New from Nepal

छोरा-भतिजालाई नेता बनाउन महामन्त्री सशांकले राखे तरुण दलमा भागबण्डाको प्रस्ताव !

काठमाडौं, २ कात्तिक ।
नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको यही कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा गर्ने भनिएको महाधिवेशन आन्तरिक विवादका कारण नहुने संभावना बढेको छ । कतिपय जिल्लामा विवाद भएकाले अधिवेशन हुन नसकेको र भएका जिल्लामा पनि समानान्तर कमिटी बनेका कारण तरुण दलको महाधिवेशन अनिश्चित बन्दै गएको छ ।
आन्तरिक विवाद बढ्दै गएपछि पछिल्ला दिनमा महाधिवेशन नै नगरी तरुण दलमा भागबण्डा गर्ने प्रस्ताव पार्टीका महामन्त्री सशांक कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष राखेको कुराले कांग्रेस बृत्तमा खैलाबैला नै मच्चिएको छ । महामन्त्री कोइरालाले देउवालाई अध्यक्ष संस्थापन पक्षबाट र महामन्त्री आफ्नो पक्षबाट चयन गरी महाधिवेशन नै नगरी मनोनयन गर्न प्रस्ताव राखेको कुराले पार्टीको कृष्णप्रसाद सिटौला समूह सशंकित भएको छ । सशांक तरुण दलमा भतिजा सिद्धार्थ कोइराला (प्रकाश कोइरालापुत्र)लाई महामन्त्री बनाउने दाउमा रहेको बताइन्छ । यही रणनीति अन्तर्गत महामन्त्री कोइरालाले सभापति देउवालाई प्रस्ताव राखेको चर्चा कांग्रेसभित्र हुन थालेको छ । संस्थापन पक्षका अर्का नेता प्रकाशमान सिंहका पुत्र प्रभासमान सिंहलाई पनि केन्द्रीय समितिमा पद दिनेगरी भागबण्डा गर्न लागिएको छ । यसले सभापति देउवासँग हातेमालो गर्दै राजनीति फाइदा लिएको सिटौला समूहलाई सबैभन्दा बढी घाटा हुने भएको छ ।
नेविसंघ र महिला संघमा संस्थापन पक्षले जितिसकेको छ भने तरुण दलमा पहिलेदेखि नै देउवा पक्ष बलियो भएकाले जित्न नसक्ने देखेपछि महामन्त्री कोइरालाले भागबण्डाको प्रस्ताव राखेको दलका एक नेताले दृष्टिलाई बताएका छन् । ती नेताले भने, बरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला विवाद सल्ट्याउने भन्दा पनि बढाएर तरुण दलको महाधिवेशन हुन नदिने भागबण्डा गर्ने रणनीतिमा छन् । तर उनीहरुको यो रणनीति सफल हुँदैन । तरुण दलको महाधिवेशन भएरै छाड्छ ।
यसैबीच, तरुण दलको तरुण दलको महाधिवेशन गर्न पार्टीले गठन गरेको निर्देशक समितिका संयोजक बालकृष्ण खँँडकै जिल्ला रुपन्देहीमा विवाद मिल्न सकेको छैन । रुपन्देही तरुण दलमा संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर छुट्टाछुट्टै कमिटी छन् । ११ जिल्लाको विवाद टुंगो लगाउन नसकेका कारण अधिवेशन हुनसकेको छैन । ४ जिल्लामा अधिवेशन उद्घाटन भएर बन्दसत्र हुन नसकी रोकिएको छ । वर्तमान तरुण दलको केन्द्रीय कमिटीमा भएकाहरु पनि महाधिवेशन गर्न तातेका छैनन् । कमिटीमा रहेकाहरु उम्मेदवार बन्न नपाउने निर्णय पार्टीेको छ । तर कमिटीमा रहेकाहरु पाउनुपर्ने लबिङमा छन् । कांग्रेस केन्द्रीय समितिको कात्तिक ४ गते बस्ने बैठकले वर्तमान केन्द्रीय कमिटीमा भएकाहरु पनि उम्मेदवार बन्न पाउने निर्णय गर्ने कुरामा आशावादी छन् । पार्टीले उम्मेदवार बन्न पाउने निर्णय गरेपछि मात्र महाधिवेशन होस् भन्ने पक्ष्ँमा उनीहरु छन् । नेविसंघ र तरुण दलमा कमिटीमा रहेकाहरु उम्मेदवार बन्न पाएनन् । तरुण दलमा पनि कमिटीमा रहेकाहरु उम्मेदवार बन्न पाउने निर्णय गर्नु नहुने अडानमा कमिटीमा नरहेकाहरु लागेका छन् ।
महामन्त्री संशाक कोइरालाले भनेबमोजिम भागबण्डा भएमा संस्थापन पक्षबाट तरुण दलको अध्यक्षमा कमिटीभित्रबाट बनेको खण्डमा बालकृष्ण खाँडनिकट जन्मजय तिमिल्सिना हुनेछन् । त्यसो त विमलेन्द्र निधिले नागेश्वर यादवलाई अध्यक्षका रुपमा अगाडि सारेका छन् । कमिटीभित्रबाट हुन नसकेमा पदम पालुङवा, कर्णबहादुर मल्ल मध्येबाट एक हुनेछन् । कर्ण मल्ल खुमबहादुर खड्काका उम्मेदवारका रुपमा चिनिन्छन् ।
भागबण्डा नभई महाधिवेश भएमा खाँडले पदम पालुङ्वालाई अगाडि सार्नेछन् । खुमबहादुर पक्षले कर्ण मल्ललाई अगाडि सार्ने प्रबल संभावना छ । पौडेल पक्षबाट भूपेन्द्रजंग शाही अध्यक्षका उम्मेदवार हुने तय भइसकेको बताइन्छ । सिटौला पक्षले कमिटीभित्रबाट उम्मेदवार बनाउने बाटो खुल्ला गरे नारायण भट्टराईलाई अगाडि सार्नेछ । सिटौला पक्ष तरुण दलमा पनि महामन्त्रीको च्याँखे थाप्ने खेलमा छ ।

श्रोत्: दृष्टि साप्तहिक