गीतबाटै समाजसेवा, गीतमै उत्कृष्ट गीतकार






२०७४ चैत २० मंगलवार
NewsDesk Shikharnews

काठमाडौं, २० चैत । गीतकार पद्मा लिंखा मगर उत्कृष्ट गीतकार घोषित भएकी छिन् । रेडियो नेपालले आफ्नो ६८औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा उनी उत्कृष्ट गीतकार घोषित भएकी हुन् ।

अमेरिकामा तन भए पनि नेपाली कुनाकन्दरामा डुलिरहने उनको मन ६८ औं वार्षिक उत्सवको अवसरमा रेडियो नेपालले उनलाई उत्कृष्ट घोषित गरेपछि निकै खुशी भएको छ । लिंखा मगर नेपाली गीतिलेखनमा निकै सक्रिय छिन् । उनले लेखेको गीतमा सिडी विजय अधिकारीले स्वर दिएका छन् भने राजकुमार बगरको संगीत रहेको छ ।

गीतकार लिंखा मगरले खुशी प्रकट गर्दै गीतका संगीतकार, गायक र यो गीत बजारसम्म आइपुग्दा संलग्न सबैप्रति कृतज्ञता ज्ञापन गरेकी छन् । “यो छोटो यात्रामा मैले धेरै अग्रजहरूको औंला समातेर तातेताते गरें र गरिरहेकी छु । यसमा सीमित व्यक्तित्वको नाम लिंदा पक्कै पनि अन्याय हुन्छ । … यसैको उपज अहिले रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा उत्कृष्ट गीतकारको पुरस्कार मेरो पोल्टामा राखिदिनु भएको छ । जसको लागि सम्पूर्ण मेरा साहित्यिक र साङ्गीतिक गुरुहरू, शुभचिन्तक, आफन्तजनहरू, झुम्लावाङ भिलेज फाउण्डेशन परिवार, परिवारका सदस्यहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछु । यो सबैको श्रेय हजुरहरूलाई नै जान्छ । आज यो खुसीको दिनमा सबैलाई सम्झिरहेकी छु । हजुरहरूको यो न्यानो माया, साथ र आशीर्वाद सधैं पाइरहूँ ! जय गीत जय संगीत !”

गीतकार लिंखा मगरको गीतबाटै विजय अधिकारी उत्कृष्ट गायक घोषित भएका छन् । उत्कृष्ट संगीतकार भने सन्तोष श्रेष्ठ घोषित भएका छन् । गायनतर्फ योगेन्द्र उपाध्याय दोस्रो र मेलिना फुयाँल तेस्रो घोषित भएका छन् ।

गीतकार पद्माले “नजर” (गीति एल्वम (२०७०), “नजर– २ (गीतिएल्बम), “इन्द्रेनी” गीतिसङ्ग्रह र “उज्यालोको खोजी” गजलसङ्ग्रह बजारमा ल्याइसकेकी छन् । उनले २०७१ सालको पाँचौं विन्ध्यवासिनी अवार्डमा सर्वोत्कृष्ट महिला गीतकारको उपाधिसमेत हासिल गरिसकेकी छन् ।

गीतकार पद्माले रुकुममा झुम्लावाङ गाउँ संस्थापना गरी सामाजिक सेवामा सक्रिय छिन् । झुम्लावाङलाई नमूना गाउँ बनाउने उद्देश्यले उनले आफ्नो गीतिएल्बम “नजर”को एक वर्षको बिक्रीबाट जम्मा भएको ७ लाख १३ हजार रुपैयाँ झुम्लावाङ गाउँ संस्थापनालाई हस्तान्तरण गरेकी थिइन् । झुम्लावाड भिलेज फाउण्डेशनद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य कार्यक्रमका लागि सो रकम हस्तान्तरण गरेकी थिइन् ।