New from Nepal

राजधानी फर्कने यात्रु र गाडी र मानिसहरुको चाप बढ्न थाले

काठमाडौँ – दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिएका मानिस फर्कन थालेका छन् । विभिन्न पेशा व्यवसाय गर्दै राजधानीमा अस्थायी बसोवास गर्दै आएका मानिस दसैं मनाउन आफ्नो जन्मथलो जाने र अब दसैं पछि फर्कने भएकाले गाडीहरुको भीड बढेको छ ।

यद्यपि दसै मान्न गएका सबै मानिस नफर्कने भएकाले दसैं अघि बाहिरिने यात्रुको तुलनामा हाल फर्कने यात्रु कम हुन्छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार दसैंको टीका लगाएर पूर्णिमासम्म ५० प्रतिशत मानिस काठमाडौं फर्कन्छन् भने ५० प्रतिशत मानिस तिहार पर्व मनाएर मात्र फर्किने गर्छन् । उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी मानिस दसैँ मनाउन वाहिरिएका थिए ।

उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङल्हामु मार्ग र टोखा–छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यबाट फर्किरहेका छन् ।

महासचिव सिटौलाले दसैँका अवधिमा कुनै अप्रिय घटना नघटेको तथा विगतका दसैँभन्दा यसपालि यात्रु सहज तरिकाले गन्तव्यमा पुगेको र फर्कदा पनि सहज भएको बताए ।

दसैँलाई लक्षित गरी अहिले सानाठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासंघले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजारदेखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।

महासंघले यात्रुको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहज रुपमा जानसक्ने व्यवस्था गरेको छ ।