नेपालबारे मदन र माओको यस्तो बहस !




२०७५ वैशाख २ आइतवार
NewsDesk Shikharnews

निर्मल भट्टराई

(स्वर्गको थिएटर कक्ष । आज नेपाल सम्बन्धी बहस मञ्चन हुने भएकोले हल खचाखच भरिएको छ । दर्शक दीर्घामा सबैका आकर्षण थिए—कार्ल माक्र्स, एंगेल्स् । उनीहरु दर्शक दीर्घाको सबभन्दा अग्रपङ्क्तिमा उत्सुकतापूर्वक सम्बाद सुन्न बसेका थिए । माओ र मदन भण्डारीको वैचारिक बहस भएकाले सबैको चासो उच्च हुनु अस्वभाविक जस्तो लाग्छ । सदाझैं कपाल पछाडि कोरेर चिनिया औपचारिक पोसाकमा माओ देब्रेतिरको ढोकाबाट र भादगाउँले टोपी, दौरा सुरुवाल लगाएर मदन भण्डारी दाहिनेतिरको ढोकाबाट एकैपटक प्रवेश गर्छन् । दुबै जना हाँस्दै लामो समय हात मिलाएर फराकिलो स्टेजमा राखिएका कुर्सीमा बस्छन् । बहस चिनिया क्रान्ति र नेपाली क्रान्तिमा केन्द्रित हुन्छ । )

माओ : मदन कमरेड, कार्ल माक्र्स र फेडेरिक एङ्गेल्स् यही हुनुहुन्छ । उहाँहरुले प्रतिपादन भएको माक्र्सवादी सिद्धान्त हरेक देशको विशिष्ट परिस्थितिमा लागु गर्ने क्रममा चीनमा नौलो जनवादी कार्यक्रमको निर्माण भएको तपाईंलाई थाहै छ । कार्लमाक्र्सले सर्बहारा बर्गको अधिनायकत्व कायम गरेर समाजवाद हुदै साम्यवादसम्म पुग्न सकिन्छ भन्नुभएको थियो । (दर्शक दीर्घाबाट माक्र्सले दाह्री मुसारे) तर त्यतिवेला हाम्रो देश रुसजस्तो पूजीवादमा पुगिसकेको थिएन । मेरो देशमा सर्बहारा वर्गको अधिनायकत्वको ठाउँमा मजदुर र किसानको संयुक्त अधिनायकत्व संभव थियो । यो चीनको विशिष्ट परिस्थितिको जगमा सम्पन्न गरिएको क्रान्ति थियो ।

मदनः (विचैमा) कमरेड माओ, चिनिया क्रान्तिको प्रभाव संसार भर नै पर्यो । तर यसको सबभन्दा बढी प्रभाव नेपालमा पर्यो । तपाईंका विचार, उद्धरण र फोटो भएको रातो किताव पढेर कम्युनिष्ट हुने लहरै चल्यो नेपालमा । म पनि निकै प्रभावित थिएं । चीनमा तपाईंले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा कुनै देश अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको बेला कस्तो राज्य सत्ता कायम गरिएमा देश पुजीबाद वा पूजीबादबाट साम्राज्यबाद तर्फ जानुको सट्टा समाजबाद तर्फ डोहोर्याउन सकिन्छ भन्ने विचार अघि सार्नुभयो । त्यो बिचार चीनमा त सफलतापूर्वक लागू भयो तर त्यही रुपमा अन्यत्र कहीं लागू भएन । चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भए लगत्तै कमरेड पुष्पलालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले नेपाल पनि चीन जस्तै अर्ध औपनिवेशिक र अर्ध सामन्ती अवस्थामा रहेको र यहाँ नौलो जनबादी क्रान्ति आवश्यक भएको निष्कर्ष निकालेको थियो । र, सोही बमोजिमको कार्यनीति तय गरेको थियो । झापा विद्रोह हुदै पार्टी बनेको हाम्रो पार्टी नेकपा(माले)ले झण्डै एक दशक नौलो जनबाद प्राप्तिका लागि सशस्त्र संघर्ष बाटो तय गरेको थियो । तर, हामी निरन्तर बहस गर्दै आयौं । चिनिया क्रान्तिको मोडल हुबहु नेपालमा लागू हुन सक्छ कि सक्दैन भन्नेमा लामो बहस चल्यो । नब्बेको दशकको अन्तराष्टिय परिस्थिति, देशको धरातलीय यथार्थ र जनताको चेतनामा आएको परिवर्तनलाई समेत मध्यनजर राखेर मेरो अगुवाईमा हाम्रो पार्टीले जनताको बहुदलीय जनवादलाई आफ्नो पार्टीको कार्यक्रमको रुपमा अगाडि सार्यो ।

माओ : ( प्रश्नवाचक मुद्रामा माक्र्स एङ्गेल्स्तिर फर्कन्छन् र मदनतिर फर्कन्छन् ) अलि प्रष्ट पार्नुहोस् न ।
मदन : हाम्रो निष्कर्ष के हो भने संविधानको परिभाषाभित्र राज्य र त्यसका राजकीय निकायहरु सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटामात्र राजनीतिक पार्टीको एकाधिकार हुन सक्दैन । अझ राज्यको बल प्रयोग गरेर एउटामात्र पार्टीको एकाधिकार कायम गर्न खोज्नु अत्यन्त गैरजनवादी कुरा हो । वर्गीय विविधता रहेको समाजमा अनेक राजनीतिक पार्टीहरु स्वभाविक रुपमा हुन्छन् । नागरिकहरुको मौलिक अधिकारमा बन्देज नगर्ने हो भने स्वभाविक रुपमा राजनीतिक चिन्तनमा विविधता पैदा हुन सक्छन् । अझ कम्युनिष्ट पार्टी सर्वहारा—श्रमजीवी वर्गको पार्टी हो र यो सम्पूर्ण वर्गको पार्टी हुन सक्दैन । यो माक्र्सवादी—लेनीवादी विचार प्रणालीलाई मार्गदर्शक मान्ने पार्टी हो र सर्वहारा—श्रमजीवी वर्गभित्र पनि अन्य विचार प्रणालीप्रति विश्वास गर्ने व्यक्ति हुन सक्छन् वा रणनीति, कार्यनीतिमा भिन्न मतावलम्बी हुन सक्छन् । यस्तो स्थितिमा एउटामात्र पार्टीको एकछत्र अधिकार संवैधानिक रुपमा र राज्यको बलसमेत प्रयोग गरेर कायम गर्न खोज्नु एकप्रकारको निरङ्कुशता र तानाशाही हो । त्यसकारण हामीले राजनीतिमा जनताको निर्णायक भूमिका स्थापित गर्न बहुदलीय प्रतिस्पर्धाको प्रणाली कायम गर्न चाहन्छौं । जनादेश प्राप्त पार्टी र व्यक्तिहरुले राजकीय अधिकार प्रयोग गरी चलाउनु पर्छ भन्ने पक्षमा छौं ।
( आफ्नो जीवनमा प्रयोग नभएर हुन सक्छ, बहुदलीय प्रतिस्पर्धा, जनादेशजस्ता शब्दावलीलाई माओले त्यति मन पराउदैनन् । बरु माक्र्स र एङ्गेल्स्चाहिं मुखामुख पछि “परिस्थिति अनुसार ठीकै हो” भन्ने भाव प्रकट गर्छन् । )

माओः तर कमरेड प्रचण्डले त….
मदनः हो, कमरेड प्रचण्ड हाम्रो विचार निर्माणको यो प्रक्रियासंग सहमत हुनुहुन्थेन । हामीलाई उहाँले सारसङ्ग्रहवादी भनेर आरोपित गर्नु हुन्थ्यो । उहाँले त्यही ताका “नेपाली क्रान्तिका समस्या र दृष्टिकोणको प्रश्न”भन्ने एक दश्तावेजमा “नेपाली क्रान्तिको चरित्र सामन्तबाद–साम्राज्यबाद विरोधी अर्थात् नयाँ जनबादी हुन्छ” भन्नु भएको थियो । त्यतिबेलै उहाँ माओवादलाई सैद्धान्तिक बटमलाईन बनाएर तपाईंको नेतृत्वमा चीनमा भएजस्तो दीर्घकालीन जनयुद्धको तयारीमा हुनुहुन्थ्यो । षणयन्त्रपूर्वक मलाई त्रिशुलीमा खसाईएको २ बर्षपछि जनयुद्ध शुरु भयो उहाँकै नेतृत्वमा । सो बलिदानी विद्रोहले पनि नेपालमा थुप्रै परिवर्तन ल्यायो, सामन्तवादी सत्तालाई समूल नष्ट गर्न महत्वपूर्ण भूमिका खेल्यो तर चीनमा भएको जस्तो प्रकारको नयाँ जनवादी क्रान्ति नेपालमा सम्पन्न हुन सकेन । बरु मैले माथि भनेझैं बहुदलीय जनवादी चरित्र बोकेको सत्ता नेपालमा कायम भएको छ अहिले । अहिले नेपालबाट अर्को खुसीको कुरा आएको छ । तत्कालीन झापा विद्रोहका नायक नेकपा(एमाले)का अध्यक्ष के पि ओली र दशबर्षे जनयुद्धका नायक कमरेड प्रचण्डले समाजवादतर्फ शान्तिपूर्ण फड्को मार्ने लक्ष राखेर केही दिनमा पार्टी एकता गर्दैछन् । त्यसको अन्तिम तयारी चलिरहेछ । निर्वाचनमा श्रेष्ठता हासिल गरेर सत्ता चलाउने नेकपा(एमाले)को नीतिबमोजिम केन्द्रदेखि स्थानीय तहसम्म कम्तिमा पाँचबर्ष सत्ता सञ्चालन गर्न जनादेश पाई सकेका छन् । (माओ मदनलाई बधाई दिन उठछन् लामो समयसम्म हात मिलाएर दर्शकतर्फ हाँस्तै हेरिरहन्छन् । गड्गडाहट ताली बजिरहन्छ । माक्र्स र एङ्गेल्स् सबभन्दा बढी समय ताली बजाइरहन्छन्)

माओ : एक देशको क्रान्तिको अनुभव अर्को देशमा हुबहु अनुकरण हुन सक्दो रहेनछ भन्ने कुरामा त म शुरुदेखि नै प्रष्ट छु । न रुसी क्रान्तिको अनुभव चीनमा हुबहु लागू भयो न चीनको अन्य देशमा । त्यहीकारण चीनको विशिष्ठतामा जन्मिएको नौलो जनवाद तपाईहरुले भगिरथ प्रयत्न गर्दा पनि नेपालमा प्रयोग गर्न सक्नु भएन । नेपालको क्रान्ति नेपालकै विशेषतामा आधारित भएर सन्पन्न भयो । त्यहाँ तपाईहरुलाई जनताको बहुदलीय जनवाद नै चाहियो । फेरि समय यस्तो बलवान रहेछ, यसले सबै कुरामा परिवर्तन ल्याई दिदो रहेछ । (सुस्केरा हाल्दै माक्र्सतिर फर्केर) आईस्टाइनले “परिवर्तन भन्ने शब्दबाहेक संसारको हरेक चिज परिवर्तशील छ” भन्थे । आखिर त्यही रहेछ । हाम्रो विगतको बुझाईमा संशोधन गर्नु पर्ने भएछ । माक्र्सले “सर्वहारा” को जे परिभाषा गर्नु भो, मैले मेरो समयमा चिनिया समाजको जसरी वर्ग विश्लेषण गरें ती अब अपुग भएजस्तो भईसक्यो । त्यति बेला, व्यक्तिको भूमिमाथिको अधिकार र उद्योग कलकारखाना माथिको स्वामित्वलाई प्रमुख रुपमा हेरिन्थ्यो भने अहिले व्यक्तिको प्रविधि र सीपको पहुँच, जग्गा जमिन र उद्योग धन्दा माथिको उसको स्वामित्व भन्दा प्रभावशाली र मूल्यवान हुँदै आएको छ । गुगल, फेसबुक, ट्वीटर आदिका संचालकहरुले संसारमा पार्ने प्रभाव र कमाउन सक्ने आर्थिक लाभ हजारौं एकड जमिन वा विश्वका ठूल्ठूला उद्योग धन्दाले प्राप्त गर्ने मुनाफा भन्दा कम छैन । उत्पादनका साधन माथिको स्वामित्व नभएको व्यक्तिलाई कार्ल माक्र्सले सर्वहारा भनेर परिभाषा गर्नुभयो तर अहिले उल्लेखित सीप र सूचना भएमा त्यो “सर्वहारा” छोटो अवधिमै विश्वको सबभन्दा धनी मानिस हुन बेर लाग्दैन । यसले वर्गीय संरचनामा समेत व्यापक परिवर्तन ल्याईसकेछ । (माओ पुनः मदनतिर फर्कन्छन्) मेरो देशले त महान फड्को मारिसकेको छ । अब तपाईको देशचाहिं अब कसरी अगाडि बढ्ला त ?

मदनः चुनौतिहरु त छन् तर पार्टी एकता भएर स्थीर सरकार बनाउने, तीब्र आर्थिक समृद्धि गर्ने र समाजवादको आधार तयार पार्ने काममा कमरेडहरु लाग्छन् भन्ने नै मेरो ठम्याई हो । विचारमा मात्र होईन, समकालीन नेपाली राजनीतिका दिग्गज खेलाडि के पि ओली र प्रचण्डले यो विषय झन गहिराईमा बुझेका छन् । (एङ्गेल्स्तिर फर्केर) उहाँले कुनैबेला “क्रान्तिको बाटो के हुनेछ ?” भन्ने प्रश्नमा “खासगरी, यसले पहिले लोकतान्त्रिक संविधान बनाउनेछ र त्यसैको माध्यमद्वारा सर्वहारा —श्रमजीवी वर्गको प्रभुत्व बढाउदै लग्नेछ ।” भन्ने उत्तर दिनुभएको थियो । नेपालको सन्दर्भमा पनि लागू होला । समाजवाद निर्माणमा पनि यही कुरा लागू हुने पक्का छ । (एङ्गेल्स् बुढी औंला देखाएर मुस्कुराउछन् )
(आजको बहस सकिएको घण्टी बज्छ । सबैको चासो नेपालमै छ । मदनको तर्क सुनेर माक्र्स एङ्गेल्स् लगायत सबै सन्तुष्ट देखिन्छन् ।)