युएई, २४ असोज – संयुक्त अरब इमिरेट्स युएई को अबुधाबीमा एक नेपालीले चक्कु प्रहार गर्दा अर्का एक नेपाली युवकको ज्यान गएको छ।
एउटै कम्पनीमा कार्यरत नेपालीबिच दसैँ मनाउने क्रममा भएको सामान्य भनाभनले उग्र रुप लिएको हो।
आबुधाबीको तन्जिफ्को नामक क्लिनिङ कम्पनीमा कार्यरत जनकपुरका विरेन्द्र साहले छुरा प्रहार गर्दा त्यही कम्पनीमा कार्यरत पाँचथरको प्राङ्बुङ-८ का रञ्जित खपाङगीको ज्यान गएको हो।
गएको बिहीबार दसैँ मनाउने भन्दै आबुधाबीको अल सहामामा रहेको कामदार बस्ने क्याम्पमा उनीहरुले बजारबाट खसी किनेर ल्याएका थिए । शुक्रबार सार्वजनिक बिदा भएकोले बिहीबार बेलुका उनीहरु रमाइलो गरिरहेका थिए । खसी काटेपछि मासुसँगै रक्सी खाएका उनीहरुबिच सामान्य विषयमा झगडा भएको थियो । त्यहाँ रहेका अरु नेपालीले उनीहरुलाई सम्झाएपछि झगडा रोकिएको थियो ।
तर राति खपाङगी पिसाब गर्न शौचालय जाने क्रममा साहले पिटेका थिए। साहले तरकारी काट्ने चक्कुले खपाङगीको पेटमा हानेको र उनको ज्यान गएको अरु नेपालीले बताएका छन् । अत्यधिक रगत बगेकोले खपाङगीको अस्पताल लैजाने क्रममा ज्यान गएको कम्पनीले जनाएको छ।
खपाङगी र हत्यामा संलग्न साह क्लिनरको रुपमा कार्यरत थिए । साहलाई आबुधाबी प्रशासनले छानबिनका लागि पक्राउ गरेको छ । खपाङगीको शव आबुधाबीकै अस्पतालमा राखिएको र घटनाबारे प्रहरीले अध्ययन गरिरहेको कम्पनीले जनाएको छ ।
खपाङगी र साहका परिवारलाई कम्पनीले शनिबार खबर गरेको र प्रहरीको अध्ययन प्रतिवेदनपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव नेपाल पठाउने कम्पनीका एचआर कोअर्डीनेटर अरुण बालाजीले जानकारी दिए। उज्यालो अनलाइनबाट साभार