रत्नजित तामाङ क्वार्टरफाइनलमा

२०७५ मंसिर २० बिहीवार
Newsdesk Shikharnews

काठमाडौं, २० मंसिर ।  नेपाली शीर्ष वरीयताका रत्नजित तामाङ राजधानीमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को कभर्डहलमा बुधबार भएको खेलमा रत्नजित भारतका नभिदमाथि २–१ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । रत्नजितले नभिदमाथि २२–२०, २१–१७ र २१–१६ को जित निकालेका हुन् ।

रत्नजितले त्यसअघि अफ्रिकी मुलुक मौरीटियसका तेजराज पुल्टोमाथि २–० जित निकालेका थिए । अर्का नेपाली बिकास श्रेष्ठ भियतनामका काओ कुवान फामसँग २१–१४ र २१–१५ को सोझो सेटमा पराजित भए । विजित थापामगर अष्ट्रेलियाका एन्थोनी जोएसँग २१–१६ र २१–१४ ले पराजित भए । अन्य नेपाली खेलाडी दीपेश धामी, नवीन श्रेष्ठ, प्रफुल महर्जन र प्रिन्स दाहाल भने दोस्रो चरणबाट बाहिरिएका छन् ।

महिला एकलमा नेपालकी नङ्सलदेवी तामाङ, अनुमाया राई, जेसिका गुरुङ र सीता राई प्रि–क्वाटरफाइनलमा रोकिए । नङ्सल इरानकी सोरायासँग २१–१४ र २१–१६ ले पराजित भइन् । अनु माया म्यानमारकी थित थुजारसँग २१–६ र २१–१० को सेटमा हारिन् । जेसिका भारतकी राशी त्यागीसँग २१–११ र २१–७ ले पराजित भइन् । सीतालाई थाइल्यान्डकी चननचिडाले २१–७ र २१–३ ले हराइन् ।

मिक्स डबल्समा दिपेश र शोभा गौचनको जोडी, विजित थापामगर र पुजा श्रेष्ठको जोडी तथा बिकास श्रेष्ठ र सीता राईको जोडीले क्वाटरफाइनलमा स्थान बनाउँदा दिदीभाई रत्नजित र नङ्सलदेवीको जोडी पराजित भयो । दिपेश र शोभाको जोडीले बंगलादेशका सलमान कहान र एलना सुल्तानाको जोडीमाथि २१–१७ र २१–१७ को जित निकाल्यो ।

विजित र पुजाको जोडीले जर्मनी र फ्रान्सका फिलिप डेसचर र ससिना वारनको जोडीमाथि १८–२१, २१–१५ र २१–१३ को जित निकाल्यो । यस्तै बिकास र सीताको जोडीले माल्दिभ्सका मोहम्मद र अब्दु रज्जाकको जोडीलाई २३–२१ र २१–१९ ले पराजित ग¥यो । रत्नजित र नङ्सलको जोडी थाइल्यान्डका पन्चाई र पिचायानिनसको जोडीसँग २१–१३ र २१–१३ ले पराजित भयो ।

पुरुष डबल्समा रत्नजित र दिपेशको जोडीले भारतका भाजित अली र आयुसको जोडमिाथि २१–१० २१–११ को सहज जित निकाल्यो । दीपक बोहोरा र विष्णु कटवालको जोडी भारतकै भेम्वारासन र लोकेश विश्वनाथको जोडीसँग २१–१२ र २१–१२ को सोझो सेटमा पराजित भयो ।

महिला डब्लसमा रशिला महर्जन र अमिता गिरीको जोडीले भुटानकी थिन्ले डेमा र फुन्सो छोडेनको जोडीमाथि २१–८ र २१–१६ को जित निकाल्यो । महिला डबल्समै नेपाली शोभा गौचन र पुनम गुरुङकी जोडी भुटानकी थिलिनी प्रमोदिका र काभिदी सिरीमननागेको जोडीसँग २१–६ र २१–८ ले पराजित भयो ।