जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की

२०७५ जेठ २ बुधवार
Newsdesk Shikharnews

धनुषा, २ जेठ- जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्ने क्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिप्रति प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ ।

मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा एमाले, काँग्रेस, माओवादी केन्द्रका प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका छन् भने मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले बचाउ गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरुको संघर्ष जारी रहेको अभिव्यक्ति दिएका थिए ।

बैठकमा संघीय समाजवादी फोरमका रामआशिष यादवले मुख्यमन्त्रीले प्रदेशको गरिमा र जनताको भावनाअनुसार बोलेको भन्दै यसमा टीका टिप्पणी नगर्न आग्रह गरेका थिए । उनले मुख्यमन्त्रीको भनाइप्रति भइरहेको टीका टिप्पणी तर्कसंगत नरहेको बताए ।

राजपा नेपालकी डिम्पलकुमारी झाले मुख्यमन्त्रीको अभिव्यक्ति प्रदेश २ को जनताको पक्षमा रहेको बताउँदै यसप्रति टाउको नदुखाउन केन्द्र सरकारलाई आपत्ति जनाइन् ।

काँग्रेसका शिवचन्द्र चौधरीले मुख्यमन्त्री राउतको अभिव्यक्ति राष्ट्र हीतमा नभएको बताउँदै “गाजल आँखामा लगाउँदा राम्रो देखिन्छ, त्यही गाजल अनुहारमा लगायो भने कालोमोसो हुन्छ,” भन्ने उत्तर दिए । प्रदेशको समस्या विदेशी पाहुनाको अगाडि राख्नु कतिको उचित हो भनेर प्रश्न गरेका थिए । काँग्रेसकै शोभा लामाले सार्वजनिक पद धारण गरेका व्यक्तिले अभिव्यक्ति दिदाँ राष्ट्र हीतमा दिनुपर्नेमा जोड दिए ।

एमालेकी मञ्जु यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा राष्ट्रिय गान किन नबजाएको भनेर प्रश्न गरिन् । “भारतीय प्रधानमन्त्री मोदीको यो औपचारिक कार्यक्रम थियो, त्यसमा राष्ट्रिय गान किन बजाइएन, यो कस्को गल्ती हो?” उनको प्रश्न थियो ।
बैठकमा सदस्यहरुले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणबारे प्रदेशसभामा जानकारी नगराएकोमा सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

मोदीको भ्रमण तयारी, स्वागत र सत्कारमा लागेको खर्चको हिसाब बुझाउन माग गर्दै उनीहरुले भ्रमणका बेला भएका खर्चको यथार्थ विवरण बुझाउन सरकारसँग माग गरेका छन् ।

managed wordpress hosting