बिमलले गरे च्यासलसँगको सहमति रद्द, ट्रायलका लागि बेल्जियम जाने

२०७५ मंसिर १९ बुधवार
Newsdesk Shikharnews

काठमाडौं । यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर ट्रायल दिन बेल्जियम जाने भएका छन् ।

च्यासल युथ क्लवका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल खेल्न नभ्याउने भएका हुन् ।

विमल ट्रायलका लागि आज बुधबार बेल्जियम जानेछन् । बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको सम्झौता सहमतिमा रद्द गरेका छन् । फेसबुकमार्फत उनले ए डिभिजन लिगमा डेब्यू गर्दा खुसी लागेको बताएका छन् । राम्रो शुरुवात गर्न नसकेको भन्दै च्यासलसँगको यात्रा सकिएको बताएका छन् ।

भारत, बेल्जियम, नेदरल्याण्डमा व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा भने यसै वर्षदेखि डेब्यु गरेका हुन् । विमलले यसअघि विसं २०७१ को राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए ।

राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए । एन्फा बुटवल एकेडेमीमा २०६७ सालमा प्रवेश गरेका विमलले दुई वर्ष प्रशिक्षण गरे । सन् २०१२ को एएफसी यू–१४ फेस्टिभलमा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो ।