महालेखापरीक्षकको प्रतिवेदनमाथि बौंद्धनाथ क्षेत्र विकास समितिको आपत्ति




२०७५ वैशाख ४ मंगलवार
Newsdesk Shikharnews

काठमाडौ, ४ वैशाख । काठमाडौको बौंद्धस्थित बौद्ध महास्तुपमा बढी सुन प्रयोग भएको भन्दै यतिबेला विभिन्न टिकाटिप्पणी शुरु भएको छ । विनाशकारी भूकम्पबाट ध्वस्त पुरातात्विक संरचनाको निर्माणमा ढिलाई भइरहेका बेला यो स्तुप भने समयमै निर्माण सम्पन्न भएको हो ।

महालेखा परीक्षकको कार्यालयले विश्व सम्पदा सूचीमा सूचीकृत बौंद्धस्थित पुनर्निर्मित बौंद्ध महास्तुपमा बढि सुन प्रयोग गरिएको तथ्यांक सार्वजनिक गरेपछि यो विषयले थप चर्चा पाएको छ । बौद्ध महास्तुप पुर्ननिर्माण गर्दा ८ करोड ८८ लाख रुपैयाँ बराबरको १६ किलो ४२० ग्राम बढी सुन खपत भएको देखाइएको भन्दै छानबिन गर्न महालेखा परीक्षकले सुझाएको छ । तर बौंद्धनाथ क्षेत्र विकास समितिले भने महास्तुपमा सुन लगाउनको लागि पुरातत्व विभागसँग २७ दशमलव ३८ केजी सुनको स्वीकृत पाएको थियो ।

बौंद्धनाथ क्षेत्र विकास समितिका तत्कालिन अध्यक्ष सम्पूर्ण कुमार लामाले काम गर्दै जाँदा अनुमानित गरिएको सुनले नपुगेपछि ४ केजी थप भएको बताएका छन् । ‘हामी एक्लैले यो काम गरेका होइनौं । हाम्रो साथमा स्थानियबासी, प्रहरी, सरोकारवाला निकायका पदाधिकारीको रोहवरमा स्तुपमा सुन लगाउने कार्य भएको छ ।’ उनले भने, ‘महालेखाले भनेजस्तो कनै भ्रष्टाचार भएको छैन् । हामीले ३१ केजी सुन स्तुपमा प्रयोग गरेका छौं ।’

बौद्ध महास्तुप पुनर्निर्माणको मुख्य वस्तुको रुपमा रहेको हर्मिका, त्रयोदश भूवन, छत्रको सेट तथा गजुरसमेतको ५ हजार ५८६ वर्गफिटमा प्रतिवर्गफिट आधा तोला सुन प्रयोग गर्न सुनको मूल्य १४ हजार ७२३ का दरले कुल ८ करोड २२ लाख ५३ हजार रुपैयाँको लागत अनुमान विभागको नम्र्स प्रयोग नगरी स्वीकृत गरेको प्रतिवेदनमा उल्लेख छ ।

बौंद्धनाथ क्षेत्र विकास समितिको तत्कालीन समितिले आफूले सिधै सुन खरिद नगरी सुनको सबै जिम्मा पल्पुङ शेराब्लिङ मोनास्टिक सिटलाई लिखित रुपमा जिम्मा दिएको थियो । सोही अनुरुप समितिमा दान गरेको र दाताले गुरुलाई उपलब्ध गराएको कुल ५ केजी र अनुयायीबाट प्राप्त भएको २६ केजी गरी ३१ केजी सुन संस्थामार्फत महास्तुपमा प्रयोग भएको तत्कालिन अध्यक्ष लामा बताउँछन् ।

लामाले उपत्यकाभित्रका केही स्तुपका गजुरमा पातलो सुन प्रयोग गर्दा ३÷४ महिनामै कालो भएको उदाहरण दिदै त्यस्तो घटना बौद्ध महास्तुपमा नघटोस् भन्दै गजुरहरुमा बाक्लो सुन प्रयोग गरिएको बताए । ‘हामीले पुरातत्व विभागबाट स्वीकृत भएको सुनभन्दा ४ केजीमात्रै बढि प्रयोग गरेका छौं ।’ लामाले भने, ‘भ्रष्टाचार भयो की भन्ने भ्रममा पर्नुपर्देन् । स्थानियको माग र रोहबरमा टिकाउ र भरपर्दो काम गरेका छौं ।’