काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खटिएको अनुगमन टोलीले टङ्गालको भाटभाटेनी सुपरमार्केट नजिकै रहेको अनमोल स्विट्सलाई सिलबन्दी गरेको छ । फोहोर तथा अखाद्य वस्तु उत्पादन गरि उपभोक्तालाई विक्री गर्ने गरेको पाइएकाले अनमोल स्वीट्सलाई सिलबन्दी गरेको हो ।
खाना नहुने लालमोहन, रसवरी पानी पुरीलगायत वस्तु नष्ट गरि सिलबन्दी गरिएको विभागले जनाएको छ । विभागको नेतृत्वमा गएको अनुगमन टोलीमा प्रहरी, उपभोक्ताकर्मी सहभागी रहेका थिए । “पुरै मिठाईमा मौरी भन्केको थियो” अनुगमन खटिएका उपभोक्ता कर्मी तथा राष्ट्रिय उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, “यो मापदण्डविपरित भएकाले मिठाई पसललाई सिलबन्दी गरिएको हो ।”
खानै नहुने १२ किलोग्रामको रसवरी, १४ किलोग्रामको लालमोहन र पानपुरी नष्ट गरेको विभागले जनाएको छ । पछिल्लो समयमा खाद्य विभागले आफ्नो अधिकार क्षेत्रभित्र रहेकाले खाद्य वस्तुको गुणस्तरसम्बन्धी अनुगमन गर्न थालेको छ । चौतर्फी ढंगबाट अनुगमन गरेपनि बजार जस्तात्यस्तै रहेको उपभोक्ताकर्मीको दावी छ ।