विमल घर्तीमगरको गोलमा थ्रीस्टारले भारतमा जित्यो बोर्डोलोई ट्रफी

२०७३ असोज १५ शनिवार
Shikhar News
Spread the love

तस्बिर सौजन्यः गोलनेपाल डटकम

नेपालको थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि शुक्रबार राति जितेको छ।
गुवाहाटीस्थित नेहरु रङ्गशालामा अबेर राति सकिएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले इस्ट बङ्गाल फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । थ्रीस्टारले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै उपाधि भिडन्तमा घरेलु टोलीइस्ट बङ्गाललाई निरास बनाएको हो।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको आठौँ मिनेटमा विमल घर्तीमगरले गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका हुन् । मध्यभागबाट बल अघि बढाउँदै मगरले गरेको कडा प्रहार गोलमा परिणत भएको हो।
यसअघि निर्धारित समयमै हारको नजिक पुगेको थ्रीस्टारका लागि अन्तम मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । रोजिन धिमालको फ्रिकिकमा तामाङको सटिक प्रहार गोलमा परिणत भयो । खेलको ८३ औँ मिनेटमा इस्ट बङ्गालले युरोपेली एडिलेजाको हेड गोल मार्फत खेलमा अग्रता लिएको थियो।
खेलको नवौँ मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए। विवादका कारण थ्रीस्टारका विजय गुरुङ र इस्ट बङ्गालका सामदअली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
थ्रीस्टारले यो उपाधि पहिलोपटक जितेको हो । सन् २०१० को प्रतियोगितामा थ्रीस्टार उपविजेतामा सीमित बनेको थियो। ट्रफीसँगै थ्रीस्टारले रु १६ लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित इस्ट बङ्गालले रु आठ लाखमा चित्त बुझायो। विजयी गोल गरेका थ्रीस्टारका मगर ‘प्लेयर अफ दि फाइनल’ घोषित भए। डिफेन्डर विजय धिमाल प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए। थ्रीस्टारकै फर्वार्ड मार्टिन चार गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए। रासस