२८ औँ स्मृति विशेष : सम्झनामा स्वर सम्राट नारायण गोपाल

२०७५ मंसिर १९ बुधवार
Newsdesk Shikharnews

नारायण गोपाल नेपालीका महान गायक, आज उनले भौतिकरुपमा यो संसार छोडेको २८ वर्ष भइसकेको छ । भौतिकरुपमा नारायण गोपाल हामी माझ नरहे पनि उनले स्वरबद्ध गरेका सुमधुर कालजयी गीतका कारण सदैव नेपाली श्रोताको मनमा राज गर्न सकिरहेका छन् ।

१९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको निधन २०४७ साल मंसीर १९ गते भएको थियो ।

समकालिन गायक प्रेमध्वज प्रधानका अनुसार सुरुवातकालमा नारायण गोपाल निकै लजालु गायक थिए । सार्वजनिकरुपमा उनी गाउँनभन्दा तबलावादनमा अग्रसर हुन्थे । जब रेडियो नेपालबाट स्वर परीक्षा उतिर्ण गरी सक्रियरुपमा गाउन थाले, उनको उपस्थिति नेपाली संगीतका लागी एउटा कोशेढुँगा बन्यो । भरखरै जग बसाउदै गरेको नेपाली सुगम संगीतका लागी नारायण गोपालले यस्ता गीतहरु गाए, जसले आजसम्म पनि नेपाली सुगम संगीतको क्षेत्रमा प्रतिनिधित्व गरिरहेको छ ।

रेडियो नेपालमा स्वर परीक्षा उतिर्ण गरे लगत्तै उनले रत्नसमसेर थापाको शव्दमा ६ ओटा गीत रेडियो नेपालमा रेकर्डिङ गरे । यो मौसम यो हरियाली, स्वर्गकी रानी मायाकी खानी लगायतका लगायतका ती गीतहरु तत्कालिन समयमा निकै फरक शैलीका भएकाले युवाहरुको ढुकढुकी बनेको गीतकार थापा सम्झन्छन् । नारायण गोपाल गीत गाउने र संगीत भर्ने मात्रै गर्दैनथे । उनी नयाँ नयाँ सोच र भाव भएका गीत लेख्न रत्नसमसेर थापालाई आग्रह गर्थे । नारायण गोपालको सोच र भावमा थापा पनि यस्तो गीत लेख्थे, रेकर्ड भएर आएपछि ती गीतले बजार पिट्थे । यस्तै एकपटक गीतकार थापाले तत्कालिन राजनितिक र सामाजिक परिस्थितिलाई व्यंग्य गर्दै गीत लेखे–‘बिहानीका तारा हामी सर्वहारा..’ । तर यो गीत त्यस समय प्रतिबन्धित भयो । यो गीतलाई केही समय अघि शिशिर योगीले गाएका छन् । कालीप्रसाद रिजालको शव्द रहेको अर्को गीत ‘आँखा छोपी नरोऊ भनी भन्नु प¥या छ’ पनि त्यसबेला प्रशासनको आँखामा बिझेको गीत हो । पञ्चायती शासनप्रणालीलाई व्यंग्य गरी लेखिएको आरोप लागेपछि स्पष्टिकरण दिनुपरेको गीतकार रिजाल बताउँछन् ।

काठमाडौँको नेवार समुदायका नारायण गोपाल सुमधुर सम्बन्ध दार्जिलिङबाट आएका संगीतकर्मिहरुसँग भयो । उनले दार्जिलिङकै युवती पेमलासँग प्रेम विवाह गरे । सांगीतिक सहकार्यको महत्वपुर्ण क्षण पनि दार्जिलिङबाट आएकाहरुसँग नै बिताए । दार्जिलिङकै गोपाल योञ्जनसँग त उनले मितेरी साइनो नै गाँसे । दुई मितज्यूको सयुक्त प्रयासमा यस्ता सिर्जनाहरु निस्किएका छन्– जुन आज पनि नेपाली संगीतको आधारस्तम्भका रुपमा रहेका छन् । काठमाडौको शहरी परिवेशमा हुर्किएका नारायण गोपालका गीतमा उपत्यका बाहिरका मानिसको भावना, पीडा र बेदना दार्जिलिङ्गेहरुको संगत पछि नै समेटिन थालेको गायक योगेश वैद्य बताउँछन् । उनका गीतका यस्तै विशेषताका कारण नारायण गोपाल नेपाललगायत नेपाल बाहिर बस्ने नेपालीमाझ पनि उत्तिकै लोकप्रिय बन्न सकेको योगेश बैद्यले बताए ।

नारायण गोपालले आफ्नो गायन अवधिमा धेरै कविलाई गीतकार बनाए । कालीप्रसाद रिजाल, ईश्वर बल्लभ, दिनेश अधिकारी लगायतका कविहरु नेपाली संगीतमा उच्च स्थान बनाउन सफल गीतकार हुन् । जसका शव्द नारायण गोपालले स्वरबद्ध गरे पश्चात यी कविहरुलाई गीतकारको समेत परिचय प्राप्त भयो ।

नारायण गोपाल गायन र संगीत सिर्जना बाहेक अन्य धेरै विषयका जानकार थिए । उनी समसामयीक राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनितिका साथै इतिहास र साहित्यको अध्ययनमा पनि निकै रुची राख्थे । उनमा तर्क शक्ति पनि बेजोड रहेको गीतकार नगेन्द्र थापा स्मरण गर्छन् ।

अहिले पनि नारायण गोपाल धेरै नवप्रवेशीहरुका प्रेरणा बनिरहेका छन् । गायन अभ्यासका लागी उनको गीत नगाउने कमै गायकगायीका होलान् । भौतिकरुपले उनी हामी माझ नरहेको दुई दशक बितिसक्दा पनि उनका गीतहरु नेपाली श्रोतको पहिलो रोजाइमा परिरहनु र ती गीतले नेपाली संगीतको प्रतिनिधित्व गरिरहनुले पनि स्पष्ट हुन्छ– नारायण गोपाल वास्तबमै स्वर सम्राट उपाधिको एक मात्र हकदार हुन् ।

सुरज खड्का