अरुको मुख ताकेर र दोष दिएर उम्कने होइन: प्रधानमन्त्री ओली




२०७५ जेठ २ बुधवार
Newsdesk Shikharnews

काठमाडौं २ जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तिव्र विकास गर्न चाहेको बताएका छन् ।
प्रदेश २ का सांसदहरुको सर्वदलीय डेलिगेसनलाई बालुवटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै मिलेर देश विकासमा जोड दिए ।

“विकासका लागि अरुको मुख ताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन” प्रधानमन्त्री ओलीले भने, “विकासका लागि आफैं अग्रसर हुनुपर्छ । अरुको मुख ताकेर पनि हुदैन ।” तराइको ठूलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले स्वदेशमै फर्काएर काममा लगाउनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।

प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल पहाड तराइका जनता एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए । 

सरकार देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था कायम गर्न लागि परेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ति सम्भव हुने बताउदै “हरेक प्रदेशमा विशेष जोनहरु स्थापना गर्नुपर्छ ।”

देशमा प्रशासनिक खर्च धेरै भएर विकासमा केही कठिनाइ भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
सांसदले प्रदेश २ मा कृषि तथा सिंचाइ, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । यसैगरी शिक्षा तथा खेलकुद, महिला हिंसा, जनता आवास कार्यक्रम, अन्तराष्ट्रिय स्तरको सभाहल तथा प्रधानमन्त्रीसंग तराइ मधेस बिशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।