New from Nepal

चोरी गर्न भारतदेखि नेपाल सम्म्

भारतबाट समूह बनाई आएर काठमाडौंका विभिन्न स्थानमा चोरी गर्दै आएको अभियोगमा प्रहरीले सात भारतीय नागरिकलाई पक्राउ गरेको छ । चोरीमा संलग्न रहेको अभियोगमा एक नेपाली पनि पक्राउ परेका छन् ।
पक्राउ परेका भारतीय नागरिक मोतीहारी जिल्लाको समस्तिपुरका बासिन्दा हुन् । उनीहरूले केही दिनदेखि समूह बनाएर राजधानीका विभिन्न स्थानमा चोरी गर्दै आएको प्रहरीको दाबी छ । पक्राउ पर्नेमा मोतीहारीका दिनेश पोदार, राकेश कुमार, टुलिया पोदार, बिक्की पोदार, धनेन्द्र कुमार, विकास कुमार र नीरज कुमार छन् । उनीहरूमध्ये धनेन्द्र, विकास र नीरज बालक हुन् ।
चोरीमा बालबालिकाको प्रयोग
उनीहरूलाई अभिभावकले नै चोरीमा प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । ‘बच्चाहरूलाई समेत प्रयोग गरी काठमाडौंका विभिन्न स्थानमा चोरी गरेको पाइएको छ,’ महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी नवराज अधिकारीले भने, ‘अभिभावकले नै बच्चालाई चोरीमा लगाउने गरेको पाइयो । उनीहरूको मुख्य पेसा नै चोरी भएको खुलेको छ ।’
भारतको समस्तिपुरबाट चोरी गर्नकै लागि उनीहरू काठमाडौं आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । कतै ठेलागाडामा सामान बिक्री गर्ने बहानामा त कहिले सडकमा प्लास्टिक बटुल्ने बहानामा विभिन्न घरमा प्रवेश गरी उनीहरूले चोरी गर्दै आएको प्रहरीले जनाएको छ ।
चोरी गर्दै भारत भाग्दै
मोतीहारीको घोडासन र समस्तिपुरका बासिन्दा चोरी आरोपमा पटक–पटक नेपालमा पक्राउ पर्दै आएका छन् । चोरी गर्नकै लागि उनीहरू समूह बनाएर नेपाल आउने र चोरी गरी भाग्ने गरेको प्रहरी अधिकारी बताउँछन् ।
पक्राउ परेकामध्ये टुलिया र बिक्की कारागार चलान भइसकेका छन् । उनीहरूको साथबाट लागुऔषधसमेत बरामद भएको छ । अन्य ६ जनालाई मंगलबार बिहान स्युचाटारबाट पक्राउ गरिएको डिएसपी अधिकारीले बताए । उनीहरूले स्युचाटारस्थित मनिर सयफीको डेराबाट विभिन्न धनमाल चोरी गरेका थिए । चोरीको सामान किन्ने सुनसरी घर भएका पारस पोदार पनि पक्राउ परेका छन् । चोरीका सामानहरू उनकै कवाडी पसलबाट प्रहरीले बरामद गरेको छ ।
आठ लाख चोर्ने दुईजना पक्राउ
एक कम्पनीबाट आठ लाख रुपैयाँ चोरी गर्ने दुईजना पक्राउ परेका छन् । टोखाको पन्चेटारस्थित सुमार्ग ट्रेडिङ कम्पनीबाट आठ लाख रुपैयाँ चोरी गर्ने नुवाकोटका चन्द्रबहादुर तामाङ र सुजन तामाङ भनिने सुशान्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
गत १३ असोजमा कार्यालयको ताला फुटाई नगद चोरी भएको थियो । चोरीमा संलग्न चन्द्रबहादुर १५ असोजमै पक्राउ परेका थिए । अर्का अभियुक्त सुशान्त भने सोमबार मात्र पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए । चोरी गरेको रकममध्ये चार लाख रुपैयाँ र चोरीमा प्रयोग गरिएको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।