गृहमन्त्री ले ५० दिनमा गरेका ५० कार्यको विवरण सार्वजनिक




२०७५ वैशाख ३ सोमवार
Newsdesk Shikharnews

गृह मन्त्रालयले सशस्त्र द्वन्द्वको क्रममा सहिद, बेपत्ता भएकाहरुको परिवार र घाइतेहरुको माग सम्बोधन गर्ने उद्देश्यले पहिलो पटक एक शाखा स्थापना गरेको छ।

उपसचिवको नेतृत्वमा शान्ति प्रवर्द्धन शाखा स्थापना गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयले सोमबार गृहमन्त्री रामबहादुर थापा बादलले ५० दिनमा गरेका ५० कार्यको विवरण सार्वजनिक गरेको हो।

सो विवरणअनुसार द्वन्द्वको क्रममा सहिद, बेपत्ता भएकाहरुको परिवार र घाइतेहरुको माग सम्बोधन गर्न शान्ति प्रवर्द्धन शाखा स्थापना गरेर कार्यसञ्चालन अघि बढाइएको जनाइएको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले यसैसम्बन्धी काम गरिरहेका समयमा यो शाखाले पनि उस्तै प्रकृतिको कार्य सञ्चालन गर्दा विवाद उत्पन्न हुनसक्ने देखिएको छ।

गृहले शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज भएपछि देशभर रहेका शान्ति समितिहरुको सम्पर्क केन्द्र र बाँकी शान्तिप्रक्रियालाई सघाउ पुर्‍याउन शाखा गठन गरिएको जनाएको छ।

मन्त्रीका प्रेस संयोजक किरण भट्टराईले सिंगो शान्ति मन्त्रालय गृहमा गाभिएपछि सो मन्त्रालयको कामकार्वाही यही शाखामार्फत् भइरहेको जानकारी दिए।

Home-Ministry-3