कार्तिक ४, २०७३- म्याद तामेलीमा अवरोध पुर्याएको घटनामा तानिएका प्रहरी नायब निरीक्षक नकुलराज गौतममाथि छानबिन सुरु भएको छ । महानगरीय प्रहरी कार्यालयको निर्देशनमा महानगरीय प्रहरी परिसर काठमाडौंले सइ गौतममाथि छानबिन सुरु गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई एक समूहले अवरोध पुर्याएको थियो । सर्वोच्चको अनुसन्धानमा अवरोध पुर्याउने समूहमा सादा पोसाकमा रहेका गौतमसमेत संलग्न देखिएका थिए ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापाले सइ गौतमबारे छानबिन गर्न परिसरलाई लिखित निर्देशन पठाइसकिएको जानकारी दिए । ‘संगठनको मर्यादाविपरीत काम गर्ने जो कोहीमाथि कारबाही हुन्छ,’ एआईजी थापाले भने ‘उनीमाथि लागेको आरोपबारे छानबिन हुन्छ, दोषी देखिए हदैसम्मको कारबाही हुन्छ ।’
महानगरीय प्रहरी वृत्त बानेश्वरमा कार्यरत सइ गौतमले म्याद तामेलीका लागि गएका तामेलदारलाई अवरोध पुर्याएको दृश्य नै फेला परेपछि सर्वोच्चले समेत उनीमाथि अदालतको मानहानिमा कारबाही गर्ने प्रक्रिया सुरु गरेको स्रोतले जानकारी दियो ।
कृषि विकास बैंकका अध्यक्ष एवं पूर्व कानुन सचिव प्रमोद कार्की, लोकमानका कान्छा ज्वाइँ तथा कांग्रेस काठमाडौं जिल्ला समितिका सदस्य प्रबल थापा लगायतमाथि समेत अदालतको काम कारबाहीमा अवरोध पुर्याएको भन्दै सर्वोच्चले कारबाहीको तयारी गरेको छ ।
श्रोत: कान्तिपुर दैनिक