प्रधानमन्त्रीले सांसदमा गरे गल्ती स्वीकार !




२०७५ वैशाख ३० आइतवार
Newsdesk Shikharnews

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला राष्ट्रिय मर्यादा तथा कूटनीतिक मर्यादा विपरित काम भएको स्वीकार गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण बारे संसदलाई जानकारी गराउने क्रममा आइतबार प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को जनकपुरमा मोदीको नागरिक अभिनन्दनका बेला राष्ट्रिय मर्यादा र कूटनीतिक मर्यादाको कसीमा नअटाउने गरी केही कमीकमजोरी भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले त्यो गतिविधि अनुपयुक्त रहेको बताए । तर देशको परराष्ट्र नीति केन्द्र सरकारको परराष्ट्र मन्त्रालयले हेर्ने र त्यहाँ व्यक्त भएको धारणा सरकारको आधिकारिक धारणा नरहेको बताए ।

परराष्ट्र नीतिबारे सरकारको धारणा स्पष्ट रहेको ओलीले बताए । तर जनकपुरमा त्यहाँका नागरिकको उत्साह भने देखिएको संसदमा बताए ।

प्रधानमन्त्री ओलीले तीन वर्षअघि भारतले गरेको नाकाबन्दी र त्यसको प्रभावबारे मोदीले माफी माग्नु पर्ने भनि विभिन्न पक्षबाट आएका कुराबारे आफू जानकार रहेको संकेत गरे ।

उनले भने, ‘मोदी जीको भ्रमण अघि र भ्रमणको क्रममा पनि फेरि गल्ती नहोस् भनेर झकझक्याउने काम भयो । देश भक्ति र सजगतालाई प्रशंसा गर्न चाहन्छु । नेपाली जनताले सरकारलाई गल्ती नहोस भनेर झकझकम्याइ रहे । चुक्ने काम नहोस् । विगतका कमीहरु सच्याउने काम होस् । यस्तो समस्या छन् भनेर खबरदारी गरे ।’

मिडिया, बुद्धिजीवि र आमा नागरिकले पनि चासो दिएको ओलीको भनाई छ । ती सबैलाई सकारात्मक रुपमा लिएको उनले बताए । दुई देशबिचको सम्बन्ध स्वतन्त्रता र सहकार्यका रुपमा अघि बढाउनु पर्नेमा आफूहरु सचेत रहेको प्रधानमन्त्री ओलीले बताए ।

Loading…