प्रहरी र सांसद नै जुवा तस्करीमा

२०७५ कात्तिक १३ मंगलवार
Newsdesk Shikharnews

प्रहरी र नेता नै अवैध धन्दामा संलग्न भए तस्करी, जुवालगायतको धन्दा कसले रोक्न सक्ने ? सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अहिले यस्तै चलिरहेको छ । तस्करीदेखि जुवासम्मको धन्दा नेता र प्रहरीको मिलेमतोमा चलिरहेको छ ।
कैलालीमा सत्तारुढ दल नेकपाका सांसद आफैं तस्करीमा संलग्न छन् । स्रोतका अनुसार प्रदेश सांसद नेपालु चौधरीले आफ्नो घरमा तस्करीको गोदाम राखेका छन् । प्रहरीसँगको सेटिङमा उनी लामो समयदेखि तस्करीमा संलग्न छन् ।
दुई साताअघि तस्करीको सामान उनको घर फूलबारीस्थित पुग्ने गरेको सूचनाका आधारमा सशस्त्र प्रहरीले पिछा गरेको थियो । तर, घर आसपास आएका सशस्त्र प्रहरीलाई आफ्नो ठाउँमा नआउन भन्दै धम्क्याउने मात्र काम गरेनन्, माथिल्लो तहका प्रहरीलाई समेत फोन गरे । जसले उनको तस्करीको प्रभाव देखाउँछ ।
त्यसो त सुदूरपश्चिम प्रदेशमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै निकायका डीआइजीको तस्करीमा सेटिङ छ । नेपाल प्रहरीका डीआइजी सुरज केसी र सशस्त्र प्रहरीका नगेन्द्र थापाले आफैं घुमुवा परिचालन गरी तस्करी गर्दै आएका छन् । कैलालीमा ६ वटा छोटी भन्सार कार्यालय छन् । सबैबाट प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको छ । संगठित रुपमा यसमो सबै निकायबीच मिलेमतो छ ।
घुमुवाहरु परिचालन गरी तस्करीमा सेटिङ मिलाइएको छ । हवल्दार कामदेव भण्डारी १२ वर्षदेखि पैसा उठाउन घुमुवाका रुपमा खटिएका छन् । डीआइजी केसीले भण्डारीमार्फत् पैसा असुल्ने गरेका छन् । उनले कैलालीको किंग्ल लाउन्ज क्यासिनोबाट मासिक एक लाख ५० हजार, धनगढीको कोब्रा डान्सबार, क्रिस्टल डान्सबार, इरिस डान्सबार, नशा डान्सबार, बियर बार, देजाभु डान्सबारबाट मासिक १५ देखि २० हजार रुपैयाँ उठाउने गरेका छन् । त्यस्तै सबै होटलबाट उनले नै मासिक १० देखि १५ हजार लिएर माथिल्ला हाकिमलाई बुझाउने गरेका छन् ।

जुवामा प्रहरीकै सेन्ट्री 
कैलालीमा दर्जन मिनिक्यासिनोहरु गोप्यरुपमा सञ्चालित छन् । जसमा प्रहरीले नियमित पैसा असुल्ने गरेको छ । कतिपयमा प्रहरी नै सेन्ट्री बस्ने गरेको छ । यो कुरा सायद गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई थाहा छैन ।
जसमध्ये एक हो लम्कीमा प्रकाश भाटले चलाउने जुवा अखडा । जहाँ दशैंको मुखमा सीडीओ बाबुराम श्रेष्ठको आदेशमा डीएसपी हरि वलीले पक्राउ गरे । त्यसबेला एसपी विनोद घिमिरे बिदामा थिए । १० जना जुवाडे पनि पक्राउ परे । एसपीले थाहा पाएपछि डीएसपीलाई गाली गरे । पछि चार दिनमै छाडियो । छुट्ने क्रममा ६ लाख खर्च भएको भाटले बताएका थिए । सो जुवाघरको सेटिङ डीआईजी केसीसम्म रहेको स्रोत बताउँछ ।
यस्तै सेटिङ कारण एसपी घिमिरेलाई गत साता प्रहरी प्रधान कार्यालयले हटाएको थियो । जिल्लामा नयाँ एसपीका रुपमा आभूषण तिम्सिना पुगेका छन् । जिल्लाका घुमुवाहरु उनीसँग पनि सेटिङ मिलाउन उद्यत  रहेको समाचार आजको दृश्ती साप्तहिकमा छापिएको छ ।

 

News Source DrishtiNews.com