हेर्नुस्, कुन नेताका घरमा कति सुरक्षाकर्मी छन्!






२०७५ वैशाख १ शनिवार
Newsdesk Shikharnews

काठमाडौं : पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै घरमा मनपर्दी ढंगले दर्जनांै सुरक्षाकर्मी राखेका छन् । सरकारले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत हुने गरी पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मीलाई घरको सुरक्षामा राखेका हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

राज्यकोषबाट तलब सुविधा लिएर मुलुकको सुरक्षामा तैनाथ हुनुपर्ने सयांै सुरक्षाकर्मी पहँुच र शक्तिका आधारमा भीआईपीकहाँ बसिरहेका छन् । विगतमा सुरक्षा अवस्था गम्भीर हँुदा र सुरक्षा थ्रेट बढी हँुदा राखिएका सुरक्षाकर्मी अहिले सुरक्षा थ्रेट नहँुदा र राजनीतिक स्थिरतासहितको शान्ति कायम भइसक्दा पनि ठूलो संख्यामा भीआईपीकहाँ रहँदै आएका हुन् । कतिपयले सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेको गृह मन्त्रालय स्रोतको दाबी छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाहेक सबै पूर्वप्रधानमन्त्री, गृहमन्त्री र पूर्वपदाधिकारी तथा बहालवाला अधिकारीले पनि घरमा दर्जनौं सुरक्षाकर्मी राखेको गृह मन्त्रालयले जनाएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले हालै घरको सुरक्षामा रहेका सशस्त्र प्रहरीका सबै सुरक्षाकर्मी हटाएका छन् । यद्यपि, भट्टराईले सुरक्षाकर्र्मी फिर्ता गरेको औपचारिक जानकारी भने सशस्त्र मुख्यालयमा पुगेको छैन ।

प्रहरीका पूर्व तथा बहालवाला उच्च अधिकारीले पनि आफ्नो आवासमा दर्जनांै सुरक्षाकर्मी राखिरहेका छन् । प्रहरीका बहालवाला तथा पूर्वपदाधिकारीले आवासमा राखिएका सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेको गृहका अधिकारीको दाबी छ ।

कतिपय पूर्वगृहमन्त्रीले बहालवाला अवस्थामा प्रयोग गरेको प्रहरी पछुवा टोलीसमेत फिर्ता गरेका छैनन् ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत भीआईपीको घरमा राखिएका सबै सुरक्षाकर्मी फिर्ता गर्न जनपद र सशस्त्र प्रहरी मुख्यालयलाई शुक्रबार निर्देशन दिइएको जानकारी दिए ।

गृह मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा खटिएका छन् । देउवाको घरको सुरक्षार्थ सशस्त्र प्रहरीका २९ जना सुरक्षाकर्मी परिचालित छन् । यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमा १६ जना, झलनाथ खनालको घरमा १५, लोकेन्द्रबहादुर चन्दको घरमा १४, खिलराज रेग्मीको घरमा ९ जना सुरक्षाकर्मी कार्यरत छन् ।

यसैगरी, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरू वामदेव गौतमको घरमा २७, रामचन्द्र पौडेलको घरमा १३, कृष्ण सिटौलाको घरमा १५, विमलेन्द्र निधिको घरमा १६, पूर्णबहादुर खड्काको घरमा १३, नारायणकाजी       श्रेष्ठको आवासमा १२ र जनार्दन शर्माको आवासमा ११ जना सुरक्षाकर्मी तैनाथ छन् । यसैगरी, पूर्वअर्थमन्त्री रामशरण महतको घरमा १४, पूर्वशिक्षामन्त्री गोपालमान       श्रेष्ठको घरमा ९, पूर्वउपप्रधानमन्त्री कमल थापाको घरमा १४ र पूर्वमन्त्री प्रकाशमान सिंहको घरमा १५ जना सुरक्षाकर्मी खटिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सुवेदीले कार्यविधिविपरीत भीआईपीका घरमा सुरक्षाकर्मी खटिएकाले तत्काल फिर्ता गर्न दुवै प्रहरी मुख्यालयलाई निर्देशन दिइएको बताए । घरेलु कामदार बनाइएकालाई तत्काल फिर्ता गर्नसमेत कडा निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।