​यस्तो छ पार्टी एकताको मार्गचित्र






२०७५ वैशाख ४ मंगलवार
Newsdesk Shikharnews

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार पार्टी एकताका बारेमा महत्वपूर्ण छलफल सम्पन्न  भएको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणलगत्तै हुने भनिएको दुई नेताको बैठक करिब एक सातापछि सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको हो । दुई अध्यक्षबीचको यो भेटसंगै पार्टी एकताको मार्गचित्र थप मूर्त बनेको छ । पार्टी एकता मोडालिटी टुंगो लगाउन मंगलबार बिहान ९ बजे एकता संयोजन समितिको बैठक चल्दैछ । दुवै दलका नेताले आगामी वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

पार्टी एकताका लागि बनेका दुईवटा कार्यदलले आफ्ना प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाइसकेका छन् । ती कार्यदलले एकताको मोडालिटीसहित संगठनको ढांचा समेत सिफारिस गरेका छन् ।

संयोजन समिति पनि दुई पार्टीबीच सांगठनिक व्यवस्थापनका बारेमा टुंगो लगाउन निर्णायक चरणमा छ । जनयुद्ध शब्दलाई प्रस्तावनामा राख्ने कि नराख्ने भन्ने निर्णय भइसकेको छैन भने निर्वाचन चिन्हका बारेमा कुनै विवाद छैन । तर, प्रचण्डको ढुलमुले चरित्रले बाहिर शंका गर्ने वातावरण बनाएको छ । एकतापछि आफ्नो हैसियत के हुने ?सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा ओलीले के गर्लान् ? अथवा पार्टी एकता भइसकेपछिको आफ्नो भविष्य के होला जस्तो कुराले प्रचण्डलाई एकतामा जान झस्क्याइरहेको हल्लामा बजारमा प्रसस्तै सुनिन्छ । तर, पनि निर्वाचनमा गरिएको प्रतिबद्धता पूरा गर्न पनि एकतामा जान प्रचण्ड बाध्य भएका छन् ।

पार्टीभित्र नेतृत्व र व्यक्तित्व व्यवस्थापनको विषयमा टुंगो लगाउन भने कार्यदलले दुई नेतालाई जिम्मेवारी दिएको छ । माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा ५०/५० प्रतिशतका आधारमा एकता हुनुपर्ने भन्दै सार्वजनिक रुपमा बताए पनि आन्तरिक बैठकमा एकताका लागि लचकताका साथ प्रस्तुत भएको स्रोतको भनाइ छ ।

पछिल्लो जनमत एवं निर्वाचन परिणाम, नेतृत्व, व्यक्तित्व र निर्वाचनपूर्व दुवै दलबीच भएको सहमतिका आधारमा एकता प्रक्रिया टुंग्याउन दुवै नेता सहमत छन् । प्रचण्डलाई एकताबाट पछि हट्न बाध्य पार्ने र एकता भा“ड्ने उद्देश्यले विभिन्न पक्षबाट कार्यकर्तालाई भड्काउने खालका अभिव्यक्ति आएकोप्रति माओवादी नेतृत्व सचेत छ । किनभने, माओवादीलाई एमालेमा विलय गराएको आरोप लगाएर प्रचण्डमाथि प्रहार गर्ने नियोजित प्रयासमा माओवादीबाटै चोइटिएका विप्लवदेखि अन्तर्राष्ट्रिय शक्तिहरुसम्म लागिपरेका छन् ।

एमाले र माओवादीजस्ता दुई ठूला शक्ति एक भएपछि आफ्नो राजनीतिक हैसियत समाप्त हुने भयले नेपाली कांग्रेस लगायत स्वदेश र विदेशका धेरै शक्तिहरु अत्तालिएका छन् । ओली र प्रचण्ड एक ठाउ“मा उभि“दा नेपालको राष्ट्रिय व्यक्तित्व स्वतन्त्र रुपमा माथि उठेको छ र अन्तर्राष्ट्रिय शक्तिहरुले हस्तक्षेप गर्न पाएका छैनन् । तसर्थ, एमाले माओवादी एकताबाट ती शक्तिहरुको भूमिका नेपालमा कमजोर हुनेछ । फुटाउ र राज गर भन्ने पुरानो सूत्रअनुसार नेपालका कम्युनिस्टहरुबीच विभाजन सिर्जना गरेर राष्ट्रियतालाई नै कमजोर बनाउन चाहने शक्तिहरु यतिखेर ससाना विवाद र प्राविधिक अलमललाई देखाएर पार्टीको एकता नै हुन सक्दैन, गरे पनि त्यो एमालेमा माओवादीको विलय हो भनेर भड्कावपूर्ण धारणाको खेतीमा लागेका छन् ।

संसदका दुई ठूला शक्ति एमाले र माओवादी एक भएमा मुलुकले स्थायित्व प्राप्त गर्ने छ । अस्थिरतामा आफ्नो भूमिका र भविष्य खोज्नेहरुका निम्ति एकताको मार्गचित्र प्रीतिकर छैन । गएको आम निर्वाचनमा कम्युनिस्टलाई भोट दिएमा २० वर्षसम्म कम्युनिस्ट शासन झेल्नुपर्छ भन्दै चेतावनीको भाषा बोल्नेहरु अहिले तानाशाही भएको भन्दै गीत गाउन भ्याई नभ्याई छ ।

दुई ठूला दलको एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको बलियो सरकारले ससाना स्वार्थ समूहका झुण्डहरुको बिचौलियागिरी समेत बन्द गरिदिनेछ । अस्थिर राजनीतिका यस्ता धन्दावालहरु आफ्नो उद्यम समाप्त हुने भयले अनेक तरहले एकता भाड्न लागिपरे पनि यो प्रक्रिया अब कुनै हालतमा नबिथोलिने गरी प्रस्ट सन्देश दिन ओली र प्रचण्ड समर्थ भएका छन् । र, आगामी ९ वैशाखमै पार्टी एकता घोषणा हुने गरी तयारी अघि बढाउन नेतृत्व पंक्ति प्रतिबद्ध रहेको सन्देश दुवै नेताले सोमबारको बैठकमार्फत दिएका छन् ।

दुई शीर्ष नेताबीचको भेटघाट लगत्तै दुवै दलमा पार्टी एकताकै बारेमा आन्तरिक छलफल समेत भएको छ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले हालसम्म भएको प्रगतिबारे ब्रिफिङ गर्दै आगामी मार्गचित्रबारे प्रस्ट पारेका छन् । पार्टीका अन्य नेताहरुले समेत पार्टी एकता तोकिएकै तिथिमा घोषणा गर्न र अहिले बाहिर व्यक्त भएका आशंका सम्बोधन गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष ओलीले आफू त्यसप्रति गम्भीर रहेको र सुझबुझपूर्ण तरिकाले अघि बढ्ने वचन समेत नेताहरुलाई दिएका छन् ।