‘निर्मलाका हत्यारा हामिले पत्ता लगाउँछौं, सरकारले सक्दैन हामी कारवाही गर्छौं’: प्रकाण्ड

२०७५ मंसिर १९ बुधवार
Newsdesk Shikharnews

कालिकोट, १९ मंसिर । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले निर्मलाका हत्यारालाई आफुहरुले कारवाही गर्ने बताएका छन् । सरकारले निर्मलाको हत्यारा खोज्न चासो नदेखाएको बताउँदै उनले आफुहरुले कारवाही गर्ने बताएका हुन् । गृहजिल्ला कालिकोट पुगेका प्रकाण्डले पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।

 

विप्लवको पार्टीका स्थायी कमिटि सदस्य प्रकाण्डलाई स्थानीय नेता तथा कार्यकर्ताले मंगलबार जिल्ला सदरमुकाम मान्ममा स्वागत गरे पछि पत्रकारहरुसंग बोल्दै उनले निर्मलाका हत्यारालाई बाहिर ल्याउने बताए । प्रकाण्ड पार्टीले मान्ममा गर्न लागेको जनसभामा सहभागी हुने गृहजिल्ला पुगेका हुन्। स्वागत कार्यक्रममा निर्मलाको घटना राज्यको पहुँच भन्दा बाहिरको नभएको बताउँदै सरकारले चार महिनासम्म एउटा अपराधिक घटनाको दोषीलाई कारबाही गर्न नसकेकोप्रति आपत्ती प्रकट गरे । उनले अपराधीलाइई सरकारले नै संरक्षण गरेको दाबीसमेत गरे।

उनले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले अब पनि कारबाही गर्न नसक्ने बताउँदै केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै निर्मलाको घटना पनि त्यसै गरी मिलाउने प्रयास भइरहेको आरोप लगाए। निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनको दाबी छ। निर्मला हत्या प्रकरण सम्पूर्ण नेपाली चेलीको अस्तित्वसँग जोडिएको बताउँदै उनले राज्यले संरक्षण गरेका चेलीको अस्मिता लुट्ने गुण्डालाई आफूहरुले तह लगाउने दाबी गरे।