बिहानैदेखि क्रिकेटरको मृत्युमा शोक जताइरहेका थिएः बेलुका उनैले भने, ‘म जिउँदो छु’

२०७५ मंसिर १७ सोमवार
Newsdesk Shikharnews

सोसल मिडिया निकै ठूलो प्लेटफर्म हो । यसले कसैलाई रातारात स्टार बनाइदिन्छ भने कसैको केही सेकेन्डभित्रै पत्तासाफ गराइदिन्छ । साथै, यहाँ स्रोतले पुष्टि नगरेका खबर पनि भाइरल भइदिन्छ । यस्तै एउटा खबर शनिबार भाइरल भयो । खबर थियो न्यूजिल्याण्डका पूर्व क्रिकेटर नेथन म्याक्कुलमको मृत्यु । उनी त्यही क्रिकेटर हुन् जसले न्यूजिल्याण्डका लागि ८४ वनडे र ६३ वटा टी२० इन्टरनेशनल खेलिसकेका छन् । उनी ब्रेन्डन म्याककुलमका दाइ हुन् ।

नेथनकी श्रीमती वेनेसाको हवाला दिँदै सोसल मिडियामा नेथन म्याक्कुलमको मृत्यु भएको खबरले तहल्का मच्चायो । यो खबर फैलिएपछि सोसल मिडियामा शोक सन्देशको बाढी नै आयो जुन भाइरल भएर मृत्यु भएको भनिएका व्यक्तिसम्म पुग्यो ।

खबर सुनेपछि म्याक्कुलमले बेलुका आफू जीवित भएको भन्दै ट्वीट गर्नुपर्यो । उनले लेखेका छन्, ‘म जिउँदो छु र पहिलेभन्दा खुसी छु । मलाई थाहा छैन यो खबर कहाँबाट आयो । यो फेक हो । तपाईंहरु सबैमा प्रेम । ’

न्युजिल्याण्डका लागि खेलिसकेका नेथनले आइपिएलको पुणे वारियर्सका लागि पनि सन् २०११ मा खेलेका थिए । त्यसपछि सन् २०१३ मा सनराइजर्स हैदराबादको समूहमा संलग्न भए । उनले सन् २०१५ मा अवकाश लिइसकेका छन् ।