वैशाख ९मै ​पार्टी एकता गर्न एमाले स्थायी कमिटीको जोड




२०७५ वैशाख ४ मंगलवार
Newsdesk Shikharnews

काठमाडौ, ४ वैशाख । नेकपा(एमाले) को  स्थायी कमिटीको बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस (वैशाख ९) मा एकता गर्नु पर्नेमा नेताहरुको जोड रहेको थियो ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताएका छन ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली दिनभर अन्य कार्यक्रम स्थगन गरी एकता प्रक्रिया सम्बन्धी छलफलमा जुटेका थिए । प्रधानमन्त्री ओलीले साेमवार बिहान केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

दुई दलबीचको एकता संयोजन समितिको बैठक मंगलबार बिहान बस्ने र बैठकले संयोजन समितिले प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रियाका बारेमा निर्णय गर्ने बुझिएको छ ।