झुपडी र गरिबलाई नछुने बजेट : डा संग्रौला




२०७५ जेठ २ बुधवार
Newsdesk Shikharnews

काठमाडाै, २ जेठ । काँग्रेस सांसद डा डिला संग्रौलाले सरकारले ल्याउँन लागेको बजेट कनिका छरेजस्तै हुने टिप्पणी गरेकी छिन् ।

संग्रौलाले झुपडी र गरिबलाई नछुने बजेट ल्याउन लागेकाे टिप्पणी  गरेकि हुन ।

केही ठूला आश्वासन बाँडे पनि झुपडीदेखि गरिब बस्ती र बासिन्दालाई बजेटले नछुने उनको भनाइ छ । समृद्ध नेपाल र सुखी नेपाल बनाउँने हो भने सबै दलको सहमतिमा हिड्नुपर्ने र यस्ता बजेट जस्तो महत्वपूर्ण विषयमा प्रभावकारी छलफल गर्नुपर्ने बताएकी हुन् ।

प्रिबजेट छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्ष दल कांग्रेसकी नेतृ संग्रौलाले सरकारले ल्याउँन लागेको कार्यक्रममा प्रभावकारी र योजनावद्ध विकासका कार्यक्रम नै नभएको बताइन ।

बजेट एमालेको घोषणापत्र र जवजमा आधारित रहेको भन्दै यसले नीजि क्षेत्रलाई नछोएको र उत्साहित पनि गर्न नसक्ने बताइन् । सबै नेपाली समृद्ध र सबै सुखी नेपालीको नारा बाँडिए पनि लाखौ विदेशिएका युवा लक्षित र बेरोजगार लक्षित कार्यक्रम नभएको, विदेशमा कमाएको पैसालाई लगानी गर्ने कार्यक्रम नभएको, गुणस्तरीय र प्राविधिक शिक्षा नभएको, स्वास्थ्यमा पोषण र आहाराबारे नबोलेको आरोप लगाइन् ।

नेपालकै प्राथमिकताको क्षेत्र कृषि भएको तर यसलाई आधुनिक र वैज्ञानिक बनाउँने विषयमा कार्यत्रम नल्याएको, स्थानीय तहको काम गराईलाई व्यवस्थित बनाउँने कार्यक्रम नल्याएको, भूकम्पपीडितलाई अझै सम्बोधन गर्न नसकेको, रुग्ण उद्योगलाई प्रभावकारी ढंगले संचालन गर्ने कार्यक्रम नभएको पनि संग्रौलाले अाराेप लगार्इन।

राजस्व वृद्धि गर्ने भनिए पनि करको दायरा बढाउँने बाहेकका व्यवहारिक योजना नै नभएको, ऐतिहासिक, सांस्कृतिक सम्पदालाई पर्यटनको केन्द्र बनाउँन सकिने भए पनि योजना नल्याएको भन्दै उनले असन्तुष्टि पोखेकी हुन् ।