New from Nepal

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको गतिविधि मर्यादा विपरित : मन्त्री थापा

कार्तिक २, २०७३- स्वास्थ्य मन्त्री गगन थापाले अख्तियार दुरुपयोग आयोगका प्रमुख लोकमानसिंह कार्कीले पदीय मर्यादा विपरित गतिविधि गरिरहेको बताएका छन् । बेनी अस्पताल म्याग्दीको फार्मेसी कक्ष उद्घाटन तथा जनरल एनेस्थेसिया मेशिन हस्तान्तरण गर्न म‌ंगलबार यहाँ आएका थापाले संञ्चारकर्मीसँग यस्तो बताएका हुन् । अख्तियार प्रमुख कार्कीका गतिविधि पदीय मर्यादा र जिम्मेवारीबाहिर रहेको उनले बताए ।

‘अख्तियार प्रमुख कार्की विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले मन्त्रीको हैसियतमा मैले बोल्न सक्दिन । तर, मेरो ब्यक्तिगत बुझाई के हो भने कार्कीको आचरण र ब्यवहार पदीय मर्यादा विपरित छ,’ उनले भने, ‘डा. केसीले उठान गरेका मुद्दाहरुमा म सहमत छु । निकास निकाल्न प्रयत्न भइरहेको छ ।’

कांग्रेस कार्यकर्तासँगको छुट्टै भेटघाटमा उनले स्थानीय निकायको निर्वाचन ढिलोमा बैशाख १५ भित्र हुने भएकोले तयारीमा जुट्न निर्देशन दिए । नेपाली राजनीतिमा अन्तिम समयमा मात्रै सहमति हुने चलनले यसपटक पनि निरन्तरता पाउने भएकोले यही सरकारले स्थानीय निकायको निर्वाचन गराउने दाबी उनले गरे ।

मन्त्री थापाले अस्पतालको कार्यक्रममा फार्मेसी कक्ष उद्घाटनसँगै जनरल एनेस्थेसिया मेशिन जिल्ला अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरे । निक साईमण्डको सहयोगमा जिल्लामा छुट्टै डाक्टरसहित शल्यक्रिया सेवा संञ्चालित छ । उक्त सेवाका लागि विरामी वेहोस बनाउने उपकरण ल्याइएको हो ।

१५ शैय्याबाट स्तरोन्नति गरी ५० शैय्या क्षमतामा पुर्‍याउने प्रयासमा रहेको जिल्ला अस्पताललाई निरन्तर संञ्चालन गर्न अस्थायी भवन निर्माण गर्न तत्काल बजेट पठाउने उनले आश्वासन दिए । अस्पतालको ओपिडी, औषधी कक्ष, दन्त विभाग, इर्मजेन्सी कक्ष, अपरेसन कक्ष र विरामी वार्डलगायत सबै फाँटमा उनले निरीक्षण गरेका थिए ।

जिल्लाबासीको सक्रियतामा जिल्लामै छुट्टै रगतको कल्चर गर्ने, सामान्य प्रकारका शल्यक्रिया गर्ने, अत्याधुनिक डिजिटल प्रविधीयुक्त मेशिनबाट एक्सरे गर्ने, दन्त सेवा र आईसियू संञ्चालन गरिएकोमा मन्त्री थापाले खुशी ब्यक्त गरे । स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालको सेवा र सुविधामा गुणात्मक परिवर्तन ल्याउन आफू प्रयत्नशील रहेको र सरकार कुनै पनि रोगको उपचार देशभित्रै गर्न सक्षम बन्ने र पैसा नभएका कारणले नेपालीले उपचारबाट बन्चित हुनु नपर्ने वातावरण मिलाउन मन्त्रालय लागेको पनि भनाइ उनले राखे ।

श्रोत्: कान्तिपुर दैनिक