New from Nepal

संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका छन् । नेकपाका सांसद झपटबहादुर रावलले सबैजसो सांसदले आफूलाई लागेका कुरा खुलेर राखेको बताए ।

‘लुकाउने छिपाउने कुरा आएन, जे छ त्यो सत्य हो भनियो, नेता केन्द्रित नीति र व्यवहार देखिएकोमा विरोध भयो’, रावलले भन्नुभयो– ‘यस्ता छलफल पहिले नै किन भएनन् भनेर प्रश्न गरें, पार्टीलाई सही ढंगले लानलाई नै सुझाव आएको छ, नेतृत्वले सुन्नुपर्छ ।’

रावलले सरकारले जनताका पक्षमा काम नगरेको, पार्टी एकता टुंगिन नसकेको, नेताहरुले तल्लो तहसम्म अधिकार बाँडफाँड नगरेको, बजेट व्यावहारिक र जनमुखी नभएकोलगायतका विषयमा सबैजसो सांसदले धारणा राखेको बताए ।

सरकार असफल भए हामी सकिन्छौः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार असफल भए आफूहरु सिद्धिने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै उनले सरकारलाई सफल बनाउनुको विकल्प नभएको भन्दै गल्तीलाई औल्याउने र राम्रा कामलाई प्रोत्साहित गर्न आग्रह समेत गरेका थिए ।

बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीले सरकारको सफलता असफलतामै नेपाल कम्युनिष्ट पार्टीको सफलता वा असफलता निर्भर रहेको भन्दै आ आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक सांसदले भने, सरकार असफल भए हामी पनि सिद्धिन्छौं ।

ओलीले सरकारले ल्याएको विधेयकको बचाउ गरेका थिए । सरकारमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको भन्दै सबै मिलेर सामना गर्नुपर्ने बताएका थिए । पार्टी एकता चाँडै टुंगिने भन्दै सबै एक भएर जानुपर्नेमा जोड दिएका थिए ।

बैठकमा सोमबार २९ जना सांसदले सरकारको कामकारबाहीको टिपप्णी गर्नुका साथै सुझाव दिएका थिए । अधिकांश सांसदले सरकारको कामकारबाहीको आलोचना गरेका थिए । पार्टीमा गम्भीर छलफल नगरी सरकार अगाडि बढ्न खोजेको भन्दै सांसद घनश्याम भुषाले चर्को आलोचना गरेका थिए । उनले बैठकको औचित्यमाथि प्रश्न गरेका थिए ।

बाबुराम छोडेर प्रचण्ड तिर करिष्मा !
हालै एसइइ उतिर्ण गरेर चर्चामा आएकी सदाबहार अभिनेत्री तथा तत्कालिन नयाँ शक्ति, पार्टी नेपालकी केन्द्रिय सदस्य करिश्मा मानन्धरले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । बाबुराम भट्टराईसँग राजनीतिक सम्बन्ध अन्त्य गरेकी करिश्माले अन्ततः बाबुरामकै पूराना सहयात्री प्रचण्डसँग सम्बन्ध विस्तार गरेकी छिन् ।

नयाँ शक्तिमा सुरुवातदेखि नै लागेकी करिश्माको राजनीतिक मोह त्यतिवेला भंग भयो, जतिवेला उनले नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भएर गठन भएको नयाँ पार्टी समाजवादी पार्टी, नेपालमा कुनै भूमिका पाईनन् । बाबुरामले पनि करिश्मालाई जिम्मेवारी दिलाउन मरिहत्ते गरेनन । त्यही भएर मानन्धर बाबुरामसँग चिढिएको कुरापनि बाहिर आएको थियो । तर, बाबुरामले भने करिश्माले साथ छोडेकोमा कुनै पछुतो मानेका छैनन । बरु, खुशी नै व्यक्त गरेका छन् ।

हालैमात्रै एसईई उत्तिर्ण भएकी नायिका करिश्माको धोको भनेको मास्टर्सदेखि पिएचडी गर्नेसम्मको रहेको छ । उनी पूनः राजनीतिमा सक्रिय हुनेछिन । प्रचण्डसँगको भेटवार्तापछि करिश्मा नेकपामा प्रवेश गर्ने निश्चित प्रायः भएको स्रोतको दाबी छ ।

काठमाडौँमा बिजुली बस चल्यो
प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालि बीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ । सोमबार एक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् ।

ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए ।