स्क्रब टाइफसः रोग पुरानो, महामारी नयाँ

२०७३ असोज १३ बिहीवार
Shikhar News
Spread the love
डा. दिनेश धरेल

हालसालै देशमा फैलिएको ‘स्क्रब टाइफस’ कुनै नयाँ रोग होइन। सायद हामीले ज्वरो आएका बिरामी जाँच गरेर किटानीका साथ उक्त रोग पत्ता लगाउन सकेका थिएनौं।

किनकि नेपाल जस्तो कृषिप्रधान तथा वन-बुट्यानहरु प्रशस्त भएको देशमा उक्त रोग पहिला पनि थियो र भविष्यमा पनि रहिरहने छ। बरु गत वर्षको भूकम्पमा मुसा बाहिर निस्केर र मानिसहरु खुला जमिनमा बस्नु पर्ने अवस्था आएर संख्यात्मक रुपमा बिरामीहरु बढेको हुनसक्छ।

दोश्रो विश्व युद्दको समयमा कतिपय एशियाली रणभूमिमा हतियारलेभन्दा स्क्रब टाइफसले धेरै सैनिक मरेका थिए। एक अनुमानअनुसार उक्त रोगबाट ३६ हजार भन्दा बढी सेनाको ज्यान गएको थियो। नेपालमै पनि २०५८ सालमा पाटन अस्पतालमा गरिएको एउटा अध्ययनमा ज्वरो आएका ८ सय ७६ बिरामीमध्ये २८ जनामा स्क्रब टाइफस देखिएको थियो।

गत वर्ष साउन-भदौ महिनामा पूर्वी पहाडबाट बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका र ज्वरोको कारण नखुलेका ६ जना बच्चामा स्क्रब टाइफस रोग भएको प्रमाणित भयो। इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले २०७२ असोज १८ गते सम्ममा मुख्यतया संखुवासभा, भोजपुर, खोटाङ, धादिङ, धनगढी, कैलाली, डोटी, अछामलगायत देशभर ७५ जनामा यो रोग देखिएको बतायो। विश्व स्वास्थ्य संगठनका विज्ञ टोलीमार्फत महाशाखाले गरेको अध्ययनले धादि। जिल्लामा मुसा र मानिसमा एक साथ स्क्रब टाइफस गराउने किटाणु फेला पार्‍यो।

यो वर्ष पनि मनसुन सुरुभए सँगै चितवन, संखुवासभा, भोजपुर लगायत देशका विभिन्न ठाउँमा उक्त रोग देखिएको छ। बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको बालरोग विभागमा मात्रै दुई महिनामा १५ जना बालबालिकामा स्क्रब टाइफस भएको प्रमाणित भैसकेको छ भने तीन जनाको यो रोगबाट मृत्यु भैसकेको छ। यसरी हेर्दा कतिपय ठाउँमा यसले मौषमी खालको महामारीको रुप लिएको देखिन्छ र अझै एक-दुई महिना यो रोग बढ्न सक्ने सम्भावना छ।

स्क्रब टाइफस जनावरबाट सर्ने रोग हो। यो रोग ट्रोम्बिक्युलीड माइट भन्ने किर्नाको टोकाईबाट मान्छेमा सर्छ। तर यो मान्छेबाट मान्छेमा भने सर्दैन। यो रोग गराउने रिकेट्सिया जातको किटाणु (ओरिएनसिया सुसुगामुशी) उक्त किर्नामा हुर्किन्छन् र आफ्नो जीवन चक्र चलाइरहन्छन्। जब शिगर भनिने नाङ्गो आँखाले देख्न नसकिने उक्त किर्नाको लार्भाले मुसाजस्ता साना स्तनधारी जनावर वा मानिसलाई टोक्छ, यो रोग लाग्छ। प्रायजसो वर्षातको समयमा घाँसपात र झाडीहरु बढ्ने हुँदा यो रोग फैलिने गर्छ। तर अन्य समयमा पनि र जंगल फडानी भएको ठाउँ, नदी किनार आदिबाट पनि स्क्रब टाइफस संक्रमण देखिएको छ।

के हो उक्त रोगको लक्षण?

संक्रमित किर्नाले टोकेको ५ देखि २० दिनपछि अकस्मात चर्को काम ज्वरो आउने र कसैकसैमा टाउको दुख्ने, वान्ता हुने, पखाला लाग्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, आँखा रातो हुने, छालामा डाबर आउने जस्ता लक्षण देखिन्छ। उक्त रोगका लक्षण अन्य रोगसँग पनि मिल्ने किसिमको हुन्छ।

किर्नाले टोकेको ठाउँमा दुख्दैन र बिस्तारै चुरोटको ठुटोले पोलेको जस्तो घाउ बन्छ। धेरै जसो घाँटी, कानको पछाडि, काखीमुनि वा कासनिर देखिने यस्तो घाउ केही बिरामीमा नदेखिन सक्छ र उनीहरुमा यो रोग झन् घातक हुने गरेको पाईएको छ।

Strubs

समयमा नै सहि उपचार नभएमा ज्वरो आएको एक हप्तापछि शरीरका प्रायजसो अंगमा रोगको गम्भीर असर देखिन थाल्छ। बिशेषगरी मस्तिष्क, मुटु, फोक्सो, रगत र मृगौलामा असर गरेपछि सघन उपचार चाहिने मात्र हैन, बिरामीलाई बचाउन नसकिने पनि हुनसक्छ। यस्ता प्राणघातक जटिलता साना बालबालिकाहरुमा छिटो र बढी देखिने गरेको हाम्रो अनुभव छ।

स्क्रब टाइफस फैलिरहेका बेला हामीले गर्नसक्ने महत्वपूर्ण काम यसबारे सचेतना जगाउनु हो। समयमै रोग चिनेर सामान्यतया प्रयोग गरिनेभन्दा अलि फरक एन्टीबायोटिक सही तरिकाले प्रयोग गर्दा यो रोग पूर्णतया निको पार्न सकिन्छ। तर ढिला हुँदा ज्यान पनि जान सक्छ भन्ने कुरा बिरामी र सबै तहका स्वास्थकर्मीले थाहा पाउनुपर्छ।

सुरुवाती लक्षणहरु टाइफाइड, डेंगु, मलेरिया, भाइरल ज्वरो जस्ता ज्वरोका अन्य कारणहरुमा जस्तै देखिने हुनाले स्क्रब टाइफस शंका गर्नु नै महत्वपूर्ण कुरा हो। बिरामीको शारीरिक जाँच, छातीको एक्स रे र केही रगत परीक्षण गरेर ज्वरो आएका बिरामीहरुमा यो रोग शंका गरिन्छ। तर स्क्रब टाइफस नै हो भनेर निदान गर्न भने तत्कालका लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला, टेकु, काठमाडौंमा रगतको विशेष परीक्षण गरेर मात्र सम्भव छ। त्यसैले रोग फैलिएका दुर्गम जिल्ला वा नजिक पर्ने ठूला अस्पतालमा समेत समयमै रोग पत्ता लाग्न सकिरहेको छैन।

हाल अस्पतालहमा नियमितरुपमा उपलब्ध नभए पनि स्क्रब टाइफस लगायत रिकेट्सिया संक्रमण पत्ता लगाउने जाँच धेरै महँगो, दुर्लभ वा प्राबिधिक रुपमा जटिल भने होइन। ट्रपिकल तथा सरुवा रोगहरुको लागि केन्द्र मानिएको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा समेत हाल यस्तो परीक्षण हुन सकिरहेको छैन। जब कि उपयुक्त रिअजेन्ट उपलब्ध हुनसके पि. सि. आर. जाँच गरेर यो रोग गराउने किटाणुको प्रजाति नै यकिन गर्न सकिने पूर्वाधार र जनशक्ति समेत यहाँ उपलब्ध छ।

स्क्रब टाइफसमा प्रयोग गरिने सबैभन्दा भरपर्दो औषधी डक्सीसाइक्लिन वा क्लोरामफेनिकोल हुन् जुन हामीले धेरै जसो संक्रमणमा प्रयोग गर्न औषधि होइनन्। यी दुईले काम नगेरेको अवस्थामा वा बच्चामा अजिथ्रोमाइसिन प्रयोग गर्न सिफारिस गरिएको छ। यी बाहेक प्राणघातक जटिलता उत्पन्न भयो भने सघन उपचार आवश्यक पर्छ।

उपचार नगर्दा स्क्रब टाइफसले ३० प्रतिशतसम्म बिरामीको ज्यान गएको तथ्यांकले देखाउँछ। बच्चाहरुमा भने ६० प्रतिशतसम्मको ज्यान जान सक्छ। तर समयमै उपयुक्त उपचार गर्दा धेरै जसोको जीवन रक्षा गर्न सकिन्छ।

दुर्भाग्यको कुरा आजसम्म स्क्रब टाइफस बिरुद्द प्रभावकारी खोप बन्न सकेको छैन र यो निकै चुनौतिपूर्ण पनि देखिएको छ। सामान्यतया रोकथामको लागि भनेर औषधी खान सिफारिस गरिएको छैन। तर खास खास अवस्थामा यो रोगबाट बचाउन केही समयको लागि पाँच दिनको फरकमा एक डोजको दरले डक्सीसाइक्लिन वा क्लोरामफेनिकोल खान सकिन्छ।

स्क्रब टाइफस रोग लाग्नबाट बचाउने एक मात्र विकल्प भनेको यो रोग सार्ने किर्नाको टोकाईबाट बच्नु वा किटाणु भण्डारण गरी राख्ने मुसाको नियन्त्रण गर्नु हो। त्यसका निम्ति विषादी लगायत विभिन्न उपाय अपनाउनुपर्छ। घर वरपर, खेल्ने चौर वा पार्कहरुमा वर्षाको बेलामा उम्रने झार-पात र बिरुवाहरु हटाएर किर्ना फैलनबाट रोक्न सकिन्छ। साथै खुला भुइँमा केही नओच्छाइ बस्ने वा सुत्ने गर्नु हुदैँन र पूरा शरीर छोप्ने कपडा लगाउनु पर्छ। बिशेषगरी बच्चालाई किर्नाको टोकाईबाट बचाउन अभिभावक चन%A

(thereader.com)