सामान्य औषधिले निको हुने ‘स्क्रब टाइफस’

२०७३ असोज १७ सोमवार
Shikhar News Admin

नेपालमा अहिले एउटा नयाँ रोग ‘स्क्रब टाइफस’ प्रकोपकै रूपमा देखिएको छ । पछिल्लो केही महिनायता यो रोग देशका विभिन्न २२ जिल्लामा भेटिएको प्रमाणित भइसकेको छ । विश्वका अन्य देशमा यो रोग विभिन्न समयमा देखिए पनि नेपालमा भने अघिल्लो वर्ष मात्र भेटिएको प्रमाणित भएको हो ।
नेपालमा स्क्रब टाइफस रोग प्रमाणित भएयता यो रोगको संक्रमणका कारण आठजनाको ज्यान गइसकेको छ भने १ सय ७ जनाभन्दा बढी संक्रमित भइसकेका छन् । समयमा नै उचित उपचार गरे निको हुने यो रोग उपचारमा ढिलाइ गर्दा ज्यानमारा रोगका रूपमा चिनिन पुगेको हो ।
चिकित्सकका अनुसार सरकारले स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध गराएको र बजारमा समेत सहजै पाइने सामान्य एन्टिबायोटिकको सेवन गर्दा नै यो रोग पूर्ण रूपमा निको हुन्छ । तर, समयमा नै औषधि नखाँदा र उपचारका लागि चिकित्सककहाँ नपुग्दा केहीको मृत्यु भइसकेको छ ।
सरकारले ‘डक्सिसाक्लिन’ नामक एन्टिबायोटिक सरकारी स्वास्थ्य संस्थामा निःशुल्क रूपमा पाइने व्यवस्था गरेको छ । बाहिर किन्नुपर्दा पनि यो औषधि ३० रुपैयाँको हाराहारीमा पाइन्छ । यस्तै अर्को औषधि ‘टेट्रासाइक्लिन’ को सेवनबाट पनि यो रोगबाट पूर्ण रूपमा जोगिन सकिन्छ । तर, रोगबारे जानकारी नहुँदा र समयमा नै औषधि नखाँदा मानिसहरू जटिल समस्या लिएर अस्पताल पुग्ने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्माले बताए ।
अमेरिकी सैनिकमा सन् १९७० मा यो रोग देखापरेपछि यो रोग पहिचानमा आएको थियो । त्यसयता विश्वका थुप्रै देशमा यो रोगको प्रकोप देखिएको छ । नेपालमा भने भर्खरै मात्र पहिचानमा आएको हो । यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनो देखेर पनि गरिन्छ । यसमा रगत परीक्षणअन्तर्गत सीबीसी काउन्ट, लिभर फंग्सन टेस्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षणसमेत गर्न सकिने डा. मदन उपाध्यायले बताए ।
‘स्क्रब टाइफसको आशंका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधि दिन सकिन्छ,’ उनले भने, ‘लक्षणका आधारमा नै एन्टिबायोटिक दिने हो भने ४८ घण्टामा नै बिरामीको अवस्थामा नाटकीय सुधार आउनेछ ।’ उनले स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा दीर्घकालीन रूपमा सुन्ने क्षमता गुम्नु, निम्न रक्तचाप, अंगमा क्षति र मिर्गाैला फेल हुनु, निमोनियाको संक्रमण देखिनु, छारे रोगको लक्षण, अन्योल, सुस्त हुने, मासु कुहिनु आदि समस्या देखिन सक्ने एनएचएसले जनाएको छ । यस्ता बिरामी बहुअंग विकार (मल्टिअर्गन डिजअर्डर) को अवस्थामा पुग्ने बताए ।
स्क्रब टाइफस उपचारका लागि सरकारले देशभरका स्वास्थ्यचौकी तथा अस्पताललाई तयारी अवस्थामा राखेको डा. शर्माले जानकारी दिए । उनका अनुसार यो रोग संक्रमण भएपछि दिइने औषधि र जानकारी सबै तहका स्वास्थ्य संस्थामा पुगिसकेको छ । यसको उपचार सामान्य स्वास्थ्यकर्मीले समेत गर्न सक्छन् ।
के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस’ यो एक प्रकारको सरुवा रोग हो । यो ‘ओरिनसिया सुसुगामुसी’ नामक जीवाणुले गर्दा हुन्छ । झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ (सूक्ष्म कीरा) नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस देखिने गर्छ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुन्छ । यसको सबैभन्दा ठूलो समस्या भनेको रोग पहिचान गर्न हुने गर्छ । अन्य रोगमा जस्तै रुघा लाग्ने, ज्वरो आउनेजस्ता कमन लक्षणहरू देखिने हुँदा मानिसहरू झुक्किने गरेका छन् । त्यही झुक्किने कारणले गर्दा सामान्य उपचारमा निको हुने बिरामी पनि गम्भीर अवस्थामा अस्पताल आइपुगेर मृत्युवरण गर्नुपरेको अवस्था छ । बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार रिकेटसियाबाट संक्रमित जुम्राको टोकाइबाट समेत यो संक्रमण हुन्छ ।
यसरी सर्छ
मुसा (माइट) प्रजातिमा पाइने लार्भा चरणको ‘टोम्रविक्युलिट माइट’ नामक वाहकले यो रोग सर्दछ । यो मुसाको कान वा अन्य जीवजन्तुमा पनि भेटिन्छ । यो प्रायः झारपात, तथा झाडीमा पाइने भएकाले त्यस्ता ठाउँमा रहेर काम गर्नेहरू बढी सचेत हुनुपर्छ । माइटले मानिसलाई टोकेमा मात्र यो रोगको संक्रमण हुने सम्भावना बढी हुन्छ । तर, मानिसबाट मानिसमा भने सर्ने सम्भावना हँुदैन । विशेष गरी, हातगोडा खुला राखेर धान गोड्ने, झाडीमा पस्ने मानिसले लामो बाउलाका कपडा लगाउने, लामो जुत्ता प्रयोग गर्ने गर्दा उपयुक्त हुन्छ ।
‘माइट’को जीवनचक्र एग, लार्भा, निम्फ र एडल्ट गरि चार चरणमा पूरा हुने भए पनि, लार्भायुक्त अवस्थाले मात्र यो रोग सार्दछ । ‘माइट’ले टोकेको भागमा कालो रङको ‘ब्ल्याक इसकार’बग्छ, जसबाट स्क्रब टाइफसको प्रारम्भिक पहिचान गर्न सहयोग पुग्दछ । विशेष गरी यो रोग लागेको माइटले टोक्दा वा यसबाट संक्रमित मानिस तथा खाद्य पदार्थको सम्पर्कबाट यो रोग सर्दछ ।
चिकित्सकका अनुसार यो रोग संक्रमण भएपछि मानिसलाई उच्च ज्वरो आउँछ । कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, टाउको असाध्यै दुख्ने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने समस्या हुन्छ । साथै, परजीवीले टोकेको स्थानमा सानो घाँउजस्तो देखिन्छ र क्रमश बढ्दै जान्छ । यो रोगको समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिइ बिरामीको मृत्यु हुने चिकित्सक बताउँछन् ।
‘कडा ज्वरो आएको छ भने स्क्रब टाइफस पनि हुन सक्छ । त्यसैले तत्काल स्वास्थ्यचौकी पुगिहाल्नुपर्छ,’ डा. शर्माले भने, ‘यसको जोखिम भनेकै छिट्टै अन्य अंगमा पनि संक्रमण गराउने भएकाले मृत्युको जोखिम बढेको हो ।’ विगतमा यो रोगबारे जानकारी नहुँदा र यसका लक्षण अन्य रोगसँग मिल्ने हुँदा अन्य रोग भनेर नै उपचार गर्ने गरिएको डा. शर्माले बताए ।
जोखिममा को को ?
सामान्यतया यो परजीवी झाडी तथा फोहोर स्थानमा हुने गर्छ । त्यसकारण यसको जोखिममा धेरैजसो कृषिजन्य काम गर्ने मानिसहरू नै पर्दछन् । डा. मदनकुमार उपाध्यायका अनुसार स्क्रब टाइफस फैलाउने सूक्ष्म कीरा मुख्यतः झाडी, घाँस जंगल, खेतको छेउछाउ, पहाडी इलाका आदि भएको ठाँउमा रहने मुसा प्रजातिका जनावरमा बढी पाइन्छन् । त्यसै गरी वर्षा याममा पनि शहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो कीराले टोक्ने खतरा रहने भएकाले यो क्षेत्रमा बस्ने मानिसहरूको यो रोगको जोखिम बढी रहन्छ ।
पछिल्लो समयमा यो रोग नेपालमा चितवनमा सबैभन्दा बढी देखिएको छ । विशेष गरी नेपालमा बालबालिकाहरूमा संक्रमण बढी पाइए पनि यो सबै उमेर समूहमा देखिने डा. उपाध्यायले बताए । ‘व्यक्तिगत सरसफाइ, खाद्य स्वच्छता तथा किर्ना र मुसाको प्रत्यक्ष तथा अप्रत्यक्ष संक्रमणबाट जोगिनुपर्छ’ उनले भने, ‘संक्रमणको सुरुमै उपयुक्त एन्टिबायोटिकले उपचार गर्दा रोग निको हुन्छ ।’
उनका अनुसार घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडी हटाएर जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सीधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिन सक्छ । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पञ्जा लगाउँदा रोगबाट जोगिन सकिन्छ ।

लक्षण
– १०५ डिग्रीसम्म ज्वरो आउने
– टाउको दुख्ने
– जिउ दुख्ने
– खोकी लाग्ने
– गर्धन र घाँटीवरपर मसिना बिबिरा आउने
– धेरै पसिना आउन
– परजीवीले टोकेको स्थानमा घाउ देखिने
– भोक नलाग्नु
– वाकवाकी लाग्नु
– शरीर काम्नु
– आँखाको म्युकस मेमरेनको संक्रमण हुनु
–सास फेर्न समस्या हुनु,
– शरीर बाउँडिनु
– बिरामीको गम्भीरताअनुसार रगतमा प्लेटलेटसको संख्या कम हुनु

बच्ने उपायहरू
– घरवरपरको सरसफाइमा ध्यान दिने
–झाडीमा जाँदा लामो बाहुला भएको कपडा तथा गम्बुट लगाउने
–व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने
– सूक्ष्म जीवहरू (माइट) जस्तै सुलसुले, उपियाँ, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने
– घर वरपर झारपात तथा घाँसपात उम्रन नदिने ।
– खुला चौर या बगैँचामा नसुत्ने
–लक्षण देखिनासाथ उपचारका लागि जाने

from:sukrabar

https://starsoffline.com/