खेलाडीलाई बढी तलब सुविधा दिने क्लबमा बार्सिलोना अगाडि

२०७५ मंसिर १३ बिहीवार
Newsdesk Shikharnews

स्पेन–ग्लोबल स्पोर्ट्स सेलरी सर्भेले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार खेलाडीलाई सबैभन्दा बढी तलब सुविधा दिने क्लबमा बार्सिलोना अगाडि देखिएको छ । अर्जेन्टिीनी स्टार लियोनल मेसीको कप्तानीमा रहेको स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले अन्य क्लबको तुलनामा सर्वाधिक आम्दानी गरिरकेको सर्भेले देखाएको छ । बार्सिलोनाले खेलाडीको तलबमा मात्र एक बर्षमा १०,४५४,२५९ पाउण्ड खर्च गरेको छ ।

यसैगरी खेलाडीको तलबमा दोस्रो सर्वाधिक खर्च गर्ने क्लब स्पेनकै रियल म्याड्रिड देखिएको छ । रियलले एक बर्षमा खेलाडीका लागि ८,०८९,५८२ पाउण्ड खर्च गरेको देखिएको छ । तेस्रो स्थानमा रहेको इटालियन क्लब युभेन्ट्सले ६,७२६,६१५ पाउण्ड खर्च गरेको छ ।

यसैगरी इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी भन्दा खेलाडीको तलब र सुविधाका लागि म्यानचेस्टर युनाइटेड दानी देखिएको छ । सर्बे अनुसार सिटीका भन्दा युनाइटेडका खेलाडीले बढी कमाई गरेका छन् । सिटीले लिग जितेपनि आफ्ना खेलाडीहरुको तलबमा धेरै खर्च नगरेको उल्लेख छ ।

अघिल्लो सिजन सिटिले खेलाडीको तलव र सुबिधाका लागि ५,९९,३०० पाउण्ड खर्च गरेको थियो । युनाइटेडले भने ६,५३४,६५४ पाउण्ड खर्च गरेको सर्भेले देखाएको छ । प्रिमियर लिगमा खेलाडीका लागि बढी खर्च गर्ने तेस्रो क्लबमा चेल्सी छ ।  चेल्सीले गत सिजन ५,०२०,००४ पाउण्ड खर्च गरेको थियो । यसैगरी लिभरपुलले ४,८६२,९६३ पाउण्ड, आर्सनलले ४,८५३,१३० पाउण्ड र टोट्टनहामले ३,५१५,७७८ पाउण्ड खर्च गरेको सर्बेले देखाएको छ ।