सिन्डिकेट चलाउँदै आएको पश्चिम नेपाल बस व्यवसायी संघले पुराना गाडी विस्थापित गर्न थालेको छ । सिन्डिकेट जालो ठूलो भएको संघले असोज दोस्रो साता एकैदिन ७३ वटा पुराना बस विस्थापित गरेको जनाएको छ ।
संघले पश्चिम क्षेत्रका पहाडी र तराईका जिल्लामा पुराना बसबाट सेवा दिँदै आएको थियो । विस्थापित मिनी बस बेलहिया हुँदै भैरहवा–बुटवल खण्डमा सञ्चालित थिए । रुपन्देहीका ग्रामीण क्षेत्रमा गुडथे । समितिले एक वर्षभित्र ३ सय बस फेरिएको जनाएको छ । सरकारी नीतिमा २० वर्ष पुराना सवारी परिवर्तन गर्ने भए पनि संघले १६ वर्षमै विस्थापित गर्न थालेको हो । संघका अध्यक्ष दधिराम खरेलले पुराना र थोत्रा बसका कारण दुर्घटना र सञ्चालन लागत बढेकाले विस्थापित गरेको बताए ।
संघले हालसम्म १ हजार ८ सय बस विस्थापित गरेको जनाएको छ । सट्टामा सुविधाजनक डिलक्स, नन डिलक्स, एसी बस भित्र्याएको छ । पर्यटक र यात्रुलाई लक्षित गरेर सुविधायुक्त साना बससमेत थपिएका छन् । ‘पहाडी र कच्ची बाटोमा गुडाउनुपर्ने भएकाले बस छिट्टै पुराना हुन्छन्,’ अध्यक्ष खरेलले भने, ‘यसैले १६ वर्ष पुराना सबै बस विस्थापित गरेर नयाँ ल्याएका हौं ।’ पुराना बस विस्थापित गर्दा संघले व्यवसायीलाई ६ लाख रुपैयाँ राहत दिने गरेको छ । पुराना सवारीमा सञ्चालन लागत बढी, यात्रा असुरक्षित भएकाले व्यवसायीलाई राहतसहित विस्थापित अभियान थालेको अध्यक्ष खरेलले बताए । यसले पहाडी क्षेत्रमा हुने दुर्घटना ८० प्रतिशतले घटेको उनले दाबी गरे ।
०५७ सालदेखि पुराना बसलाई विस्थापित गर्ने अभियान थालेको संघले यस वर्ष विस्थापित नीतिलाई कडाइ गरेको छ । यसको कार्यान्वयनका लागि पटकपटक गाडीधनीसँग छलफल, सुझाव र प्रतिबद्धता संकलन गरेको छ । अटेरी गर्नेे कतिपयको नवीकरण र सञ्चालन अनुमति रोकेको छ । महासचिव जीवनकुमार बञ्जाडेले बसलाई यात्रुमैत्री बनाउन, दुर्घटना रोक्न र प्रतिस्पर्धामा उत्रन पुरानालाई कडाइ गरेको बताए । बस विस्थापित गर्न गाडी मालिकलाई तयार गर्न राहत कोषको अवधारणा ल्याएको हो । यसअन्तर्गत संघले एकैपटक ६ लाख रुपैयाँ दिने गरेको छ । गाडी विस्थापितमा राहत कोषमार्फत संघको अहिलेसम्म करिब ९७ करोड रुपैयाँ खर्च भएको महासचिव बञ्जाडेले बताए ।
संघमा आवद्ध सानाठूला गरी २ हजार २ सय ४४ बस छन् । संघका सदस्यमध्ये ६० प्रतिशत व्यवसायी आफंै सहयोगी या चालक बन्दाबन्दै बस किन्ने व्यक्ति छन् । कतिपय हाल पनि आफैंले बस चलाउने वा सहयोगीको भूमिका निभाउने गर्छन् । बसको अवस्था जान्ने र आफू पनि स्वरोजगार हुने भएकाले उनीहरूलाई बस परिवर्तन गराउन सजिलो छ । उनीहरू पुराना बस विस्थापित गरे पनि नयाँ बस लिएर पुन: स्थापित हुने गरेका छन् । बाँकी ४० प्रतिशत सहायक व्यवसायका रूपमा बस किन्नेलाई पुराना बस विस्थापित गरेपछि नयाँ किनेर स्थापित गर्न समस्या रहेको अध्यक्ष खरेलले बताए । नेपाली बजारमा नयाँ बस किन्दा झन्डै ४० लाख रुपैयाँ पर्छ ।
पुरानो बस बेच्दा जम्मा साढे ३ लाखदेखि ४ लाख रुपैयाँ पाइन्छ । बस व्यवसायी सागर पाण्डेले यो सार्वजनिक हितको व्यवसाय भएकाले पुराना बस विस्थापित गर्दा राज्यले पनि राहत दिनुपर्ने बताए ।
प्रकाशित: कार्तिक ३, २०७३