New from Nepal

‘स्मार्ट सिटी’ बन्दै काठमाडौं

काठमाडौः सहरको बीचमा अग्लो बिजनेस टावर, चौंडा सडक अनि भूमिगत पार्किङ । बिदामा घुम्नका लागि प्रशस्त मनोरञ्जन पार्क र यात्राका लागि केवलकार अनि मेट्रो रेल पनि । यस्तै, म्युजिकल वाटर फाउन्टेन पोखरी र नेटवर्क आर्क ब्रिजको थप सुन्दरता । यो कुनै विकसित सहरको कथा होइन, केही वर्षभित्र बन्न लागेको राजधानीको चित्रण हो ।
राजधानीमा यस्ता परियोजना बन्दैछन् जसले कुरुप हुँदै गइरहेको सहरलाई सुन्दर बनाउनेछ । काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण र निजी क्षेत्रले आधुनिक सहर बनाउन लागेका हुन् । यहाँ महत्वकांक्षी डेढ दर्जन परियोजना बन्दैछन् । केही परियोजनाको काम सुरु भइसकेको छ । बाँकी परियोजना विस्तृत सम्भाव्यता प्रतिवेदन (डीपीआर) तयार भई निर्माणको तयारीमा छन् । आगामी चार÷पाँच वर्षभित्र सबै परियोजना सिध्याउने सम्बन्धित निकायको लक्ष्य छ ।
images-6
निर्धारित समयमा काम सम्पन्न भएमा काठमाडौं केही वर्षभित्रै आधुनिक र व्यवस्थित सहर बन्नेछ । तर, समयका काम हुनेमा शंका छ । नेपालमा धेरै राम्रा योजना बनेर पनि कार्यान्वयन नभएका धेरै उदाहरण छन् । महानगरले धेरै महत्वकांक्षी परियोजना अगाडि सारेको छ । यी परियोजनाको लागत उच्च छ । त्यसैले लगानीकर्ता खोजेर निर्माण गर्न कठिनाइ देखिन्छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा परियोजना निर्माण गर्न महानगर कस्सिएको हो ।
विकासका योजना
भूकम्पले भत्किएको धरहरा पुरानै डिजाइनमा आधुनिक र भव्य बनाउन लागिएको छ । वाटर फाउन्टेन, म्यूजियम, थिएटर, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङसहितको ११ तले धरहराको स्केच तयार भइसकेको छ । धरहरामा लिफ्ट हुनेछ । तीन वर्षभित्र निर्माण गरिसक्ने धरहरामा करिब तीन अर्ब लगानी हुनेछ । धरहरा बनाउन जनताबाट रकम संकलन भइरहेको छ । अपुग रकम लगानी गर्न नेपाल टेलिकम तयार देखिएको छ ।
66294763
पुरानो बसपार्कमा २९ तले भ्यू टावर निर्माण सुरु भएको छ । जलेश्वर-स्वच्छन्द बिकोइ कम्पनीले टावर निर्माण गर्दैछ । सुरुमा १२ तलाको मात्र भवन निर्माण हुनेछ । दोस्रो चरणमा २९ तलाको बनाइनेछ । टावरमा बस टर्मिनल, होटेल, रेस्टुरेन्ट, फिटनेस हल, सेमिनार हल, मल्टिप्लेक्स हल, स्विमिङ पुल, सपिङ सेन्टरलगायत रहनेछन् । टावर निर्माणमा ६/७ अर्ब लगानी हुने अनुमान छ ।
खुलामञ्च र लैनचौरमा भूमिगत बहुतले पार्किङ बनाउँदैछ, महानगर । पीपीपी मोडलमा बनाइने पार्किङको डीपीआर तयार भइसकेको छ । दुवै ठाउँमा बजार, कफीसप र पसल पनि हुनेछन् । खुलामञ्चमा तीन अर्ब र लैनचौरमा ७५ करोड लगानीको अनुमान छ । यस्तै, धर्मपथमा आधुनिक स्वचालित पार्किङ बनाउन महानगर कस्सिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बहुतले पार्किङ तयार भइसकेको छ ।
तीनकुनेको ५० रोपनी खाली जमिनमा मनमोहक शान्ती मण्डला बनाउन लागिएको छ । यहाँ महानगरले धार्मिक तथा आध्यात्मिक पार्क बनाउन लागेको हो । यसले सिंगो राजधानीको मुहार परिवर्तन गरिदिनेछ । शान्ति मण्डला निर्माण गर्न चीनको छेन्दु नगरपालिकाले चासो देखाएको छ । प्रारम्भिक डिजाइनमा मण्डलाभित्र १६ मिटर अग्लो बुद्धको मूर्ति राखिनेछ । मन्डला निर्माणका लागि करिब सवा करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
चन्द्रागिरि डाँडामा केवलकार सञ्चालनमा आइसकेको छ । यसले राजधानीमा घुम्न जाने ठाउँको अभाव केही हदसम्म कम गरेको छ । केवलकार साढे दुई किलोमिटर लामो छ । झन्डै २६ सय मिटर उचाइमा रहेको चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यका पूरै देख्न पाइन्छ । साथै, एक सय ८० डिग्री रेन्जमा हिमाल, वरिपरी पहाड, दक्षिणतर्फ तराईको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यही ठाउँमा पाँचतारे होटेल बनिरहेको छ । परियोजनाको कुल लागत तीन अर्ब रुपैयाँ छ ।
रानीपोखरीलाई ‘म्युजिकल वाटर फाउन्टेन’ पार्कमा परिणत गरिँदैछ । निर्माण कार्य सुरु भइसके पनि अहिले विवादले काम रोकिएको छ । विदेशको झल्को मेटाउने गरी पार्क बनाउन लागिएको हो । वाटर फाउन्टेन तयार छ । मन्दिर र छेउमा बस्नका लागि पार्क निर्माण कार्य सुरु भएको छ । वरिपरी गार्डेन हुने रोनीपोखरीमा दुई घन्टा बिताउन सकिनेछ ।
थापाथलीको कालमोचन घाटदेखि टेकु दोभानसम्मको साढे दुई किलोमिटर क्षेत्रमा सम्पदा पदमार्ग बनाइनेछ । महानगरपालिकाले बागमती किनारका सम्पदा अवलोकनका लागि सम्पदा मार्ग बनाउन लागेको हो । यो धार्मिक पर्यटक, पुराना सम्पदाका पारखी, विदेशी पर्यटक र अध्ययनमा चासो राख्ने सबैको गन्तव्य हुनेछ ।
यसले बागमती किनारमा रहेका पुरातात्विक महत्वका सम्पदा, धर्म, कला र संस्कृतिको धरोहरलाई जोगाउन सघाउ पुग्नेछ । साथै, सहरको कोलाहलबाट मुक्ति चाहनेका लागि उत्कृष्ट पैदलयात्रा गन्तव्य हुनेछ । यस परियोजनामा झण्डै आठ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
भित्री चक्रपथ विस्तार गरी आठ लेनको बनाइँदैछ । पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म विस्तार कार्य जारी छ । २७ किलोमिटर चक्रपथ १० वर्षभित्र विस्तार गरिसक्ने लक्ष्य राखिएको छ । पहिलो चरणको १०.९ किलोमिटर सडक २०७३ भित्र सम्पन्न गर्ने बताइएको छ । चीन सरकार दोस्रो चरणको विस्तारमा पनि सहयोग गर्न इच्छुक देखिएको छ । पहिलो चरणको विस्तारमा चीन सरकारले पाँच अर्ब लगानी गर्दैछ । सडकमा दायाँबायाँ सर्भिस ट्र्याक, डिभाइडर, हरियाली बगैंचा बनाइनेछ । पूरै चक्रपथ विस्तार गर्न र नौवटा आकासे पुल बनाउन १३ अर्ब लाग्ने अनुमान छ ।
अहिले बाहिरी चक्रपथ चर्चामा छ । यसले राजधानीमा थप सुन्दर र व्यवस्थित बनाउनेछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले चक्रपथको नक्सा तयार पारी काम सुरु गर्न लागेको छ । उपत्यकाका तीन जिल्ला जोड्ने यो चक्रपथको अवधारणा ११ वर्षअघि तयार भएको थियो । प्राधिकरणले चरणवद्ध रूपमा निर्माण कार्य सुरु गर्न लागेको हो । यो चक्रपथ ७२ किमीको प्रस्ताव गरिएको छ । यो पनि आठ लेनको हुनेछ । सडकका दुवै भागमा साइकल ट्र्याक, ग्रिनरी बेल्ट, फुटपाथ रहनेछ ।
राजधानीमा सिटी अर्वान केवलकारको डीपीआर तयार भइसकेको छ । यहाँका चार ठाउँबाट केवलकार सञ्चालन गर्न सकिने पहिचान भएको छ । फ्रान्सका दुई कम्पनीले हालैमात्र डीपीआर तयार पारेका हुन् । लगनखेल–जमल, टंकेश्वर–गोंगबु, कलंकी–रत्नपार्क र बौद्धनाथ–विष्णुमतीमा केवलकार सञ्चालन गर्न सकिनेछ ।
पहिलो चरणमा बौद्धनाथदेखि विष्णुमतीसम्म सात किलोमिटर लामो केवलकार सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यो केवलकार लाइनमा २५० वटा गुन्डुला हुनेछन् । एउटा डब्बामा १२ जना अटाउने र सबै गुण्डुलाबाट एक दिनमा ७० हजार यात्रुलाई सेवा दिन सकिनेछ । पहिलो चरणको केवलकार निर्माणका लागि १० अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । यसले काठमाडौं सहरको स्वरुप परिवर्तन गर्नेछ । यो परियोजनामा स्वदेशी विदेशी लगानीकर्ता सहभागी हुनेछन् ।
काठमाडौंमा मेट्रो रेल चलाउने बहस पुरानो भइसक्यो । तर, अपेक्षित काम अगाडि बढ्न सकेको छैन् । मेट्रो रेल सञ्चालन गर्न सकेमा उपत्यकाको ट्राफिक कम हुनेछ । साथै, राजधानीको स्वरुपसमेत परिवर्तन हुनेछ ।
काठमाडौं उपत्यकाको चक्रपथमात्र होइन, भित्रि सडक पनि विस्तार भइरहेको छ । सडकमा सोलार स्ट्रिट लाइट जडान गरेर सहरलाई झिलिमिली बनाउने काम तीव्र गतिमा भइरहेको छ । मुख्य सडक र चोकमा बिजुली, फोन, इन्टरनेट, केवलका तार अन्डरग्राउन्ड गरिँदैछ । यसले सहरको चमक झन बढाउँदै गएको छ ।
माइतीघरदेखि सूर्य विनायकसम्मको सडक ६ लेनमा विस्तार भएको छ । त्रिपुरेश्वरदेखि नागढुंगासम्मको सडक विस्तार कार्य जारी छ । सहरका सडक चौडा हुँदा आकर्षक र सुन्दर देखिन्छ । यस्तै, बागमती, विष्णुमती, धोवीखोला किनारमा पार्क बनाइँदैछ । यी परियोजना सम्पन्न भइसक्दा कंक्रिटको जंगल राजधानी सुन्दर सहरमा परिणत भइसक्नेछ ।
राजधानीमा बन्न लागेका परियोजना

. लिफ्ट चढ्ने आधुनिक धरहरा
. २९ तले काठमाडौं भ्यू टावर
. खुलामञ्च, लैनचौर, धर्मपथ, एयरपोर्टमा बहुतले पार्किङ
.तीनकुनेमा शान्ती मण्डला
.आधुनिक रानीपोखरी
. आठ लेनको भित्री तथा बाहिरी चक्रपथ
. बागमती सम्पदा मार्ग
. सुविधा सम्पन्न बसपार्क
. बिजुली बजार, तीनकुनेमा नेटवर्क आर्क ब्रिज
. त्रिपुरेश्वर नागढुंगा सडक विस्तार
. सडकमाथि केवलकार
. सडकमा सोलार स्ट्रिट लाइट
. चन्द्रागिरि केवलकार

श्रोत: अन्नपूर्ण पोस्ट
तस्बिर : समीप गौतम
शिखरन्युज