हाम्रो प्रतिस्पर्धा अखिल सङ्ग हुनेछ: सदस्यसचीव सौरभ भण्डारी






२०७४ चैत २३ शुक्रवार
Newsdesk Shikharnews

नेपाली राजनैतिक इतिहास लाई नियाल्दा बिगतका ऐतिहासिक आन्दोलन जतिपनी भए ती सबै विभिन्न राजनैतिक दल सम्बद्ध विद्यार्थी संगठनहरुको सक्रियता बाट मात्रै सफल भयो। १०४ वर्षिय राणाशासन, पञ्चायत पछि को बहुदलीय ब्यबस्था र गणतन्त्र स्थापना सम्मको घटनाक्रम लाई हेर्ने हो भने हरेक आन्दोलनमा विद्य    र्थी संगठन नै निर्णयक शक्ति हो भन्न कन्जुस्याइँ गर्नु हुदैन। तर गणतन्त्र स्थापना पछिका जतिपनी जनबिरोधि गतिविधि हुनेगरेका छन त्यसमा ती विद्यार्थी संगठनहरु निष्क्रिय जस्तै देखिएका छन ।

तर पन्चायतकालिन पृष्ठभुमि बोकेको अझै स्पष्ट भन्नुपर्दा गणतन्त्र बिरोधि शक्ति मानियका कमल थापा नेतृत्वका राप्रपा निकट विद्यार्थी संगठन भने कडा रुपमा प्रस्तुत संकेत देखाईरहेको छ । त्यसै क्रममा यहि चैत २८ र २९ गते रास्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रियभेला काठमाडौंमा हुदैछ। संगठन निर्माण ,राष्ट्रिय भेला र आगामी कार्यक्रमका विषयमा संगठनका सदस्यसचीव सौरभ भण्डारी सङ्ग शिखर न्युजको लागि बिस्नु फडेराले गरेकाे कुराकानी ।

१.चुनावी परिणाम पछि देशब्यापी राप्रपाका कर्याकर्ता निराश छन तर तपाईंहरु यहि बिचमा संगठन निर्माण र राष्ट्रिय भेलामा लाग्नुभएको छ कस्तो छ तयारी ?

चुनावी परिणाम सन्तोषजनक नभएतापनी हामी निराश भएका छैनौ ।हामिले चुनाव नजितेपनी हारेका छैनौ, हाम्रो बिचारले हारेको छैन। हार्यो त केवल संगठन निर्माणको शैली ले हार्यो। त्यसैले संगठन निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउदै छौ। राष्ट्रियभेला पनि यहि चैत २८ र २९ गते काठमाडौंमा भब्यताका साथ गर्ने तयारीलाई तिब्रताका साथ अगाडि बढाएका छौ। समग्रमा तयारी उत्साहजनक छ।

२. तपाईहरुको राष्ट्रियभेला बाट आम सर्वसाधारणले के अपेक्षा गर्न सक्छन ?

गणतन्त्र स्थापना पश्चात रास्ट्रीयता र जनजीविकाको सवालमा जतिपनी अप्रिय निर्णय भएका छन। त्यसको खबरदारी गर्नुपर्ने अवस्थामा ठुला भन्ने विद्यार्थी संगठनहरु निरीह देखिए। हुन त त्यसलाई हामिले अस्वभाविक मान्नुहुदैन नेबिसंघ,अखिल र क्रान्तिकारी नै गणतन्त्रका हिस्सेदार हुन भने सोही गणतन्त्रकै उपहार रास्ट्रघात र जनबिरोधी गतिविधि हो। मुख्यत राष्ट्रियता र जनजीविकाको सवालमा विद्यार्थी संगठनको जुन किसिमको भुमिका आम सर्बसाधरणले चाहेका छ्न त्यसमा हामिले कुनै पनि किसिमको कन्जुस्याइँ गर्ने छैनौ।

३. त्यो कसरी संभव देख्नुहुन्छ जब कि तपाइको विद्यार्थी संगठन अन्य विद्यार्थी संगठनको तुलनामा कमजोर देखिन्छ नि?

राजनीतिमा असंभव भन्ने केहिपनी हुदैन। यहि रास्ट्रीय भेलाबाट आउने नयाँ नेतृत्व मार्फत एक वर्ष भित्रमा सहजै संभव गराउछौ। हामीमा आत्माबिश्वास छ आगामी एक वर्ष भित्र संगठन निर्माणमा हाम्रो प्रतिस्पर्धा अहिलेको ठुलो भनिएको विद्यार्थी संगठन अखिल सङ्ग हुनेछ। अर्को कुरा राप्रबिसं लाई कमजोर देख्नु तपाईहरुको कमजोरी हो किनकी वास्तवमा राप्रबिसं कमजोर छैन। स्वबियु निर्वाचनलाई मध्यनजर गर्नुस अहिलेपनि हामी करिब आधा दर्जन स्वबियु सभापति र दर्जनौं पदाधिकारी सदस्यहरु निर्बाचित हुँदै विद्यार्थी संगठन माझ चौथो शक्ति हौं। स्वबियुमा अझैपनी हाम्रो उपस्थिती धेरै नै हुन्थ्यो तर बिडम्बना नै भन्नुपर्छ तत्कालीन अबस्थामा मातृपार्टी एकताको महाधिवेशनको मुखमा थियौं त्यसैले पार्टी नेतृत्वले पनि विद्यार्थी संगठन लाई साथ, सहयोग ,नीति र निर्देशन गर्न सकेन । विद्यार्थी नेतृत्व बिचमा पनि निर्वाचनमा जानेकी बहिष्कार गर्ने भन्नेमा विवाद देखियो त्यसले पनि अपेक्षित परिणाम आउन सकेन।

४. त्यतिबेलाको विवाद चाहिँ के थियो र?

दुई फरक बैचारिक धारका पर्टि एकता पश्चात् एकता महाधिवेशनको संघारमा हामी थियौं। तत्कालीन राप्रपा नेपाल स्पष्ट राजासहितको प्रजातन्त्रको पक्षधर पार्टी थियो भने तत्कालीन राप्रपा पुर्ण रुपले गणतन्त्र स्विकारिसकेको पार्टि थियो। त्यो जटिल परिस्थितिमा एकथरी विद्यार्थी साथिहरुले एजेन्डा टुङ्गो नलागेको अबस्थामा स्वबियुमा जानुहुदैन भनेर लाग्नुभयो भने हामी भने प्रजातन्त्रको सुन्दरता नै निर्वाचन हो। त्यसैले राजासहितको प्रजातन्त्रको महाधिवेशन मार्फत स्थापित गर्न आन्तरिकरुपमा दबाब दिदै स्वबियु निर्वाचनमा पनि यहि कुराको आधारमा जानुपर्छ भनेर हामी लाग्यौं मुख्यतः गणतान्त्रिक धार र प्रजातान्त्रिक धारको आन्तरिक प्रतिस्पर्धा नै तत्कालीन अबस्थामा विद्यार्थी माझमा देखिएको विवाद थियो।

५. तपाईंहरु पार्टीको एजेन्डामा मात्रै केन्द्रित हुनुहुन्छ, शैक्षिक क्षेत्रका छुट्टै मुद्दाहरु छैनन ?

अवस्य पनि हामी पार्टीको एजेन्डामा केन्द्रित छौ तर त्यतिमा मात्रै सिमित छैनौं। अब बिगतको जस्तो रहदैन। बिगतमा जस्तो ठुला संगठनको एजेन्डाको अन्तिममा हस्ताक्षर गर्नु हाम्रो उपलब्धि मान्न सकिदैन। अबको भेलाले आफ्नो स्पष्ट शैक्षिक एजेन्डा र रणनीति तय गर्नेछ।

६. कस्तो एजेन्डा तय हुन्छ ?

ठ्याक्कै यस्तै किसिमको एजेन्डा तय हुन्छ भनेर भन्न सकिन्न तर सामान्यतया शैक्षिक क्षेत्रका बिकृती र बिसंगती को विरुद्धमा शून्य सहनशीलता, सर्वसुलभ गुणस्तरीय र आत्मनिर्भर प्राबिधिक शिक्षा को निमित्त खवरदारी, राजनैतिक नियुक्ति मुक्त शैक्षिक क्षेत्रको निर्माण साथै रास्ट्रीयता र जनजिबिकाको सवालमा स्पष्ट एजेन्डा तय गर्नेछ।

७ अन्त्यमा केही भन्नु हुन्छ ?

राप्रबिसं सदस्यसचिव को हैसियतले सांगठनिक एबं राजनैतिक अवधारणा सार्वजनिक गर्ने अवसर दिनुभएकोका तपाईं र तपाईंको मिडिया प्रती आभारी छु। पाठकबृन्द मा रास्ट्र , रास्ट्रीयता र रास्ट्रीय अखण्डताको निमित्त सर्वधर्म समभाव पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु अधिराज्य नेपालको पुनर्स्थापनाको लागी एकतावद्द बनौ। फुटेर होइन जुटेर अगाडि बढौ भन्न चाहान्छु।