उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गैरकानुनी आदेश अस्वीकार गर्दा तीन प्रहरी उपरीक्षक (एस्पी) कारबाहीमा परेका छन् । गैरकानुनी काम गर्ने अभियुक्तलाई छाड्न नमानेका कारण निधिको ठाडो आदेशमा तीन जिल्लाका नेतृत्व गरिरहेका एसपीलाई कारबाहीस्वरूप सरुवा गरिएको हो ।
आफूअनुकूल काम प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नभएको मौकामा सोमबार प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको छ । प्रहरी महानिरीक्षक अर्याल अमेरिकामा रहेको बेला मन्त्रीको आदेश अस्वीकार गर्न नसकी कार्यवाहक प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले नै उनीहरूलाई सरुवा गरेका हुन् । प्रहरी प्रधान कार्यालयको नियामित सरुवा बाँकी हँुदै मन्त्री निधिले गम्भीर अपराधमा संलग्न रहेका आफ्ना कार्यकर्ता छोड्न अटेर गरेको र अवैध हुन्डी कारोबारीलाई पनि छाड्न नमानेका कारण तीन एसपीलाई कारबाहीस्वरूप प्रधान कार्यालय तानेका हुन् । मधेस आन्दोलनका क्रममा पर्सा पुगेका राजुबाबु श्रेष्ठ, धनुषा पठाइएका रामदत्त जोशी र सिरहा पठाइएका श्याम ज्ञवालीलाई मन्त्री निधिको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले नियमित सरुवाभन्दा पहिला नै प्रधान कार्यालय झिकाएको छ ।
एसपी श्रेष्ठले १६ असोजको राति वीरगन्ज उपमहानगरपालिका–७ रेशमकोठीस्थित सन्तोष जैनको घरबाट ठूलो परिमाणको अवैध रकमसहित हुन्डी कारोबारमा संलग्न रहेका व्यापारी जैन, उनका छोरा अंकुर जैन, श्रीमती उषा जैनसहित पाँचजनालाई पक्राउ गरेका थिए । अभियुक्त प्रहरी हिरासतमै रहेको अवस्थामा गृहमन्त्री निधिले उनीहरूलाई छोड्न आदेश दिएका थिए । एसपी श्रेष्ठले गम्भीर अपराधमा संलग्न रहेकाले छाड्न नसकिने अडान लिएपछि मन्त्री निधिले उनीमाथि कारबाही गरेका हुन् । वीरगन्जका व्यवसायी तथा पूर्वसभासद् ओमप्रकाश शर्माको पहलमा गृहमन्त्री निधिले हुन्डी कारोबारीमाथि मुद्दा नचलाउन आदेश दिएका थिए । तर, एसपी श्रेष्ठले जागिर गए पनि अपराधीलाई नछाड्ने र मुद्दा चलाउने बताएपछि तत्कालै सरुवा गर्न गृहमन्त्री निधिले प्रहरी महानिरीक्षकलाई आदेश दिएका हुन् ।
प्रहरी महानिरीक्षक अमेरिका रहेका बेला कार्यवाहक महानिरीक्षक शर्माले मन्त्री निधिको दबाब थेग्न नसकेर एसपी श्रेष्ठलाई आइतबार प्रधान कार्यालयमा हाजिर हुन लिखित रूपमै पत्रचार गरेपछि श्रेष्ठ र ज्ञवाली काठमाडौं आइपुगेका छन् । ‘तपाईंहरूलाई शान्ति सुरक्षासम्बन्धी विषयमा केही जानकारी लिनुपर्ने भएकाले पत्र पाएकै दिन प्रधान कार्यालयमा ब्रिफिङका लागि हाजिर हुनू,’ पर्सा प्रहरी प्रमुख श्रेष्ठ र सिरहा प्रहरी प्रमुख ज्ञवालीलाई पठाएको पत्रमा भनिएको छ । नेपाल प्रहरीमा निमित्त प्रहरी महानिरीक्षकले जिल्ला प्रहरी प्रमुखको सरुवा गर्ने प्रचलन छैन । तर, शर्माले गृहमन्त्रीले धम्की नै दिएपछि प्रधान कार्यालय बोलाएका हुन् । ‘प्रहरी प्रधान कार्यालयले उहाँहरूलाई शान्ति सुरक्षाको अवस्थाबारे बुझन बोलाएको हो, अन्य विषय जोडिँदैन,’ प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लले राजधानीसँग भने ।
स्रोतका अनुसार आफूअनुकूल काम नगरेको र अवैध कारोबारीलाई साथ नदिएको आक्रोशमा व्यवसायीको दबाबमा पर्सा एसपी श्रेष्ठ र माओवादी केन्द्रका नेता–कार्यकर्ताको अवैध काममा साथ नदिएको आरोपमा ज्ञवालीलाई कारबाहीस्वरूप प्रधान कार्यालय तानिएको हो । सिरहा प्रमुख ज्ञवालीलाई सीमा क्षेत्रमा भएका अवैध गतिविधिलाई प्रश्रय दिएको आरोप लगाइएको भए पनि माओवादी नेता एवं पूर्वमन्त्री विश्वनाथ साहको अपराधमाथि छानबिन गरेका कारण कारबाही गरिएको छ । साहले इन्जिनियर देवानन्द मण्डलको अपहरण गरेको र उनलाई पक्राउ गर्न खोजेपछि ज्ञवालीको सरुवा भएको प्रधान कार्यालय स्रोतको भनाइ छ । एसपी ज्ञवालीले पूर्वसभासद् साहलाई पक्राउ गर्न खोजेपछि उनलाई प्रधान कार्यालय हाजिर गराइएको हो ।
पूर्वमन्त्री साह, माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापरसहित अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । लहानस्थित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय–४ का इन्जिनियर मण्डलले उनीहरूविरुद्ध मुद्दा दर्ता गराएका हुन् । मुद्दा दर्ता भएपछि सबै अभियुक्त फरार रहेका थिए । नेताहरूले डिभिजन कार्यालयका प्रमुख रामनरेश मण्डल र पीडित इन्जिनियर मण्डललाई मिलापत्र गर्न दबाब दिइरहेका थिए । पूर्वमन्त्री साहले गोलबजार–४ स्थित आफ्नै घरमा बोलाई योजनाअनुसार धाकधम्कीसँगै हतियार देखाएर बन्धक बनाई ५ लाखको कागज गर्न लगाएको इन्जिनियर मण्डलको आरोप थियो । सोही आरोपसहित दर्ता भएको मुद्दामा साहलगायत माओवादी कार्यकर्ता पक्राउ गर्न खोजेका कारण सरुवा गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालसहित गृहमन्त्री निधिले सो अपराधमा संलग्न कसैमाथि पनि कुनै कारबाही अघि नबढाउने ज्ञवालीलाई आदेश दिएका थिए । तर, उनले अस्वीकार गर्दै अभियुक्तलाई कानुनी दायरामा ल्याउने बताएपछि कारबाही गरिएको हो ।
अभियुक्तमाथि कारबाही प्रक्रिया अघि बढाएकै कारण आफैं कारबाहीमा परेका पर्साका एसपी श्रेष्ठले आफूलाई शान्ति सुरक्षासम्बन्धी ब्रिफिङका लागि बोलाइएकाले अरू विषय जानकारी नभएको बताए । ‘मलाई जे विषय भनिएको छ, त्यसबारे प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँछु,’ एस्पी श्रेष्ठले भने, ‘अरू विषय के–के छ ? त्यसबारे मलाई जानकारी छैन ।’ निधिका निकट मानिएका पूर्वसांसद तथा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्माको सक्रियतामा उनलाई प्रधान कार्यालय झिकाइएको हो ।
यसैगरी, कांग्रेस कार्यकर्ता पक्राउ गर्दा गृहमन्त्री निधिका गृह जिल्ला धनुषाका प्रहरी प्रमुखको पनि सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयले गृहमन्त्री निधिको दबाबमा धनुषाका एसपी रामदत्त जोशीलाई सरुवा गरेर अर्का एसपी लालमणि आचार्यलाई पठाएको छ । आफ्नै दाइलाई मरणासन्न हुने गरी कुटेको आरोपमा ११ भदौमा धनुषाको फुलागामाका रामचन्द्र राय पक्राउ परेका थिए । उनी कांग्रेस कार्यकर्ता भएकाले पक्राउ नगर्न गृहमन्त्री निधिले दबाब दिएको थिए । तर, घटना गम्भीर किसिमको भएको भन्दै इलाका प्रहरी कार्यालय फुलागामाले रायलाई पक्राउ गरेको थियो । रायलाई कारबाही नगरी छाड्न गृहमन्त्रीले एसपी जोशीलाई आदेश दिएका थिए । तर, सो आदेश नमानेपछि भोलिपल्टै उनले एसपी जोशीलाई हटाएर अर्का एसपी आचार्यलाई गृह जिल्लाको प्रहरी प्रमुख बनाएका हुन् । आचार्यको सरुवा भएलगत्तै राय छुटेका थिए ।
जग्गा विवादमा रामचन्द्रले दाइ इन्द्रकान्तलाई कुटपिट गरेका हुन । प्रहरीमा उजुरी दिएपछि प्रहरीले रामचन्द्रलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्ने इलाका प्रहरी कार्यालय फुलगामाका इन्चार्ज सई धर्मेन्द्र ठाकुरलाई समेत एसपी आचार्यले त्यहाँबाट इप्रका ढल्केवरमा सरुवा गरिदिएका छन् । गृहमन्त्री निधिको निर्वाचन क्षेत्रका भएकाले उनलाई विनाकारबाही छाड्न दबाब दिएका थिए । प्रहरीमा सामान्यतया एक वर्षको कार्यकाल नपुगी जिल्ला इन्चार्जको सरुवा हुँदैन । एसपी जोशी गत वर्षको १५ असोजमा त्यहाँ गएका थिए । ११ महिनामै उनलाई धनुषाबाट हटाइएको छ । गत १३ भदौमा काज सरुवा गरिएका जोशीलाई प्रहरी प्रधान कार्यालय हाजिर गराइएको छ, तर कुनै जिम्मेवारी दिइएको छैन ।
जनकपुर बमकाण्डमा तत्कालीन सभासद् सञ्जय साहको संलग्नता खुलाई एसपी जोशीले नै घटनामा संलग्न अन्य अभियुक्तहरूलाई पक्राउ गरेका थिए । जिल्लाको शान्ति सुरक्षा स्थापनामा राम्रो काम गरेको भन्दै उनको प्रशंसा भएको थियो । धनुषामा सरुवा हुनुअघि उनी प्रहरी महानिरीक्षक अर्यालकै सचिवालयमा कार्यरत थिए । स्रोतका अनुसार त्यतिबेला पनि गृहमन्त्री निधिले आफूले भनेअनुसार काम नगर्ने अन्य केही प्रहरी अधिकारीहरूको समेत सरुवा गर्न आईजीपी अर्याललाई आदेश दिएका थिए । एसपीसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षकलाई छ ।
श्रोत्: राजधानि दैनिक्