बालुन डि’ओर:रोनाल्डो, मेस्सीलार्इ यी खेलाडिकाे चुनाैती

२०७५ मंसिर १७ सोमवार
Newsdesk Shikharnews

विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित र महत्वपूर्ण मानिएको बालुन डि’ओर अवार्ड मंगलबार बितरण हुँदैछ। यो अवार्ड सन् १९५६ देखि फ्रान्सेली म्यागेजिन ‘फ्रान्स फुटबल’ले विश्वका उत्कष्ट फुटबलरलाई वितरण गर्न थालेको हो। मंगलबार बिहान पौने ३ बजे फ्रान्समा यो उत्कृष्ट अवार्ड वितरण गरिने फक्स स्पोर्ट्सले उल्लेख गरेको छ।

स पटकको बालुन डि’ओर अवार्ड वितरण कार्यक्रम पहिलेभन्दा निकै भिन्न देखिने फुटबल पण्डितहरुले अनुमान गरिरहेका छन्। विश्व फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको दशवर्षे दबदबा तोडिने धेरैको विश्लेषण छ। सन् २००८ देखि सन् २०१७ सम्म लगातार मेस्सी र रोनाल्डोले पाँच–पाँच पटक यो अवार्ड पाएका थिए। यस पटक पनि उनीहरु यो अवार्डको मनोनयनमा परेका छन्। तर, युरोपेली सञ्चार माध्यमहरु क्रोएसियाका लुका मोड्रेचले बालुन डि’ओर प्राप्त गर्ने तर्क गरिरहेका छन्।

 बालुन डि’ओर मोड्रेचले जित्दा, दोस्रोमा रोनाल्डो पर्नेछन्। फ्रान्सका विश्वकप विजेता ग्रीजम्यान तेस्रो हुनेछन्। अनौपचारिक स्रोतहरु उल्लेख गर्दै युरोपेली मिडियाहरुले जनाएअनुसार मेस्सी अवार्ड मनोनयनको शीर्ष तीनमै परेका छैनन्। फुटबल पण्डितहरुले यसअघि मेस्सी र रोनाल्डो फुटबलमा सक्रिय भएसम्म यो अवार्ड अन्य खेलाडीले नपाउने दाबी गर्थे। मोड्रेचले यस्ता दाबीहरुलाई गलत सावित गर्ने प्रशस्त सम्भावना देखिन्छ। यसैवर्ष सम्पन्न विश्वकपमा कमजोर टोली मानिएको क्रोएसियालाई आफ्नो कप्तानीमा मोड्रेचले विश्वकप फाइनलमा पर्याएका थिए। फाइनल जिताउन नसके पनि उनी विश्वकप उत्कृष्ट खेलाडी घोषित भए। मोड्रेचकै उत्कृष्ट खेलका कारण स्पेनिस क्लब रियल मड्रिडले सन् २०१७–२०१८ को सिजनमा च्यामिपयन्स लिग जित्दै लगातार तीनपटक च्याम्पियन्स लिग जित्न सफल भएको थियो। यस वर्ष उनले बालुन डि’ओरजस्तै फुटबलका अरु महत्वपूर्ण अवार्ड हात पारेका छन्।

यो वर्ष फिफा वर्ष उत्कृष्ट खेलाडी र यूइएफए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पाइसकेका छन्। यी दुई अवार्ड र बालुन डि’ओरको अवधारणा लगभग एकै भएका कारण मोड्रेचले नै यो अवार्ड जित्ने कतिपयको दाबी छ। फिफा वर्ष उत्कृष्ट खेलाडी र यूभइएफए उत्कृष्ट खेलाडीको अवार्डमा गत सिजनको प्रदर्शनलाईमात्र आधार मानिन्छ भने बालुन डि’ओरका लागि पूरा क्लालेन्डर वर्षको प्रदर्शनलाई आधार मानिन्छ। यो सिजनमा मोड्रेचले रियल मड्रिडका लागि उल्लेखनीय प्रदर्शन गर्न सकेका छैनन्। विश्वकप विजेता फ्रान्सका एन्टोनी ग्रीजम्यान, केलिएन एमबाप्पेलाई समेत यस अवार्डको हकदारको रुपमा हेरिएको छ। रोनाल्डो र मेस्सीको प्रदर्शन पनि यस सिजनमा नराम्रो छैन।

.

.यो वर्षको बालुन डि’ओरका लागि ३० खेलाडी मनोनयनमा छन्। मोड्रेच, रोनाल्डो, मेस्सी, मोहम्मद सलाह, ह्यारी केन, एमबाप्पे, ग्रीजम्यान, नेमार, ग्यारेथ बेलजस्ता खेलाडीहरु सूचीमा छन्। -एजेन्सी