नेतृत्वकै कारण नेपाली कम्युनिष्ट आन्दोलन असफल हुनसक्छ !

२०७५ मंसिर १० सोमवार
Newsdesk Shikharnews

‘एउटा माघले मात्रै जाडो जाँदैन’ भनेझैँ एकपटकको जनमतले मात्रै राजनैतिक यात्रा जिवन्त एवं सधैं सत्ता र शक्तिको पहुँचमा रहिरहन सक्दैन। यस पछाडिका कयौं तथ्यहरु इतिहासले हाम्राअघी छर्लङ्ग पारेको छ। जब निर्वासित राजा र कांग्रेसको सहकार्यमा २००७ सालमा जहानिया राणा शासनको अवसान भयो, सायद नेपाली जनताले इतिहासकै गौरवको अनुभुती गरेका थिए । तर राजाको मति बिग्रिएपछि त्यो गौरवको क्षण लामो हुन सकेन । १० वर्ष हुँदानहुँदै २०१७ सालमा राजाले विपीलाई जेल हालेर पञ्चायत लागू गरे। विपी जेल परेपछि कांग्रेसले टाउको उठाउने हिम्मत गर्नै सकेन। कम्युनिष्टलाई त प्रतिबन्ध नै गरिएको थियो।

१०४ वर्षपछि भर्खरै राणाको जहानिया एकलौटी शासनबाट मुक्ति पाएका नेपाली जनता फेरि निर्दलिय पञ्चायती शासनको जाँतोमा पिसिए। त्यहीँ अवधिमा तत्कालीन मालेले २०२८ सालमा झापामा १४ जनालाई भौतिक सफाया दिँदै पञ्चायत विरुद्धको सशस्त्र संघर्ष सुरु गर्यो। जनतामा परिवर्तनको दियो बल्यो, कम्युनिष्ट प्रति जनताको मोह बढ्यो। चरणबद्ध आन्दोलन गर्दै देशैभरि पञ्चायत विरुद्ध जनसागर उर्लियो। खासगरी झापा विद्रोहको जगमा २०३६ साल देखि ४६ सालसम्मको जनआन्दोलनले पञ्चायत घुँडा टेक्न बाध्य भयो। त्यसपछि शक्तिशाली राजसंस्था सहितको बहुदल घोषणा भयो। परिणामतया चप्पल पट्काउदै काठमाडौं छिरेका कम्युनिष्ट नेता रातारात मालामाल भए। जन जीवन झन जिर्ण बन्दै गयो।

त्यहीँ पृष्ठभूमिमा २०५२ सालबाट प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु भएर २०६२ सम्म १० वर्ष चल्यो । १७ हजार बढी मानिसको ज्यान गयो, हजारौं घाइते अपांग र बेपत्ता भए । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षिय जनयुद्धकै जगमा १९ दिने जनआन्दोलन भयो। राजा ज्ञानेन्द्र बाध्य भएर जनताका नाममा सम्बोधन गर्दै संसद पुनःस्थापना गरे।

संविधानसभाको निर्वाचन भयो, तत्कालीन नेकपा माओवादी पहिलो दल बन्यो । संविधानसभाको पहिलो बैठकबाट ढाईसय वर्षिय एकात्मक राज्यव्यवस्था सदाका लागि विदाई त भयो, यद्यपि विडम्बना के आइपर्‍यो भने, पहिलो संविधानसभाले संविधान निर्माण गर्न सकेन। सत्ता अभ्यासको कमी तथा ‘एक्लै खाऊ’ भन्ने दम्भले माओवादीले संविधानसभा मार्फत जनयुद्धले उजागर गरेको जनअपेक्षा पूरा गर्न सकेन । त्यसपछि सक्रिय कार्यकर्ता पनि बरालिन पुगे। पार्टीमा ठुलो गुट निर्माण भयो। एकथरी गुटले क्रान्तिप्रति प्रचण्डबाट धोका भएको निष्कर्ष निकाल्दै मोहन वैद्यको नेतृत्वमा अलग पार्टी निर्माण गरे। संविधान निर्माणको लागि पुनः निर्वाचन गर्नुपर्ने भयो। दोस्रो संविधानसभाको चुनावमा वस्तुगत र आत्मगत हिसाबले थिलोथिलो भएको तत्कालीन एकीकृत माओवादी भारी मतान्तरले पराजित भएर तेस्रो दलमा खुम्चियो।

कांग्रेस पहिलो र एमाले दोस्रो दल बन्यो। संविधान निर्माणको शक्ति पुराना दलमा स्थानान्तरण भयो। १० वर्षिय जनयुद्धको अन्तरवस्तु संविधानले समेट्न खोजेपनि खासै प्राथमिकता दिएइन। यसरी कम्युनिष्ट प्रतिको जनमोह कमजोर बन्दै गइरहेको अवस्थामा संविधानप्रति असहमति जनाउँदै मधेसी मोर्चा आन्दोलित भयो। भारतले नाकाबन्दी गर्यो। प्रधानमन्त्री केपी ओलीले मधेसीलाई देखाउँदै भारतप्रति कडा अभिव्यक्ति दिए र रातारात राष्ट्रवादी नेता कहलिए। सम्भवत सिमाना देखि सिंहदरबारसम्मको भारतीय हेपाहा प्रवृत्तिबाट आजित भएका नेपाली जनताको भावना जित्न केपी ओली सफल भए। परन्तु मधेशमा निरन्तर बलिरहेको आगो ओलिको आवेगात्मक शैलिका कारण झन उग्र बन्दैगयो। उनमा सहमतिय राजनैतिक चेतनाको खडेरि देखियो। त्यसैको परिणामस्वरूप ओलि सरकार ढल्न पुग्यो।

एमालेलाई प्रतिपक्षीमा हुत्याएर कांग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार गठन भयो। प्रचण्डले असन्तुष्ट मधेशी जनता एवं त्यहाँ केन्द्रित राजनैतिक दलहरुलाई विश्वासमा ल्याउने भरपुर प्रयत्न गरे। निकै भयावह तरिकाले मधेशमा सल्किरहेको आगोलाई मत्थर पार्न प्रचण्ड सफलपनी भए। यस पश्चात् देश स्थानीय तहको निर्वाचनमा होमियो। सरकारले सम्पूर्ण शक्ति प्रयोग गर्दा पनि तत्कालीन एमालेले अत्यधिक स्थानमा विजय हासिल गर्यो। संघ र प्रदेशको निर्वाचनसम्म आउँदा समीकरण बदलियो। तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने प्रतिबद्धता सहित साझा घोषणापत्र निर्माण गरि निर्वाचनमा भाग लिए। वर्षदिन नटिक्ने सरकारबाट आजित बनेका जनताले एमाले माओवादीको समीकरणलाई रुचाए र झण्डै दुई तिहाइ मत दिए। पुनः दोस्रोपटक केपी ओलीको नेतृत्वमा सरकार गठन भयो। तल्लो कमिटिसम्म अझै पुर्णता नपाए पनि दुवै पार्टीबिच एकता भयो । प्रधानमन्त्रीको लाइनमा उभिएका केपी ओलि फेरिपनी स्थाइ सरकारको प्रधानमन्त्री बने। उनको कार्यकाल ९ महिना बितिसकेको छ तर दुखका साथ भन्नैपर्छ, ओलि सरकारले नौ महिनाको अवधिसम्म झिनो पनि सन्तोषजनक काम गर्न सकेन। सुन तस्करीका ठुला माछा, यातायात सिण्डिकेट, ठग ठेकेदार, एनजीओ आइएनजिओ, निर्मला पन्तको बलात्कार घटना र वाइडबडी विमान घोटाला संरक्षणसम्म आइपुग्दा जनस्तरमा केपी सरकार पुर्णरुपमा बदनाम भइसकेको छ। यता प्रचण्ड पनि यस विषयमा मौन समर्थन जनाइरहेकाछन् ।

यदि यस्तै हो भने ओलि सरकार सफल हुने देखिदैन । यो सरकार असफल भए कम्युनिष्ट प्रतिको जनअपेक्षा खुम्चिदै जानेछ। केपी ओलि र प्रचण्डको राजनीतिक भविष्य मात्रै होइन सिंगो कम्युनिष्ट आन्दोलनकै भविष्यमा धक्का लाग्ने निश्चित छ। त्यसकारण प्रधानमन्त्री ओलि र पार्टी अध्यक्ष प्रचण्डकै कार्यशैलीका कारण नेपाली कम्युनिष्ट आन्दोलन असफल हुन सक्ने खतराको बादल यतिबेला नेपाली आकाशमा मण्डराइ रहेको अनुभव गर्न सकिन्छ। यसरी हेर्दा नेतृत्वमा जनमतको दम्भ र पार्टी एकताको प्रभावले उत्पन्न भएको सांगठनिक असन्तुलन वर्तमान अवस्थाको नेकपामा व्यप्त देखिन्छ । शक्ति उन्मादको खाडलबाट निस्किएर, बेलैमा नेतृत्वको ध्यानाकर्षण हुन सकेन भने अहिलेसम्मका उपलब्धि धरापमा पर्ने निश्चित त छँदैछ अर्को निर्वाचनमा अहिलेको कांग्रेस बराबरको जनमत प्राप्त गर्न समेत फलामका चिउरा चपाउनु सरह हुनेछ। ( अर्जुन घर्तिमगर ,
रोल्पा नेपाल, हाल: क्वालालम्पुर मलेसिया )