सुकुटेबाट ४ एजेण्डा लिएर प्रचण्ड सिधै बालुवाटारमा




२०७५ वैशाख ३ सोमवार
Newsdesk Shikharnews

काठमाडाै, ३ वैशाख । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह हुने गरी पार्टी स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन्।

पार्टी एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग हुने कुराकानी मध्यनजर गर्दै ओलीले एमाले स्थायी समिति बैठक बोलाएका हुन्।

ओली र प्रचण्डबीच  प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकताका विषयमा कुराकानी हुँदैछ। ओलीसँगको बैठकका लागि प्रचण्ड सिन्धुपाल्चोकबाट फर्किसकेका छन्।

स्रोतका भनाईमा, ओली–प्रचण्डबीच हुने सहमतिका आधारमा एमाले स्थायी समितिमा छलफल र आवस्यक निर्णय हुनेछ।

दुबै पार्टी एकताको संघारमा भएपनि जनयुद्ध, पदीय बाँडफाँट र चुनाव चिन्हका विषयमा अझै कुरा मिल्न सकेको छैन। दुबै पक्ष आआफ्नो अडानमा कायम छन्।

जानकारी अनुसार प्रचण्डले एकताबारे चार वटा एजेण्डा लिएर त्यहाँबाट हिँडेका छन् । जस अनुसार सम्मानजनक एकता, कार्यकारी अधिकारसहितको अध्यक्ष, ओलोपालो प्रणालीमा प्रधानमन्त्री, दुई चार जना केन्द्रिय समिति तलमाथि भएपनि वडादेखि केन्द्रसम्म ५०/५० र सुर्य चिन्हभित्र हँसिया हथौडा हाल्नैपर्ने रहेका छन् । त्यस्तै एकीकृत पार्टीको सैद्धान्तिक विचार जबज र २१ औं जनवादलाई महाधिवेशनबाट टुँग्याउने पनि प्रचण्डको अडान रहेको छ ।

एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा आज फेरि छलफलमा जुट्दैछन् ।

एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन । आजको बैठकमा प्रचण्डले एकताबारे फाईनल कुरा गर्ने मनशाय बनाएको  जानकारीमा अाएकाे छ ।