भुपु प्रहरीद्वारा आफ्नै भाउजूको हत्या…

२०७३ कात्तिक १ सोमवार
NewsDesk ShikharNews

पूर्वप्रहरीका एक जावनले उदयपुरबाट अपहरणको शैलीमा भाउजूलाई ल्याएर मोरङको बेलबारी नगरपालिकाको बेतना जंगलमा हत्या गरेका छन् । हत्याका विषयलाई लिएर गाउँले आन्दोलित हुँदा प्रहरीद्वारा दुई दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गर्नु परेको छ । 

बेल्टारबसाहा नगरपालिका ३ सिर्वानीका पूर्वप्रहरी जवान ३० वर्षीय सुवास कटुवालले आफ्नै माइली भाउजू २८ वर्षीया भीमकुमारी कटुवालाई असोज २३ गते आइतबार आर्थिक प्रलोभनमा पारी घरबाटै बोलाई इटहरीबाट अपहरण शैलीमा बेतना जंगल क्षेत्रमा लगेर हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए । 
नौ महिना पहिले मात्रै जागिर छाडेर हिँडेका सुवासले भाउजूले श्रीमतीले छोडिसकेको भन्दै गाउँमा हल्ला फिजाउँदा बेइज्जत भएकाले प्रतिशोधमा हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरी निरीक्षक थापाले बताए । ‘प्रहरी जवान कटुवाललले अवैध रूपमा कमाएको २ लाख रुपैयाँ बेतनाको जंगलमा गाडेकाले त्यो रकम लिन जाऊँ भन्दै जंगल क्षेत्रमा लगेर हत्या गरेको’ प्रारम्भिक बयानमा उल्लेख गरिएको छ । अवैध रकममध्ये भाउजूलाई पनि आधा दिने भन्दै जंगलमा लगेर धारिलो हतियार (खुकुरी) ले जीउका विभिन्न भागका साथै टाउकोमा प्रहार गरेको प्रहरी निरीक्षक थापाले बताए । भाउजूको हत्यापछि दकम पुगेर विषादी खरिद गरेका कटुवाले मोरङ सिजुवामा रहेको ससुराली घरमा पुगेर सासू, श्रीमती र सालीलाई हतियार प्रहार गरी विष सेवन गरेको प्रहरीले जनाएको छ । कटुवालका सासू, श्रीमती र सालीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । जागिर छाडेको नौ महिनायता उनी विभिन्न अपहराधमा संलग्न हुँदै मुलुकका विभिन्न भागमा घुम्दै हिँडेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
विष सेवनपछि सिकिस्त भएका पूर्वप्रहरी जवान कटुवालको प्रहरी सुरक्षा घेरामै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक थापाले बताए । हत्या गरिएकी भीमकुमारीका श्रीमान् राजेन्द्र कटुवाल पनि प्रहरीमै कार्यरत छन् ।
श्रीमतीको शव लिएर उदयपुरको बेल्टरबसाहा पुगेका राजेन्द्रलाई कारबाहीको माग गर्दै स्थानीय आन्दोलित भएपछि प्रहरीसँग झडप भएको छ । आक्रोशित गाउँलेले राजेन्द्रकै मिलेमतोमा हत्या भएको बताएका छन् । गाउँलेले प्रहरी कार्यालयको गेट नै तोडफोड गरी शवसहितको वाहन कार्यालय परिसरमा राखेर आन्दोलन गरेपछि प्रहरीले दुई दर्जनभन्दा बढी अश्रुग्याससहित लाठी र्चाज गरेर भीड तितरविपरीत पारेको प्रहरी निरीक्षक सिलवालले बताए । घटनापछि राजेन्द्रका जेठा दाजु केशवले शव बुझी बिहीबार नै दाहासंस्कार गरेका छन् । राजेन्द्र, उनकी आमा र दुई भाइहरू अहिले इलाका प्रहरी कार्यालयको नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ ।

श्रोत