दुईदिन सार्वजनिक बिदा थपियाे !






२०७४ चैत ३० शुक्रवार
Newsdesk Shikharnews

अस्बिन खडका, ३० चैत ।  केन्द्र सरकारले कटौती गरेको सार्वजनिक बिदामा दुईदिन थप गरेको छ ।

बिहिवार बसेको १ नं प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले बिदासम्बन्धी निर्णय गरेको हो । थप बिदामा आदिवासी जनजाति दिवस र हिन्दूको चाड जनैपूर्णिमा रहेको छ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले छठ पर्वका दिन पनि प्रदेशभरि बिदा दिने निर्णय गरेको छ ।
केन्द्र सरकारले भने छठ मनाउने जिल्लाहरूमा मात्रै बिदा दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरणका विधेयक पनि पारित गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशको राजपत्र प्रकाशित गर्ने निर्णय पनि गरेको छ । उक्त राजपत्रमा सरकारको अध्यादेश, ऐनहरू, नियमावली र सूचना क्रमशः पहिलो, दोस्रो र तेस्रोमा प्रकाशित गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले जानकारी दिए ।