राफेलबारे बोल्दा अनिल अम्बानीद्वारा द वायरलाई ६ हजार करोडको मानहानी मुद्दा

२०७५ मंसिर १२ बुधवार
Newsdesk Shikharnews

अनिल अम्बानीको कम्पनी रिलायन्स इन्फ्रास्ट्रक्चरले राफेल डिलमाथि गरिएको एक भिडियो शोका कारण द वायरमाथि ६ हजार करोड भारुको मानहानीको मुद्दा दर्ता गरेको छ । यो मुद्दा गुजरातमा अहमदाबादस्थित सिभिल कोर्टमा दर्ता गरिएको हो ।

सन् २०१८ मा अगस्ट २३ मा ‘राफेल डिलः अन्डरस्ट्यान्डिङ द कन्ट्रोवर्सी’ नामको भिडियो शो द वायरको तर्फबाट प्रसारित गरिएको थियो । यसबारे कुराकानी गर्न वरिष्ठ रक्षा पत्रकार अजय शुक्ला र द वायरका संस्थापक सम्पादक एमके वेणु समावेश थिए र राष्ट्रिय सुरक्षा विश्लेषक ह्यापिमोन ज्याकबले कार्यक्रम संचालन गरेका थिए ।

भिडियोका कारण रिसाएका अनिल अम्बानीले द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजन, एमके वेणु र सिद्धार्थ भाटियालगायत अजय शुक्ला र द वायरका अफिस म्यानेजरविरुद्ध मुद्दा दर्ता गरेका छन् । उक्त भिडियो राफेल विवादलाई आधार बनाएर मोदी सरकारद्वारा ३७ राफेल खरिद गर्ने निर्णय पारदर्शी छ कि छैन भन्दै तार्किकता र तथ्यको आधारमा बहस गरिएको थियो ।

भिडियोमा अन्तिम समयमा मोदी सरकारद्वार राफेल डिलमा परिवर्तन गरिएको  र अनिल अम्बानीको कम्पनीलाई यसको ठेक्का दिइएको बारे सम्भावित तथ्य र तर्क प्रस्तुत गरिएको थियो । रिलायन्स ग्रुप र अनिल अम्बानीलाई लाग्छ कि उक्त कार्यक्रम पूर्ण रुपमा झुटो छ र त्यहाँ प्रस्तुत गरिएका कुराकानी पूर्ण रुपमा गलत र भ्रामक छ । यसले कम्पनी र कम्पनीका अध्यक्षको प्रतिष्ठालाई क्षती पुर्याउने उद्देश्यसहित गरिएको अनिलले आरोप लगाएका छन् ।

कम्पनीले मानहानीको मुद्दा दर्ता गर्नका लागि अहमदाबादको अदालतलाई नै छान्नुका कारण यहाँ मानहानीको मुद्दाका लागि अधिकतम शुल्क ७५ हजार भारु भएको बताइएको छ । अन्य स्थानमा यस्तो सुविधा नभएको बताइन्छ । अन्य अदालतमा मुद्दा दर्ता गर्ने शुल्क मानहानी राशीको आधारमा बढ्छ अर्थात् जति धेरै मानहानीको रकम तोकियो मुद्दा दर्ता गर्न त्यति नै धेरै शुल्क लाग्छ ।

यो मुद्दाको पहिलो सुनुवाई नोभेम्बर २७ मा भयो । द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले भने, ‘यो मानहानी मुद्दा मिडियालाई चुप गराउन र पत्रकारलाई राफेल डिलमाथि प्रश्न सोध्नबाट रोक्ने कोसिस हो । हामी यस्तो कुरासँग डराउँदैनौं ।’

द वायर पहिले नै अडानी ग्रुपद्वारा दर्ता गरिएको तीन सय करोडका ६ मानहानी मुद्दा खेपिरहेको छ । यस्तै भाजपा अध्यक्ष अमित शाहका छोराको सय करोडको दुईवटा, भाजपा सांसद राजिव चन्द्रशेखरका ४० करोडका दुई मुद्दा र श्री श्री रविशंकरको १० करोडको एउटा मानहानीको मुद्दा खेपिरहेको छ ।