य तोकिएको थियो । चप्का मेलामा उनलाई प्रहरीले समाउन खोज्दा लठ्ठीकै भरमा प्रहरीलाई ढालेर भागेका थिए उनी । उक्त घटनामा प्रहरीले गोली चलाउँदा २ जनाको घटनास्थलमै मृत्यु भयो भने पासाङ स्वयंको पाखुरामा गोली लागेको थियो । शान्तिप्रक्रियामा आएपछि उनी गम्भीर विरामी परे । उनको मिर्गौला झण्डै ८० प्रतिशत खराब भइसकेको अवस्थामा पनि बलियो आत्मविश्वासका कारण मिर्गौला पुरानै अवस्थामा फर्किन वाध्य भएका थिए ।

जन्म र परिवार
जनयुद्धकालमा नन्दकिशोर पुन “पासाङ”को नामले परिचित उनको वास्तविक नाम नन्दबहादुर पुन हो । “पासाङ” जनयुद्धले जन्माएको नाम हो । जनयुद्धको तयारी र प्रारम्भिक चरणमा उनी “लिफङ” नामबाट परिचित थिए र पछि “पासाङ” बने । राङ्सी– ९, रोल्पामा २०२२ कार्तिक ७ गते रामसुर र मनसरा पुनको कोखबाट जन्मिएका हुन् पासाङ । रामसुरका ५ भाइमध्ये माइलो हुन् पासाङ । पासाङका ३ दिदीबहिनी छन् । हस्तमाली पुनसँग दाम्पत्य जीवनमा बाँधिएका पासाङका २ छोराबुहारी जीतेन्द्र÷जुनमाया घर्ती र दीपेश÷सविना आले छन् । जीतेन्द्रबाट नाति न्युटन पुनको पनि आगमन भइसकेको छ ।

सामान्य किसान परिवारका रामसुरलाई छोराहरू पढाउन निकै कठिन थियो । एकातिर धेरै सन्तानहरुको लर्को र अर्कोतिर गाउँका ठालुले सम्पत्ति खोसिदिएपछि रामसुर अप्ठ्यारोमा परेका थिए । जेसुकै भए तापनि छोराहरुलाई पढाउन रामसुरले कुनै कसर राखेनन् । पछि प्युठान अड्डाबाट मुद्दा जितेर खोसिएका सम्पत्ति फिर्ता लिए भने पाँचै भाइ छोराहरुलाई रामसुरले उच्चशिक्षा अध्ययन गराए ।

पासाङका जेठा दाजु वीरबहादुर पुन इन्जिनियर छन् भने साइँला भाइ भीमप्रकाश पुन उच्च माध्यमिक विद्यालयका प्राचार्य छन् । काइँला भाइ दीपक पुन शिक्षण पेसा छाडेर खेतीकिसानीमा रमाएका छन् भने कान्छा भाइ कमल पुन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य रहँदा २०५९ सालमा राज्यपक्षबाट मारिएका थिए । कक्षा ९ मा पढ्दै गर्दा २०३९ मा जङ्कोट– १, माडीचौरकी हस्तमाली पुनसँग प्रेमविवाह गरेका थिए । हस्तमाली पुनले पनि जनयुद्धमा स्थानीय पार्टी कमिटीमा रहेर काम गरेकी थिइन् । उनको जेठो छोरा जीतेन्द्र र कान्छो छोरा दीपेश पनि पढाई छाडेर जनयुद्धमा होमिएका थिए ।

शिक्षा–दीक्षा
नन्दबहादुर पुन “पासाङ” ८ वर्षमा पुगेपछि विद्यालय भर्ना भएका थिए । प्राथमिक विद्यालय, जाखरबाट ३ कक्षा उत्तीर्ण गरेपछि तत्कालीन निम्नमाध्यमिक विद्यालय राङ्सीमा भर्ना भएका थिए । २०३७ सालमा ७ कक्षा उत्तीर्ण गरिसकेपछि उनी माध्यमिक तहको शिक्षाका लागि रोल्पाको सदरमुकाम लिवाङस्थित बालकल्याण माध्यमिक विद्यालयमा भर्ना भएका थिए । तर, विद्यार्थी संगठनमा आबद्ध भएर सक्रिय राजनीति गरेको आरोपमा लगाएर विद्यालय प्रशासनले अवरोध गरेको थियो भने प्रहरीले वारेन्ट जारी गरेको थियो । अन्ततः विद्यालय प्रशासनले विद्यालय वा राजनीति छाड्नुपर्ने चेतावनी दिएपछि २०३९ सालमा ९ कक्षा पढ्न पासाङ थबाङ पुगेका थिए । २०४२ सालमा थवाङबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका पासाङ २०४५ मा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए । राजनीतिशास्त्रमा स्नातकोत्तर पासाङले सैन्यविज्ञान, राजनीति, दर्शनको स्वध्ययन गरेका छन् ।

प्रारम्भिक विद्यार्थी राजनीति
राङ्सीमा अध्ययन गर्दा नै २०३७ सालमा पासाङ अनेरास्ववियू (छैटौं)को इकाई अध्यक्ष भएका थिए । उक्त संगठनको दोस्रो रोल्पा जिल्ला सम्मेलनमा राङ्सीबाटै प्रतिनिधि भएर आएका थिए पासाङ । प्रहरीको अवरोधले गर्दा दिनभरि ओडारमा लुकेर फर्किएका थिए उनी । लिवाङमा अध्ययन गर्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुनका लागि थप प्रेरणा पाएका पासाङ महराको सरल स्वभाव र अध्यापन शैलीबाट निकै प्रभावित भएका थिए । संगठन निर्माण र कम्युनिस्ट आन्दोलनबारे अध्ययन गर्न महरा प्रेरक बने उनका लागि ।

बुटवलमा भएको अनेरास्ववियुको प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलनमा लिवाङमा कक्षा ८ मा अध्ययन गरिरहेकै समय रोल्पा जिल्लाबाट प्रतिनिधि भएर पुगे । सम्मेलनबाट फर्केपछि प्रशासनले वारेन्ट गर्यो । त्यसपछि ७ कक्षा उत्तीर्ण गरी पासाङ थबाङ पुगे । थवाङमै पनि प्रहरीले समातेर ३ रात उनलाई हिरासतमा राख्यो । २०४५ मा दाङमा क्याम्पस भर्ना भएर पासाङ मशाल समूहको अध्यक्ष भएका थिए ।

शिक्षण र खेलकूद
प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि पासाङले पार्टी कामसँगै शिक्षण पेसा अङ्गालेका थिए । २०४३ देखि लगातार ९ वर्षसम्म निमावि राङ्सीमा अध्यापन गरे । पासाङले पूर्वमन्त्री जयपुरी घर्ती, नेकपा–माओवादीकी नेतृ तारा घर्ती लगायतलाई पढाएका पनि थिए । उनी स्थायी शिक्षक थिए । खेलकुदमा धेरै रुचि राख्ने राष्ट्रपति पुनका लागि भलिबल निकै प्रिय खेल हो । लिबाङमा अध्ययन गर्दा नेपालगन्जमा क्षेत्रीयस्तरको भलिबल प्रतियोगितामा सहभागी भएका पासाङ राष्ट्रिय खेलकुदका लागि मध्यपश्चिमबाट भलिबलमा छनोट भएका थिए । उनी विद्यालयमा खेलकुद शिक्षकसमेत थिए ।

वर्गसंघर्षमा पासाङ
सानैदेखि लडाकु स्वभावका पासाङले “वर्गसघर्ष”मा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । लठ्ठीले दर्जनौँलाई एकसाथ प्रहार गर्नसक्ने पासाङको कलासँग सबै नतमस्तक छन् । माओवादी नबन्दै तत्कालीन एकताकेन्द्र मशालले २०४८ पछि वाइसीएललाई लडाकु दस्ता बनाएर वर्गसंघर्ष चलाएको थियो । त्यतिबेला वाइसीएलको रोल्पा जिल्ला अध्यक्ष पासाङ नै थिए । २०४८ को निर्वाचनमा रोल्पाबाट संयुक्त जनमोर्चा नेपालका उम्मेदवार कृष्णबहादुर महरालाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राज्यले घोषणा गरेको संकटकालमा माओवादीका नेताहरुको टाउकाको मूल्य तोकिएको थियो । राज्यविरुद्धमा लागेको आरोपमा प्रशासनले जनयुद्धको घोषणाअघि नै पासाङको टाउकाको मूल्य ३५ हजार रुपैयाँ तोकेको थियो । पासाङलाई “जहाँ भेट्यो त्यहीँ मार्ने” भनेर प्रशासनले प्रहरी परिचालन गरेको थियो । माओवादी नबन्दै पहिलोपटक पार्टीको रोल्पा जिल्ला सदस्य भएपछि प्रशासनले झनै निगरानी बढायो । २०५१ को स्थानीय निर्वाचनमा समातेर १५ दिन हिरासतमा राख्यो । २०५१ मै मध्यावधि निर्वाचनताका राज्यले उनलाई मार्ने योजना बनायो । २०५१ मङ्सिर ९ गते गाउँको स्थानीय मेला (इरिबाङको चप्का)मा प्रहरीले पक्राउ गर्न खोज्यो । लठ्ठी चलाउन अत्यन्तै सिपालु पासाङले प्रहरीलाई लठ्ठीले ढालेर भाग्दा गोली चल्यो । पासाङको पाखुरामा गोली लागे पनि बाँच्न सफल भए भने मेलामा आएका लोकबहादुर घर्ती र मनबहादुर पुन प्रहरीबाट मारिएका थिए ।

चप्का घटनापछि पासाङ पूर्णतः भूमिगत भए । जनयुद्ध सुरु भएको करीव महिना दिनपछि पासाङकी ममतामयी आमा मनसराको निधन भयो । आमाको अन्तिम पुण्यतिथिमा पासाङ घरमा आउनसक्ने आशङ्कामा प्रहरीले छापा मार्यो । त्यो बेला पासाङलाई प्रहरीले भेट्न सकेन तर काइँला भाइ दीपक पुनलाई गोली हानी घाइते बनाउनुका साथै पक्राउ नै गर्यो । दीपकले झण्डै ५ वर्ष जेल जीवन बिताउन वाध्य भए ।

पार्टी राजनीतिमा पासाङ
पासाङ २०४६ मा तत्कालीन मशालको पार्टी सदस्य बनेका थिए । वासुदेव नाम गरेका नेताबाट पार्टी सदस्यता लिएका पासाङले आफ्ना शैक्षिक गुरु कृष्णबहादुर महराबाट पार्टी सदस्यता नवीकरण गरे । २०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकताकेन्द्र मशालको सदस्य तथा युवक संगठनको सदस्य हुँदै २०४८ देखि पूर्णकालीन सदस्य भएर काम गरे पासाङले । एकताकेन्द्र बनेपछि भएको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए । हालका सभामुख कृष्णबहादुर महरा सेक्रेटरी भएको बेला ५ सदस्यीय जिल्ला समितिमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य थिए । जनयुद्धको तयारीका क्रममा वाइसीएलको रोल्पा जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहेका पासाङ २०५२ फागुन १ मा तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरुवात गर्दा देशका ४ स्थानमा गरेको आक्रमणमध्ये रोल्पाको होलेरीमा रहेको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा उत्तर–पश्चिम र दक्षिण कमान्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमान्डर थिए ।

पासाङ २०५४ मा पार्टीको क्षेत्रीय व्युरो सदस्य भए । २०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र भारतको गोवामा २०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटव्युरो सदस्य बने पासाङ । २०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका २०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमै आए । त्यसको लगत्तै जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यको निर्वाचनमा उनी स्थायी समिति सदस्यमा निर्वाचित भएका थिए ।

सैन्ययात्रा
जनयुद्धको घोषणा भएको दिन २०५२ फागुन १ गते माओवादीले ४ स्थानमा आक्रमण गरेको थियो । जसमध्ये होलेरी आक्रमणमा सहकमाण्डर थिए, पासाङ । रोल्पाका ३ लडाकु दल मिलाएर माओवादीले स्वयंसेवक दल बनायो र त्यही दलले होलेरीमा आक्रमण गरेको थियो । माओवादीले फौजी संरचना विकास गर्दै जाँदा पासाङ कमान्डर बन्दै गएका थिए । माओवादीले २०५३ मा विभिन्न दललाई स्क्वायडमा रूपान्तरण गर्यो र पासाङले नै ३ स्क्वायडको कमान्ड गरे । २०५५ मा बनाएको टास्कफोर्सको कमान्डर पनि पासाङ नै भए । सैन्य संरचना बन्दै जाँदा २०५६ मा प्लाटुनलाई समेटेर कम्पनी निर्माण भयो र त्यसको कमान्डरको जिम्मेवारी पनि उनैलाई आयो । २०५८ कार्तिकमा माओवादीले रोल्पाको कुरेलीमा सैन्य भेला गरी “जनमुक्ति सेना” बनायो । भेलाले बटालियनस्तरको संरचना बनाउनुका साथै पासाङलाई नै बटालियन कमान्डर बनायो । २०५९ मा जनमुक्ति सेनाको ब्रिगेड कमान्डर पनि पासाङ नै भए । त्यसपछि बनेका २ डिभिजनमध्ये पश्चिम डिभिजनको कमान्डर पासाङ र पूर्वी डिभिजन कमान्डर वर्षमान पुन “अनन्त” भए । लगत्तै ३ डिजिभन बनेपछि पासाङ मध्य, अनन्त पूर्व र जनार्दन शर्मा “प्रभाकर” पश्चिम डिभिजन कमान्डर तोकिए ।

२०६२ मा चुनबाङ बैठकले जनमुक्ति सेनाको संरचना ७ डिभिजनमा पुर्यायो । त्यसको सुप्रिम कमाण्डर अध्यक्ष प्रचण्ड आफै भए भने अनन्त, पासाङ, प्रभाकर र चन्द्रप्रकाश खनाल “बलदेव” डेपुटी कमान्डर तोकिए । शान्तिप्रक्रियापछि प्रचण्डले सुप्रिम कमान्डर छाडेपछि जनमुक्ति सेनाको प्रमुख पासाङ भए । माओवादीले सैन्य संरचना बनाएको सुरुदेखि अन्तिमसम्म पासाङ प्रमुख कमान्डर रहे ।

पासाङ नेतृत्वका प्रमुख सैन्य कारबाही
पासाङले आफ्नो नेतृत्वमा आक्रमण गर्दा सबै योजना आफै बनाउँथे । परिपक्व तयारी र हिम्मतसाथ लडाइँको नेतृत्व गर्ने उनको कुशल नेतृत्व शैली थियो । उनको नेतृत्वमा भएको कुनै पनि लडाइँ माओवादीले हारेन । २०५२ फागुन १ गते होलेरी आक्रमणमा सहकमान्डरबाट सुरु गरेको लडाइँपछि उनी प्रमुख कमान्डर भएर लडेका थिए । पश्चिम नेपालमा माओवादीले गरेको ठूलाठूला आक्रमण पासाङकै नेतृत्व, रक्की र योजनामा भएका थिए । प्रहरीमाथि होलेरी दोस्रो, जेलबाङ, घर्तीगाउँ, सल्यानको झिम्पे, जाजरकोटको लाहाँ, पाँचकटिया, रुकुमको महत, तकसेरा, रुकुमकोट पासाङकै नेतृत्वमा आक्रमण भएका थिए । पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कर्णालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका थिए । दाङको घोराही, अछामको मंगलसेन, अर्घाखाँचीको सन्धिखर्क, म्याग्दीको बेनी पासाङकै नेतृत्वमा कब्जा भएका थिए । रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाही सेनालाई पराजित गर्दा पनि पासाङ नै कमान्डर थिए ।

शान्तिप्रक्रियामा पासाङको भूमिका
माओवादी शान्तिप्रक्रियामा आएपछि त्यसलाई सहजतातर्फ लैजान पनि पासाङको महत्वपूर्ण भूमिका रहेको थियो । पासाङले आफू स्वयं र तत्कालीन जनमुक्ति सेनालाई संयम र जिम्मेवार बनाएर राखेका थिए । शान्ति प्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसंघ अन्तर्गतको जीएमसीसीको भाइस कमान्डर रहेर काम गर्दा उनी जर्मनी, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, नर्बे, बेल्जियम, चीन, भारत, बर्मा, थाइल्यान्ड लगायतका मुलुकमा पुगेर नेपालको शान्तिप्रक्रियाबारे जानकारी गराएका थिए ।

विदेश जान अस्वीकार
२०६९ जेठ १७ मा पासाङका दुबै मिर्गौला काम नलाग्ने भए । युद्धमा धेरैपटक मृत्युनजिक पुगेका पासाङ मिर्गौलाका कारण फेरि मृत्युको मुखनजिक पुगे । सरकार र पार्टीले उपचारका लागि विदेश पठाउन गरिएको प्रयासलाई पासाङले सिधै अस्वीकार गरे । नेपालीले जे सुविधा लिन्छन्, त्यही सुविधा आफूले लिने, नेपालमै उपचार गर्ने, मर्नुपरे नेपालमै मर्ने तर विदेश गएर उपचार नगर्ने भनी अस्पतालको सघन उपचार कक्षबाटै घोषणा गरे । चिकित्सकले पासाङको अवस्था “क्रिटिकल” भएको र दुबै मिर्गौलाले ८० प्रतिशत काम गर्न छाडेको बताएका थिए । उनको बलियो आत्मबलले गर्दा पासाङले रोगलाई पनि पराजित गरे । नेपालका अस्पताल र चिकित्सकप्रति आफ्नो पूर्ण विश्वास रहेको पासाङको दावी थियो ।

पासाङ दक्ष प्राविधिक पनि थिए । जनयुद्ध सुरु भएको वर्ष दिनपछि उनी आफैँले बार बोर बन्दुक बनाएका थिए । प्राविधिक विभाग प्रमुखको जिम्मेवारी लिएर थ्रीनटथ्री राइफल, कटुवा पेस्तोल, टु इन्च मोर्टार, ८१ एमएम मोर्टार सेल आफै बनाएका थिए पासाङले । त्यसबाहेक जनयुद्धमा माओवादीले बनाएको सैन्य संरचनाका लागि आवश्यक सैन्य पाठ्यक्रम पासाङले बनाएका थिए । उनले विभिन्न सैन्यविज्ञानका पुस्तक अध्ययन, आफ्नै अनुभवका आधारमा “आधारभूत सैन्य शिक्षा” पाठ्यक्रम तयार पारेका थिए । भाग १ देखि भाग ५ सम्मको सोही पाठ्यक्रमका आधारमा माओवादीले युद्ध लडेको थियो । उनका थुपै्र फुटकर गीत तथा कविता पनि छन् । “जनताहरू जाग्दै छन् जाग्दै छन्” उनले लेखेको चर्चित गीत हो । “हामी राता मान्छे”, “हुरीका सन्तान हौँ हामी” बोलका गीतहरु पनि युद्धकालमा चर्चित भएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि पासाङले लेखेको “इतिहासको रक्तिम पाइला” नामक पुस्तक नेपाली र अंग्रेजी भाषामा प्रकाशित भएका छन् ।

पासाङ मृत्युलाई पनि पटकपटक जितेर आएका इस्पातले बनेका मान्छे हुन् । चप्का मेलामा लठ्ठीकै भरमा प्रहरीलाई ढालेर भागेका पासाङको पाखुरामा प्रहरीको गोली लागेको थियो । २०५६ चैत २१ मा पासाङकै नेतृत्वमा लडाकु दलले रुकुमको तकसेरास्थित इलाका प्रहरी कार्यालयमाथि आक्रमण गर्दा प्रहरीको जवाफी फायरको गोली पासाङको आँखाछेउँबाट गएको थियो । त्यही बेलादेखि पासाङको एउटा आँखाले क्लिएर देख्न सक्दैन । रोल्पाको गाममा तत्कालीन शाही सेनाको व्यारेकमाथि २०६९ वैशाख २४ मा गर्दा पासाङ सहयोगीसहित व्यारेकतर्फ बढ्दै गर्दा प्लाटुन कमान्डर धर्मेन्द्रले उनलाई रोकी आफू अगाडि बढ्दा धर्मेन्द्रले शहादत प्राप्त गरेका थिए । त्यो गोली पासाङलाई लाग्ने थियो ।

आफ्नै मृत्युको खबर
जनयुद्धका क्रममा पासाङले धेरैपटक आफ्नो मृत्युको खबर आफैँले सुनेका थिए । मुत्युका केही खबर आफैले खण्डन गरेका पनि थिए । २०५९ वैशाख १९ मा रोल्पाको लिस्नेमा रहेको सैनिक क्याम्पमा तत्कालीन जनमुक्ति सेनाले आक्रमण गर्दा रेडियो नेपालले लिस्ने जंगलमा लुकेर बसेका माओवादीमाथि सुरक्षाफौजले घेराबन्दी गरी आक्रमण गर्दा ७ सय माओवादी मारिएको समाचार दिएको थियो । त्यो घेरामा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुनसक्ने शङ्का गरिएको भन्ने समाचार प्रसारण गरेको थियो ।

खुला राजनीतिमा ओझेल
जनयुद्धकालमा पासाङ जति चर्चामा थिए, शान्तिप्रक्रियामा आएपछि भने ओझेलमा परेका जस्ता देखिए । आफ्ना समकक्षीहरु सरकार तथा विभिन्न लाभका पदहरुमा आसीन रहँदा पासाङ भने खुला राजनीतिमा हराएका जस्तै देखिए । यहीक्रममा अचानक माओवादीले उनलाई उपराष्ट्रपति पदका लागि अगाडि सार्यो । २०७२ कार्तिक १४ गते भएको उपराष्ट्रपतिको निर्वाचनमा पासाङ पहिलोपटक विजयी भएका थिए । पासाङ आज निर्विरोध निर्वाचित भएको दोस्रो कार्यकालका लागि हो ।