New from Nepal

पत्रकारितासँगै निर्देशनमा पनि ल्हाक्पा शेर्पा…

हिमाली आदिबासीका हक अधिकार र मुद्दाहरुसँग निकट रहेर करिब एक दशक देखि पत्रकारिता गर्दै आएका ल्हाक्पा शेर्पाको रुची केही समयता निर्देशनमा पनि मोडिएको छ । पत्रकारिता बाहेकको समय वृत्तचित्र र विज्ञापन निर्देशनमा खर्चिदै आएका शेर्पाले म्यूजिक भिडियो निर्देशनमा समेत हात हालेका छन् । गायक आङगेलु शेर्पाको स्वर रहेको गीतको भिडियोमा निर्देशन गर्दै शेर्पाले आफ्नो निर्देशन यात्रालाई म्यूजिक भिडियोमा समेत विस्तार गरेका हुन् । म्यूजिक भिडियो निर्देशनको पहिलो अनुभवलाई अलि अलि चूनौतिपूर्ण र रमाइलो महशुष गरेको बताउँदै शेर्पाले थपे ‘विदेशमा बस्ने युवक र नेपालमै रहेकी युवती बीचको प्रेम सम्बन्ध र सोलुको सुन्दरतालाई भिडियोमा देखाउने प्रयास गरेको छु ।’

14793662_1487626547930666_1816313845_n

काठमाडौँमा छायांकन सकाएका शेर्पा केही दिनभित्रै बाँकी छायांकनका लागि सोलखुम्बुको कोङ्दे रिसोर्ट जाँदैछन् । ४२५० मीटर उचाइँमा रहेको कोङ्दे रिसोर्टमा छायांकनका लागि निर्देशक शेर्पा सहितको टोली हेलिकोप्टर चार्टर गरेर त्यसतर्फ जाँदैछ । सगरमाथा, ल्होत्से, नुप्से, आमादब्लम, पुमोरी लगायतका उच्च हिमालका मनोरम दृश्य समेट्नका लागि उक्त लोकेसन छनौट गरेको निर्देशक शेर्पाले जानकारी दिए । राजनराज शिवाकोटीको संगीत र रोज मोक्तानको शव्द रहेको ‘घर मेरो सोलु’ बोलको गीतको भिडियोमा गायक आङगेलु आफैले अभिनय गरेका छन् । आङगेलुसँगै गोर्खापल्टनकी अभिनेत्री रञ्जिता गुरुङको अभिनय पनि भिडियोमा देख्न सकिनेछ । नविक के. श्रेष्ठको छायांकन रहेको भिडियो चाँडै नै सार्वजनिक गरिने निर्देशक शेर्पाले बताए ।