४६ वर्षे कर्म शेरपवाङ्छु लामा काठमाडौंमा हस्तकलाको व्यापार छाडेर अहिले मनाङको भ्राकामा तरकारी खेती गरिरहेका छन्। काठमाडौंमा रहँदा उनले हस्तकलाको सामान हङकङ र ताइवानसम्म पुर्याउने गर्दथे। भ्राकामै हुर्केका लामालाई घरपरिवारको रमाइलो भने काठमाडौंले दिन सकेन। काठमाडौंमा बसे पनि मन भने सधैजसो भ्राकामै डुल्ने गरेको लामा बताउँछन्।
उनले भने ‘मेरो घरपरिवार दाई, दिदी सबै यतै, दाईले यतै आउन भन्नुभो, त्यसैले ह्यान्डीक्राफ्टको व्यवसाय छाडेर तरकारी खेती रोजेँ।’
उनका दाई भिक्षु हुन् भने दिदी आनी। दुबैजना गुम्बामा बसेका छन्। लामा पनि गुम्बामै हुर्केका हुन्। परिवारको आग्रह अनुसार नै उनले गाउँमा फर्केर केही व्यवसाय गर्ने सोच बनाए। स्याउ खेती गर्छु भन्दै गाउँ फर्केका लामाले गाउँमा स्याउ खेतीको लागि भने जति जग्गा भाडामा लिन पाएनन्। ‘लामो प्रयासपछि केही जग्गा भाडामा मिल्यो जसमा स्याउ खेती भन्दा तरकारी खेती नै उचित देखेँ’ उनले भने।
मनाङको उपल्लो भागमा जाडोभरि हिउँ पर्छ। जसका कारण परम्परागत रुपमा बाह्रै महिना खेतीपाती भने असम्भव जस्तै छ। तर उनले ‘ग्रिन हाउस’ निर्माण गरेर बाह्रै महिना तरकारी खेती गर्न लागेका छन्।
झन्डै १९ लाख लागत रहेको उनको कृषि फार्ममा टमाटर, बन्दा र फुलगोपीको उत्पादन भइरहेको छ।
थोरै जनसंख्या भएको मनाङमा खासै काम गर्ने मानिसहरु छैनन्। जसका कारण पनि तरकारी खेती हुन सकेको छैन। पर्यटकीय क्षेत्र भएका कारण अधिकांश मानिसहरु पर्यटन सम्बद्ध व्यवसायमै संलग्न छन्। तर होटलहरुमा भने लमजुङको बेशीसहरदेखि तरकारी पुग्ने गर्दछ। मनाङमा आवश्यक तरकारी आफ्नै जिल्लामा उत्पादन गर्ने उद्देश्यले लामा अहिले तरकारी खेतीमा जुटेका छन्।
बुद्ध धर्म मान्ने भएका कारण उनी तरकारीमा कुनै पनि बिषादी हाल्न चाहँदैनन्। उनले भने ‘फुलगोपीमा कीरा लाग्न थालेको छ तर धर्मअनुसार मार्नु हुँदैन, त्यसैले बिषादी हालेको छैन।’ उनले ‘ग्रामीण कृषि कार्यकर्ता’ नामक ५१ दिने तालिम समेत गरेका छन्। जसले उनलाई तरकारी खेती गर्न निकै सहज बनाएको छ।
केही समयअघि मनाङमा भएको कृषि मेलामा उनले उत्पादन गरेको टमाटर पहिलो र फूलगोपी दोस्रो भएको थियो। जसले उनलाई झनै हौसला बढाएको छ।
उनले अहिले तरकारी उत्पादन गरेर चामे र मनाङ बजार सम्म पुर्याउने गरेका छन्। उनको तरकारीले बजारभाउ पनि राम्रो पाएको छ। अहिले प्रतिकेजी ७० रुपैयाँमा फूलगोपी बेचिरहेको लामा बताउँछन्। कुल १९ लाख लगानी रहेको उनको फार्ममा झन्डै १५ लाख रुपैयाँ एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त कार्यक्रम हिमाली परियोजनाले अनुदान दिएको छ। ४ लाख रुपैयाँ उनले आफ्नै लगानी गरेका छन्।