जवानी फिर्ता माग्दै अदालत पुगेपछि भयो यस्तो बबाल, २० वर्ष उमेर घटाइदिन आग्रह

२०७५ मंसिर १९ बुधवार
Newsdesk Shikharnews

प्रमाणपत्रमा उल्लेख भएको उमेर घटाउन चाहने कतिजना हुनुहुन्छ ? कतिपयलाई त आफू नागरिकता अनुसार बुढो भएको विश्वास लाग्दैन हैन ? डेनमार्कमा भने एकजना व्यक्तिले उमेर घटाउनुपर्ने निवेदन गर्दै अदालतको ढोका नै घच्घच्याउन पुगेका छन् ।

६९ वर्षीय हुन एमिल रेटलब्याण्ड, उनी पेशाले उत्प्रेरणा जगाउने वक्ता हुन । डेनमार्कको एउटा अदालतमा उनले आफ्नो उमेर २० साल घटाइदिन निवेदन पेश गरे । अदालतले भने कानूनतः उमेर कम गर्न नसकिने फैसला सुनायो । डेनमार्कका मिडियाहरुमा प्रकाशित समाचार अनुसार, कतिपय कानुनी र सामाजिक बाध्यता भएकोले प्रमाणपत्रमा उमेर घटाउन सम्भव नभएको भन्दै अदालतले मानसिकरुपमा भने २० वर्ष कान्छो उमेरको अनुभूति गर्न उनी स्वतन्त्र रहेको फैसला गरेको थियो ।

 

रेटलब्याण्डले उमेरले ६९ वर्ष पुगेपनि ४० वर्षीय युवकजस्तै भएको अनुभूति गर्ने भएकोले उमेर घटाइदिन अपील गरेका थिए । “मैले चालीस वर्षे युवा भएको ठान्छु, म बुढो छैन, त्यसैले मेरो प्रमाणपत्रमा पनि उमेर घटाइपाऊँ” अपीलमा उनले भनेका छन । तर कोर्टले भने कानुनीरुपमा यसरी उमेर घटाउँदा यसको असर शैक्षिक प्रमाणपत्रदेखि नागरिकता र अन्य कागजातमा पर्ने र ती सबैलाई परिवर्तन गर्नु कानुनी र सामाजिकरुपमा निकै जटिल हुने बतायो । “तर तपाई चालिस वर्षे युवा भएको अनुभूति गर्न सक्नुहुन्छ र सोही अनुरुपको व्यवहार पनि । यसमा कुनै रोकटोक हुँदैन ।” कोर्टले फैसलामा भनेको छ । एजेन्सी